मंगलबार, असार ३, २०७६

म हुर्केको समाजमा महिनावारी

अङ्ग्रेजी महिनाको मे २८ अर्थात् महिनावारी स्वच्छता व्यवस्थापन दिवस। म मेरो पहिलो रजस्वला सम्झिँदै छु। पहिलो रजस्वलाअघि नै मलाई आमाले यसबारे सबै सम्झाउनुभएको थियो। यतिसम्म कि प्याड लगाउन पनि मैले रजस्वला हुनुअघि नै सिकेकी थिएँ। बाबाआमा दुवै सक्रिय राजनीति गर्नुहुन्थ्यो। त्यसैले आमा चार दिनका लागि घरबाहिर जाँदा पनि भनेर जानुहुन्थ्यो– तिमी रजस्वला भयौ भने यसो–यसो गर। 

मलाई राम्ररी याद छ– पहिलोपल्ट मासिकस्राव हुँदै विद्यालय पनि गएँ। म बच्चैदेखि यति धेरै जानकार त थिएँ तर समाज हाम्रो घरजस्तो थिएन। 

घरमा समस्या थिएन तर मामाघर जाँदा चाहिँ समस्या हुन्थ्यो। रजस्वला भयो भने बार्नुपर्ने बाध्यता हुन्थ्यो। नभनी लुकाउँदा प्याड विसर्जन गर्न डस्टबिनसम्म भेटिँदैनथ्यो। 

अझ म हुर्केको समाजले त रजस्वलाई ‘नछुने भएको’ मान्थ्यो। यसलाई समाजले सहजै स्वीकार नगर्दा मनमा असहज मात्र महसुस हुँदैनथ्यो, कता–कता डर नै महसुस भइराख्थ्यो।

कदाचित् आफूले लगाएको प्यान्टमा अलिकति रगत लाग्यो भने त्यो ठूलो लाजको विषय हुन्थ्यो। 

मेरै विगतको आँखीझ्यालबाट अहिलेको नेपाली समाजलाई नियाल्दा लाग्छ– मेरोजस्तो आधुनिक परिवारमा त केही न केही अप्ठ्याराहरू भए। अझ गाउँघरका महिलाले हरेक महिना भोग्नुपरेको व्यवहारले उनीहरुले मनस्थितिमा कति नकारात्मक असर पर्ला? यो सहजै अनुमान गर्न सकिन्छ। 

‘महिनावारी स्वच्छता दिवस’ नेपाल पनि मनाइँदै आएको छ। आम महिला यो दिवसबारे जानकार छैनन्। अवस्था यतिसम्म कमजोर छ– महिनावारीबारे खुलेर बोल्नसमेत सक्दैनन्।याे अवस्था सामान्य होइन । 

अझै पनि नछुने !

महिनावारी स्वच्छता महिलाको मानसिक र शारीरिक स्वास्थ्यसँग सम्बन्धित छ। हाम्रो समाजमा अझै पनि महिनावारी हुँदा चार दिन बार्नुपर्छ भन्ने छ। ब्रतबन्ध गरेका कोही पनि पुरुषलाई छुनु हुँदैन भन्ने कायमै छ। 

यतिसम्म कि आफ्नै जन्मदिने बुवालाई समेत छुनुहुँदैन। यस्तो बेलामा महिलालाई छिःछि, दुर्दुर गरिन्छ। गाउँघरमा अझै पनि खाटमा पनि सुत्न दिइँदैन। धुलो भएको भुइँमा, अँगेनाको छेउमा गुन्द्री ओच्छ्याएर सुत्न दिइन्छ।  

याे पनि : नेपाली प्याड म्यानहरू 

अझ मध्य र सुदूर पश्चिम नेपालमा त ‘छाउपडी’ भन्दै छाउगोठमा एक्लै चार दिन बिताउनुपर्छ। छाउगोठको अँध्यारोमा अक्सिजनको अभाव, सर्पको टोकाइ, अस्वस्थकर खाना एउटा समस्या छ। त्योभन्दा पनि त्यो असहज झ्यालसमेत नभएको गोठमा बलात्कारजस्ता अपराधसमेत भएको सुन्नमा आउँछ। यस्ता विभेद र हिँसाले शारीरिक र मानसिक मानसिक स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ। 

महिला रजस्वलाको अवधिमा कमजोर हुन्छिन्। ‘आइरन न्युट्रेसन’ पनि अलि धेरै चाहिँदोरहेछ। यस्तो बेलामा झनै ख्याल गर्नुपर्ने हो। तर, आजभोलि पनि शहरमै समेत छुन नहुने, छुट्टै बस्नुपर्ने, भान्सामा जान नदिने कुरा छाउपडीकै आधुनिक संस्करण हो।

महिनावारीका सन्दर्भमा पुस्तौनि चलिआएका हाम्रा कतिपय पुराना मान्यता छन्। ती मध्ये राम्रालाई पछ्याउनुपर्छ। नराम्रालाई कुरीति सम्झेर छोड्नुपर्छ। जस्तो, पहिला–पहिला महिलाले महिनावारीको अवधिमा चार दिनसम्म दैनिक नुहाउने चलन थियो। सरसफाइका दृष्टिकोणले त्यो अत्यन्तै राम्रो थियो। अहिले त्यो अनिवार्य रहेन तर आमालाई छोराले, बाबुलाई छोरीले समेत ‘छुन नहुने’ भन्ने खालका विभेदकारी खराब कुराहरू चाहिँ जोगाएर राखेका छौँ।

याे पनि : पिरियड इमोजी

गम्भीर समस्या प्याड

अर्को गम्भीर समस्या प्याडको हो । प्याडबारे अधिकांश महिला जानकार छैनन् । यत्तिमा मात्र सचेत छन्– मात्रै रगत बाहिर नदेखियोस्। यसको सुरक्षाबारे धेरै कमलाई थाहा भएको देखिन्छ।  

न डाक्टरले यसबारे भनिदिन्छन्, न महिनावारीबारे सल्लाह लिन डाक्टरलाई भेट्ने चलन नै छ। मासिकस्रावबारे पर्याप्त अभियानहरु चलाइएका छैनन्। 

महिलाले अहिले पनि शहर–बजार क्षेत्रमा आफ्नो तरिकाले प्याड प्रयोग गरिरहेका छन्। खासगरी यस्ता प्याड बढीमा छ घण्टासम्म मात्र प्रयोग गर्नुपर्ने हो। अधिकांश महिला दिनभरि एउटै प्याड प्रयोग गरिरहेका हुन्छन्। 

प्याड प्रयोग नगर्ने महिला कपडालाई पट्याएर प्याडजस्तो बनाएर प्रयोग गर्छन्। यसमा प्रयोग हुने कपडा पुरानो र मैलो हुन्छ। यस्तो कपडा धोएपछि सुकाउन पनि सकेसम्म कसैले नदेख्ने ठाउँ खोजिरहेका हुन्छन्। यसबाट कति धेरै ब्याक्टेरिया सर्छन् भन्ने कुरा उनीहरूलाई जानकारी छैन। 

समस्या नै समस्या

रजस्वलामा हाम्रो समाजमा समस्या नै समस्या छन्। समाजले महिनावारीलाई लज्जाका रुपमा लिएको छ। नारीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे खुल्न दिएको छैन। बन्देज नै गरेको छ। 

अर्को, प्याड फेर्न र त्यसको उचित व्यवस्थापनका लागि पर्याप्त शौचालय, पानी र डस्टबिनको व्यवस्था छैन। जस्तो, प्याड फेर्न शौचालय पस्यो भने प्याड फाल्ने डस्टबिन हुँदैन।

याे पनि : छाउपडी ज्यूँदै, महिलाहरू मर्दै

अधिकांश शौचालयमा पानी हुँदैन। यसले महिलाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ।  

प्याडको साटो कपडा प्रयोग गर्नेहरुको सन्दर्भमा पनि अप्ठेरो यही हो। धेरैजसो स्थानमा शौंचालय भेटिँदैन। त्यसमाथि गाउँघरतिर कतिपय ठाउँमा महिनावारी भएको बेला शौचालय जानै दिइँदैन।  

विद्यालयमा त झन् समस्या छ। विद्यालयमा महिलामैत्री शौंचालय छैनन्। यसले किशोरीहरूलाई झन् समस्या भइरहेको छ। विद्यालयमा पर्याप्त शौचालय नहुँदा र सबैले महिनावारीलाई सहज तरिकाले नलिँदा कतिपय ठाउँमा किशोरीहरुले हरेक महिना रजस्वलाका चार दिन विद्यालय छोड्नुपर्नेसम्मका बाध्यता अझै छ। 

यसो गरे सहज समाधान

महिनावारीसँग महिलाको यौन–क्षमता पनि जोडिन्छ। यसले यौनबारे पनि खुल्न र आफ्ना इच्छाहरु साटासाट गर्न सहयोग गर्छ। पहिलोपल्ट रजस्वला हुनुपूर्व नै यसबारे पर्याप्त जानकारी दिनुपर्छ।  यसका लागि परिवारमा खुलेर कुराकानी पनि हुनुपर्छ। र, महिनावारी हुनुअघि नै किशोरीहरुले खुलेर महिनावारीबारे डाक्टरसँग छलफल गर्न पाए भने पछि हिच्किचाउने वा डराउने हुँदैन। 

रजस्वलालाई बाहिरी मुलुकमा सहज रुपमा लिइन्छ। जस्तो, एउटी केटीसाथी महिनावारी भइन् भने केटासाथीले उसका लािग प्याड किनिदिने कामसमेत सजिलै गर्छ। नेपालमा यस्तो गरेको उदाहरण होला त? अरु त अरु आफ्नै पतिले पनि पत्नीका लागि सितिमित्ति प्याड किनेको हुँदैन। 

हामी धेरै मानिस जागरुक छौँ। त्यसैले समाधान एउटै मात्र उपाय हो– परिवर्तनको सुरुवात घरबाटै गर्ने। हरेक मानिसले सबैभन्दा पहिला महिनावारीलाई सहजै स्वीकार गर्नुपर्छ।

अनि आफूवरिपरिका मानिसलाई सम्झाउनुपर्छ। सन् २०१४ देखि मे २८ मा विश्वव्यापी रूपमा महिनावारी स्वच्छता व्यवस्थापन दिवस मनाइँदै आएको छ। यस वर्षको नारा ‘मर्यादित महिनावारी अब काम थालौं’ भन्ने तय गरिएको छ। यो दिवसलाई नेपालमा पनि चेतनामूलक ढंगले मनाउँदा उचित हुन्छ।

अहिले पनि कतिपय आमाहरू मञ्चमा गएर महिनावारी स्वच्छताको भाषण गर्नुहुन्छ। छाउपडीविरुद्धका कुरा गर्नुहुन्छ। जब घर जानुहुन्छ, आफैँ रजस्वला बार्नुहुन्छ। बार्न बाध्य पार्नुहुन्छ। यसको पनि कारण छ– हामी आमाहरुका कुरा काट्न सकिरहेका छैनौँ। 

हाम्रो संस्कार नै हो– ठूलाबडाको सम्मान गर्ने र उहाँहरूका हरेक कुरालाई शीरोधार्य गरी स्वीकार्ने। यसलाई अन्यथा लिएर विद्रोह गर्नु पनि समाधान हैन। बरु सबैले आमाहरुलाई सम्झाउनु–बुझाउनुपर्छ। अहिलेको आधुनिक समाजमा कुरीति चिर्न आमाहरुलाई ‘तपाईंको जमानामा तपाईंहरूले बारेको पनि ठीकै थियो होला, हामी पनि तपाईजस्तै छौँ’ भनेर सम्झाउन सक्यौँ भने उहाँहरूलाई मनाउन सकिन्छ। अनि, आमाहरूले छोरीहरुलाई पनि सिकाउनुपर्छ। विद्यालय शिक्षामै महिनावारी र यौन तथा प्रजनन् स्वास्थ्यबारे जानकारी दिनुपर्छ।  

‘मिस नेपाल २०१८’ खतिवडासँग मनिषा अवस्थीले गरेको कुराकानीमा आधारित

 Published Date: Thursday, 30th May 12:42:10 PM