आईतबार, असोज ५, २०७६

कला–सङ्गीतप्रति सरकार कञ्जुस छ

पहिलेको तुलनामा अहिले नेपाली सङ्गीतको क्षेत्रमा झन् चर्को प्रतिष्पर्धा छ। श्रोतासामु पुग्ने  माध्यम–मिडियाको संख्या र प्रकार दुबै बढेका छन्। कलाकारको संख्या पनि बढेको छ। यसैले, आफूलाई चिनाउन–अरूभन्दा फरक देखाउन झन् मेहनत गर्नुपर्ने दबाब अहिलेका कलाकार–सङ्गीतकारमा छ। 

अहिले डिजिटल प्रविधिको युग चलिरहेको छ। आफ्नो कला–सङ्गीत रेकर्ड गर्न मात्र होइन, स्रोता–दर्शकसामु पुर्‍याउन पनि डिजिटल माध्यम नै प्रयोग गरिन्छ। हिजो सञ्चार माध्यमको संख्या थोरै थियो। श्रोतासम्म पुग्न धेरै संघर्ष गर्नुपर्थ्याे। आफूले गाएको गीत रेडियो नेपालबाट प्रशारण हुन पनि ६ महिना कुर्नुपर्थ्याे। 

त्यति लामो प्रतीक्षा गर्नुपर्दा कतिपय सङ्गीतकार–कलाकार निराश हुन्थे। कतिको मनमा त सङ्गीत क्षेत्रबाटै पलायन हुने विचार पनि आउँथ्यो होला। तर, त्यस्तो प्रतिकूल अवस्थामा पनि धेरै सङ्गीतकारले हार खाएनन्। राम्रा सङ्गीतहरू दिए। गीतहरू गाए। 

भिडियाे

तर, अहिले नतिजा चाँडै आउँछ। गीत तयार हुनेबित्तिकै श्रोता–दर्शकको आँखा–कानसम्म पुग्छ। गीत राम्रो भयो कि भएन भन्ने तत्काल थाहा हुन्छ। आफ्नो गीत चलेन भने अर्को क्षेत्रमा फड्को मार्नु पनि सजिलै छ। पहिलेजस्तो महिनौं प्रतीक्षा गर्नुपर्दैन। 

कलाकारितामा आउनेले इमान्दारी देखाउनै पर्छ। तर, त्यतिले मात्रै पुग्दैन। आफूभित्रको प्रतिभा पनि चिन्न सक्नुपर्‍यो। आफू जुन क्षेत्रमा छ, त्यो आफ्नो लागि ठीक छ कि छैन भन्ने स्वयंले मनन गर्न सक्नुपर्छ। आजको जस्तो प्रतिस्पर्धाको जमानामा त थोरै प्रतिभाले पुग्दै पुग्दैन।

हाम्रा अग्रजहरूले बलियो गरी हालेको नेपाली सङ्गीतको जग अझै भत्किएको छैन। तर, अब माथि तला थप्दै जानेहरूले जगले थाम्न नसक्ने कामहरु गर्नुभएन। नत्र जग जति बलियो भए पनि घर भत्किन्छ।

राम्रा सङ्गीत सिर्जना गरेका अग्रजहरूलाई आजसम्म पनि श्रोताहरूले मन पराएका छन्, सम्मान दिइराखेका छन्। 

तर, कलाकारलाई राज्यको तर्फबाट भने माया र संरक्षण छैन। कलामै जीवन बिताउनेहरूलाई पनि राज्यले हेर्दैन। कति कलाकारहरू प्रसिद्ध हुन्छन्। वाह–वाही पाउँछन्। सेलिब्रेटीमा गनिन्छन्। तर, भोलि गएर अन्तिममा के त? केही समयका लागि आर्थिक रुपमा सबल हुन्छन्। तर, उनीहरू कमजोर भएपछि राज्यले संरक्षण गर्दैन।

काठमाडौं प्रेससँग कुराकानी गर्दै शम्भुजीत वास्कोटा । तस्वीरः रिवाज राई

हामी कलाकर्मीलाई सरकारले विभिन्न देशमा प्रस्तुतिका लागि लैजानु पर्छ। लोक, आधुनिक, सुगम सङ्गीत र चलचित्रजस्ता हरेक विधा–क्षेत्रबाट हरेक वर्ष २५–२५ जना नयाँ–पुराना कलकारलाई विदेशमा प्रस्तुति दिन पठाउन सकिन्छ। यसबाट देशको कला–सङ्गीतको प्रवद्र्धन हुन्छ। पर्यटकहरू आउँछन्।

संस्कृति र सङ्गीतको विकासका लागि सङ्गीत नाट्य एकेडेमी र नेपाल भाषा साहित्य एकेडेमी जस्ता संस्था छन्। तर, उनीहरूको कुल बजेट ७ करोड पनि छैन।

सङ्गीत नाट्य एकेडेमीले नेपालभरिको सङ्गीतलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने भनेको छ। यस्ता धेरै संस्था छन्। यसका लागि कम्तीमा १५ करोड बजेट त दिनुहोस्। तब पो उसले कलाकारलाई पनि राम्रो पारिश्रमिक दिएर बाहिर पठाउन सक्छ, नेपालकै प्रवर्द्धनका लागि। 

तर, हाम्रो सरकार कलाकारप्रति कञ्जुस छ। २ वटा तक्मा लाइदिन्छ, यसरी सङ्गीतको विकास हुँदैन।

काठमाडौं प्रेससँग कुराकानी गर्दै शम्भुजीत वास्कोटा । तस्वीरः रिवाज राई
 

नेपाल पानीका लागि मात्र होइन, सङ्गीतका लागि पनि धनी छ। हामीले हाम्रा सङ्गीतको माध्यमद्वारा विश्वभर नेपाली पर्यटन प्रवद्र्धन गर्न सक्छौँ। धन्न विदेशी बस्ने नेपाली दाजुभाइले समय–समयमा नेपाली कलाकार बोलाउँछन्। सरकारतर्फबाट कुनै पहल छैन। 

हामी नेपाली कलाकार र प्रविधि दुबैमा सक्षम छौँ। मात्र त्यसलाई सरकारले बोक्न जरुरी छ। 

पहिले लोकदोहोरीभन्दा पनि सुगम सङ्गीत धेरै लोकप्रिय भएको थियो। तर अहिले लोकगीतको विकास भएको छ। यसका लागि लोक गायकहरूलाई दोहोरी साँझको लागि विदेशमा पठाउन सक्नुपर्‍यो। नेपाली गीत सङ्गीतमा टिकिराख्न कतिले जग्गा बेच्छन्। कसैले ऋण गर्छन् एल्बम निकाल्न। यसको लागि विदेशी नेपालीहरूले केही प्रति भए पनि कलाकारहरुलाई बचाइ राख्नुभएको छ। तर, त्यतिले पुग्दैन। सरकारले नै केही गर्नुपर्छ।

-सङ्गीतकार शम्भुजीत बास्कोटासँग वर्षा महर्जनले गरेको कुराकानीमा आधारित

 Published Date: Saturday, 22nd June 15:04:30 PM