बिहीबार, साउन २९, २०७७

नेकपाको अराजनीतिक राजनीति

राजनीति आदर्शकै लागि गरिने हो। आदर्शका निश्चित सिद्धान्तहरु हुन्छन्। र, ती सिद्धान्तहरु व्यवहारबाट परिस्कृत हुँदै पुष्टि भएका हुन्छन्।

यस अर्थमा भन्ने हो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  आजको आदर्श के हो? त्यस आदर्शका खातिर नेकपाले अवलम्बन गरेका सिद्धान्तहरु के–के हुन्? र, ती सिद्धान्तजन्य व्यवहारहरु कहाँ देख्न या महशुस गर्न सकिन्छ?

नेकपाको आन्तरिक कलहको चुरो यही हो र यो लामो समयसम्म रहिरहने देखिन्छ। सतहमा देखिए जस्तो फगत यो कुनै व्यक्ति विशेषको व्यवस्थापन र शक्ति संघर्षमात्र हैन। निश्चय नै मूल समस्याका सहायक समस्याहरु हुन्छन्। तर, प्रमुख कुरा आदर्श, सिद्धान्त अनि व्यवहारकै हो। समग्रमा आजको यो समस्या नेकपामा होइन। सिंगो नेपाली राजनीतिको पेचिलो समस्या नै यही हो।

यो समस्याको ठोस् समाधान नगरेसम्म नेपाली राजनीतिले अवलम्बन गरेका आदर्श केवल आदर्शमात्र रहनेछन्। कहिले पनि यथार्थ हुन सक्दैनन्। जतिबेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण प्रक्रिया घनिभूत चलिरहेको थियो, त्यतिबेला कम्युनिष्ट आदर्शलाई मान्ने मात्र हैन न्याय, समानता र समाजवादको यथार्थ कल्पना गरिरहेका तमाम नेपालीहरुमा भविष्यप्रति एउटा फरक खालको आशाको द्रूत रक्तसंचार भएको थियो। सन्देह थियो तर सम्भावनाको अगाडि सन्देहलाई हृदयमा नै लुकाइएको थियो।

२०७५ जेठ २ गते तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  भएको ४ बुँदे सहमतिले उक्त प्रक्रियालाई मूर्त रुप दिएको थियो। अब प्रश्न आउँछ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता आवश्यकताको आदर्श के थियो?

कुन राजनीतिक सिद्धान्तले त्यसको औचित्य पुष्टि गरेको थियो र एकताका दौरान कस्ता राजनीतिक व्यवहार गरिएका थिए? अझ भन्ने हो भने त्यो एकता भविष्यमा नेपाललाई एउटा आदर्श समाजवादी राज्य बनाउने कल्पनाको यथार्थ थियो वा तत्कालीन रणनीतिको कार्यान्वयन मात्र?

जबसम्म खुला हृदयले आत्मसमीक्षासहित आलोचनात्मक चेत र पद्धतिबाट यी प्रश्नको जवाफ खोजिदैन निश्चित छ, नेकपाभित्रको आन्तरिक कलहको दुरगामी समाधान सम्भव छैन। किनकि नेकपामा जारी आन्तरिक द्वन्द्व कुनै व्यक्ति विशेषको प्रवृतिमाथिको प्रश्नमात्र अवश्य हैन। नेकपाको पार्टी पद्धति, विधि, विधान र त्यस अनुरुप नभएका व्यवहारले सिर्जना गरेको आजको कठोर सत्य हो।

निश्चय पनि प्रवृतिको पात्र व्यक्ति हो तर व्यक्ति प्रधान भने हैन। मार्कसको द्वन्द्ववादी पद्धतिअनुसार कुनै पनि विषयमा आन्तरिक कारण प्रधान र बाह्य कारण सहायक मात्र हुन्छ। सतहमा नेकपा आन्तरिक कलहको जे जस्तो प्रहशन भए पनि आजको नेकपाको कलह नितान्त आन्तरिक हो।

आदर्श, सिद्धान्त, विधि र विधानको हो। अनि नेकपाका नेताको आदर्श र सिद्धान्तबाट च्यूत व्यवहारको हो। नेकपा आन्तरिक विवाद चुलिरहँदा नेतृत्वले गैरजिम्मेवार ढंगबाट बाहिर ल्याएका गलत तथ्य र निर्माण गर्ने प्रयास गरेका भ्रामक कथ्यको खासै अर्थ छैन।

यथार्थमा यो त यति ठूलो अराजनीतिक राजनीति हो, जसले पार्टी पद्धतिमा भएको विसंगति र नेतृत्वको अकर्मण्यतालाई ठाडै अस्वीकार गर्दछ। समग्रमा नेपाली राजनीतिको समाजवादी आन्दोलनकै लागि दुर्भाग्य हो। आजको नेकपाको अवस्था देख्दा लाग्छ, नेपाली समाजको यो ‘अर्गानिक’ चरित्र लामो समय अब रहनेवाला छैन। पछिल्ला केही घटनाले यो कुरा प्रामणित गरिसकेका छन्, नेपाली समाज झन् पुरातनवादी हुँदैछ। जातिवादी हुँदैछ।

नेकपा यतिबेला पार्टी एकताको जटिल संक्रमणबाट गुज्रिरहेको छ। आजको मानव सभ्यताका लागि कोरोना संक्रमण जति भयानक छ, नेकपाको पार्टी जीवनका लागि यो संक्रमण त्योभन्दा पनि भयानक छ। जहाँसम्म नेपाल र नेपालीको कुरा छ, नेकपाभित्रको आजको कलहले नेपालका राजनीतिक पार्टी देश र जनताका लागि भन्दा पनि आफू र आफ्नो समूहको स्वार्थमा तल्लीन छन् भन्ने कटु सत्यलाई पुनः स्थापित गरिदिएको छ।

नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनले आजसम्म हासिल गरेका उपलब्धिलाई संकटग्रस्त बनाइदिएको छ। साथै, अनपेक्षित रुपमा राष्ट्रपतिलाई पार्टीको आन्तरिक कलहमा बारम्बार निम्त्याएर गणतन्त्रलाई नै असुरक्षित बनाएको छ।

नेकपाको आन्तरिक कलहका कारण हेरौं। एउटा पक्ष भन्छ– पार्टी विधि र विधान अनुसार चलेन। सरकार र पार्टीबीच सम्बन्ध भएन। पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले सबै कुरा एकपक्षीय ढंगबाट गरे। त्यसैले अब वैैधानिक हिसाबमा यसलाई मिलाऔं। पार्टी कमिटीमा छलफल गरौं र कमिटीको निर्णय अनुसार पार्टीलाई चलायमान बनाऔं। 

अर्को पक्ष भन्छ– पार्टीबाट सरकारलाई सहयोग भएन। सरकारका राम्रा कामको प्रचार भएन। पार्टी एकता दुई अध्यक्षको सहमतिमा भएको हो। त्यसैले सहमतिबाटै समस्याहरु समाधान गरौं। जहाँसम्म सरकारको कुरा छ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले पाँच वर्षका लागि मत दिएका हुन्। तसर्थ यसको स्थायित्वमाथि बाधा नगरौं। 

स्थिति यस्तो बनेको छ कि मानौं यहाँ ठूलै वर्ग संघर्ष चलिरहेको छ। परम्परागतरुपमा जसरी संसारभरका कम्युनिष्ट पार्टीले आन्तरिक द्वन्द्वमा एकले अर्कोलाई राष्ट्रघाती एवं विदेशी दलाल करार गर्ने गरेका थिए, त्यस्तै भइरहेको छ। कतिसम्म भने नेताहरु छलफलमा जुटिरहेका छन्। सडकमा मुर्दावाद र जिन्दावादको नारा लागिरहेको छ। अनि, यस्तो अवस्था देखेर रनभुल्लमा परेका हामीलाई सोध्न मन लाग्छ, ‘यो कस्तो मार्क्सवादी संस्कार हो? 

एकातिर, सरकारमाथिको आलोचना र सरकार परिवर्तनका सवालमा गरिएका तर्कविरुद्ध स्थायी सरकारको जबर्जस्त ‘न्यारेटिभ’ स्थापित गरेर संसदीय व्यवस्थाको मूल्य मान्यतालाई नै चुनौती दिने कार्य भएको छ भने अर्कोतिर सरकारका आफ्नै कमिकमजोरी र पार्टी अन्तरद्वन्द्वका कारण स्थायित्वको वाचा गरेर पाएको जनताको अभिमतको अपमान गरिएको छ।

स्मरण रहोस्, जनताले विश्वास गरेर दिएको स्थायित्वको अभिमत केवल पाँच वर्षको समय सीमामात्र हैन। लामो समयसम्मको राजनीतिक अस्थिरताबाट वाक्क भएर जनताको स्थायित्वको यो चाहना सरकारको नीति र कार्यक्रम हो। न्यायपूर्ण र समतामुलक नेपाल निर्माणको हो। यदि फगत पाँच वर्षको सीमालाई मात्र स्थायित्वको रुपमा बुझिएको छ भने अस्थिरताको मूल कारण नै त्यही हो।

यी सबै कुरा गरिरहँदा सत्य कुरा चाँहि नेकपा एकताको प्रमुख आधार फेरि पनि सहमति नै हो। तर, के सहमति भन्ने चिज त्यस्तो निरञ्जन निराकार हो? सहमतिका कुनै ठोस् आधार र तौरतरिका हुँदैनन् ? कि नेतृत्वले जे गर्‍यो त्यही नै सहमति हो?

नेकपाले इतिहासमा विरलै कुनै राजनीतिक दलले पाउने करिब दुई तिहाइ  मत पाएको छ। सुविधाजनक संघीय सरकार र ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाकै सरकार छ। अधिकांश स्थानीय तहमा नेकपाकै नेतृत्व छ। तर, जनताले विगतका सरकार र अहिलेको नेकपाको सरकारमा तात्विक भिन्नता महसुस गर्न पाएका छैनन्।

लोकतान्त्रिक व्यवस्थामा सरकारले जनजीविकाको सवाललाई प्रथामिकतामा राखेर ‘डेलिभरी’ दिनै पर्छ। त्यो पनि न्यायसंगत विधि र पद्दतिबाट। ‘पपुलिष्ट’ कुरा गरेर र राष्ट्रिय प्राथमिकताभन्दा बाहिरका बेमौसमी कुरा गरेर न लोकतान्त्रिक व्यवस्था बलियो हुन्छ, न नेकपा नै।

कोरोना महामारी र त्यसले सिर्जना गरेको आजको जटिल अर्थ-सामाजिक अवस्थामा नेकपामा जुन आन्तरिक द्वन्द्व चलिरहेको छ, त्यो आफैँमा खेदजनक छ।

लेनिनले धेरै पहिले भनेका थिए, ‘अहंकार, अज्ञानता र भ्रष्टाचारले कम्युनिष्ट पार्टीलाई घाटमा पुर्‍याउँछ।’ अझै पनि नेकपाले कमसेकम आफ्नै गुरुलाई बुझेनन् भने ‘आगे जे होला’ उनैले जानून्।

 Published Date: Monday, 27th July 11:36:54 AM