सोमबार, भदौ ३०, २०७६

बा’को झस्काइरहने त्यो तस्वीर

आज कुशे औंसी। बुबाको मुख हेर्ने दिन। सबैले आफ्नो बुवाको मुख हेरे। जसका बुवा छैनन्, उनीहरूले तस्वीर भएपनि हेरे होलान्। तर, मलाई भने बाको त्यो तस्वीरले झस्काइराख्छ।

आमाबुबालाई भगवान मानिन्छ। साच्चै भगवान हुन् पनि। र त आज कुशे औँसीको दिन बुबाको मुख हेरिन्छ। बुबाको पूजा गरिन्छ। बुबा हुनेहरुले बुबालाई भेटेर, नहुनेले फोटाेमै भएपनि सम्झन्छन्।

आज मैले पनि मेरा बुबा मुक्तिनाथ अधिकारीलाई सम्झिएँ। बिहान उहाँको फोटो फेसबुकमा राखेँ। फेसबुकमा फोटो राख्दा पनि अर्कै फोटोले झस्कायो।

२०५८ माघ ३ गते हो। माओवादीले मेरो बुबाको बिभत्स तरिकाले हत्या गरे। त्यो बेला म २२ वर्षको थिए। काठमाडौंमै थिए। पढ्थे र पढाउँथे पनि।

त्यो भन्दा दुई दिनअघि माघ १ गते घर गएको थिए, लमजुङ, दुराडाँडा। माघ ४ गते काठमाडौं फर्किने योजना थियो।

त्यो दिन घरमा खरको छानोमाथि फेरि खर थपेका थियौं। घर छाउन बाँसको बाताहरु काट्यौँ। अगाडि म, पछाडि बुबाले बोक्नु भएको थियो। दिनभर दुवै मिलेर छानो हालेका थियौं।

त्यहीँ साँझ बुबालाई जिल्ला प्रशासनबाट खबर आयो। प्रधानाध्यापकको नियुक्ति आएको छ, लिन आउनू भनेर।

माघ २ गते बुबा शिक्षा कार्यालयमा गएर नियुक्ति बुझ्नु भयो। साँझ नियुक्ति लिएर घर फर्किनु भयो। माघ ३ गते स्कुल जानु भयो। पढाइरहेको अवस्थामा माओवादी आएर लगे। जिउँदै रुखमा झुण्डाएर गोली हाने।

त्यो दृश्य अझै पनि आँखामा झल्झली आउँछ। जति गर्दा पनि बिर्सन सक्दिनँ। एउटा शिक्षकलाई रुखमा घाँटी बाँधेको, हात पछाडि बाँधिएको, चस्मा भूईमा, टाउकोमा गोली, छातीमा रगत। बाको त्यो अवस्था सन्तानले देख्दा कस्तो होला? हो, मैले आफ्नै आँखा अगाडि बुबाको त्यस्तो मृत्युलाई देखेको छु। त्यसले पोल्छ नि, बेस्सरी पोल्छ।

पापीहरूले बासँग बस्न दिएनन्। राजनीतिका नाममा बाको ज्यान लिए। आजभोलि पनि कहिलेकाहीँ सपनामा देख्छु। सपनाले पनि झस्काउँछ। कहिलेकाहीँ त्यही घटना फेरि भएकाे सपना देख्छु। कहिले बा परिवारसँगै बसेको सपना देख्छु।

सपना देखेको अर्को बिहान जब ब्यूँझिन्छु, फेरि झल्यास्स हुन्छु। त्यहीँ दृश्यले तर्साउँछ।

सन्तानका लागि आमाबुबाको महत्व वर्णन गर्न सकिँदैन। एउटा सन्तानका लागि आमाबुबा सबैथोक हुन्। आमाबुबाबिनाको संसार मुस्किल हुन्छ, निकम्मा हुन्छ।

सन्तानको जीवनमा बुबाआमाको भूमिका अतुलनीय हुन्छ। मेरा बाले पनि सतमार्गमा लाग्न प्रेरित गर्नुभयो।

उहाँलाई गुमाए पनि उहाँले देखाउनु भएको बाटो बिर्सिएको छैन। अरुलाई दुःख नदिनु, सत्कर्म गर्नु भन्ने नै बुबाको मार्गदर्शन थियो। म पनि त्यसैलाई अंगालेर हिड्ने प्रयास गरिरहेको छु।

हुन त द्वन्द्वमा मजस्तै थुप्रैले आमाबुबा गुमाउनु भयो। टुहुरो हुनुभयो। उहाँहरुलाई पनि यो पीडा छ। यो अभाव महसुस हुँदो हो। म त बुबा गुमाउँदा २२ वर्षको थिए। तर, कतिपय कोखमै टुहुरा भएका पनि छन् । त्यस्ता बालबालिकाको शिक्षादीक्षामा निकै समस्या छ। उनीहरूलाई राज्यले व्यवस्था गरोस्।

म जस्तै थुप्रैलाई राज्य र विद्रोहीले टुहुरा बनाएको हाे। अब जति गर्दा पनि फिर्ता त पाइन्न, जो हामीले पीडा भोग्यौं, त्यसको त के भन्नु। अब सबैले न्याय पाउनु पर्छ।

आज बुबाकाे मुख हेर्ने दिनमा फेसबुकमा बाको फोटो राख्दा पनि त्यहीँ पुरानाे दृश्य झल्झली आइरहेको थियो। घरभन्दा करिब २० मिटर टाढा उकालोमा पर्छ। त्यहीँ नजिकै पानी ट्यांकी थियो। त्यसै आडमा उत्तिसको रुख थियो। त्यो रुख अहिले त छैन, काटियो।

त्यो घटनाको दिनपछि म त्यो रुख भएको ठाउँमा कहिल्यै गइनँ। कोही सोध्न आए भने पनि टाढैबाट देखाउँथें। त्यो ठाउँमा जान अहिले पनि आँट आउँदैन। त्यहीँ दृश्यले झस्काइरहन्छ।

आजको दिनमा एउटै कामना छ, हामी त टुहुरा भयौ, अब अरू टुहुरो हुनु नपरोस्।

हेप्पी फादर्स डे !

 

 Published Date: Saturday, 31st August 15:50:26 PM