बिहीबार, साउन २, २०७६

‘मधेसमाथि नाकाबन्दी लगाइएको छ’ 

यहाँ संसदमा जसरी रातो बत्ती बल्नासाथ हाम्रा अभिव्यक्ति बन्द हुन्छन्। आज कानूनद्वारा त्यही रातो बत्ती बालिँदैछ, बल्दैछ। हरेक कानूनमा रातो बत्ती राखिएको छ। र, त्यहीमार्फत जनतालाई अधिकार सम्पन्न गराउन होइन जनताले पाएका अधिकार कटौती गर्न खोजिएको छ। सरकार त्यही दिशामा अघि बढेको छ।

संसदबाट पनि त्रुटीहरु भएका छन्। लामो इतिहास छ कि संसदबाट पनि त्रुटी हुँदा संसदबाटै तानाशाहहरु उत्पन्न भएका छन् विश्वमा। जुन अहिलेको सरकारको बाटो छ हामी सशंकित भएका छौं। कतै सरकार त्यहीतर्फ त गइरहेको छैन? जनताका अधिकार कुठित त हुने होइनन् भनेर।

हाम्रो अलग व्यथा छ– बेलाबेलामा नाकाबन्दीको कुरा सुनिन्छ। मधेसमा आर्थिक नाकाबन्दी भइरहेको कहिल्यै कसैले बोलेको छ? मधेसको बजेट किन कम? जनसंख्याको आधारमा चाहिँ उसको प्रतिनिधित्व किन हुँदैन? शासन-प्रशासनमा उसको सहभागिता कत्तिको छ? यो नाकाबन्दी होइन मधेसको? 

मधेस नेपालको आन्तरिक उपनिवेश बनाइएको छ। उपनिवेशको आफ्नो बोली हुँदैन, उपनिवेशको आफ्नो ठूलो पहिचान हुँदैन। उपनिवेशलाई दुनियाँले स्वीकार गर्दैन। उसको बोली मास्टरको बोली हुन्छ, पहिचान मास्टरको हुन्छ। मधेसलाई दुनियाँमा सुन्ने जान्ने कोही पनि छैन। त्यसैले  मधेस एउटा खुला जेल छ।

जेल खुला तर, सबै बन्दी छन्। अनि अधिकार सम्पन्न भएन? बन्दीलाई पनि बिहान बेलुका काम गर्नु पर्दैन खुराक पाइन्छ। त्यही अधिकार सम्पन्नता हो भने मधेस हो। हामी पनि अधिकार सम्पन्न भएका छौं।

तर, हामी किन संघर्ष गरिराखेका छौं त? भेद्‍भाव किन? विभेद किन? अहिले पनि त विभेद छ, सारा चिज छ। हाम्रो संघर्ष त्यो विभेदको विरुद्धमा छ, त्यो रहिरहन्छ। जबसम्म त्यो विभेद कम हुँदैन। अहिले पनि मधेसमा सबैभन्दा गरिबी र बेरोजगारी छ। मधेसबाट बाहिर मान्छे गइरहेका छन्। शिक्षा र स्वास्थ्यको पहुँच छैन। यही हो अधिकार सम्पन्नता? व्यवहारमा त देखिँदैन। व्यवहारमा जम्मै कुरा विपरित छन्, मधेस अनुकुल छैन।

मधेस सशंकित छ। मधेसमा आतंक, भय र पीडा छ।  १२०० भन्दा बढीलाई मुद्दा चलाइएको छ। रेशमराज चौधरी निर्वाचित भएर पनि यो संसदमा छैनन्। जेलमा राखिएको छ। दर्जनौं मधेस आन्दोलनका कारण जेलमा छन्। कोही जलेश्वर त कोही धनगढी जेलमा छन्। कसैले सोध्नेवाला छैनन्।

जब सुरक्षा निकायको गोली लागेर मरेका मानिसहरुलाई सरकारलाई सहिद घोषणा गरिएको छ भने पक्राउ परेका मानिस कसरी दोषी भए? अपराधीलाई त सहिद घोषणा गरिँदैन। तर, एकातिर जो सहादत प्राप्त गरे तिनीहरुलाई राज्यले सहिद घोषणा गरेको छ। 

अर्कोतिर, जो पक्राउ परे, जो जेलमा परे अनि उनीहरुलाई झुठा मुद्दा लगाइएको छ। उनीहरुको घर जलाइएको छ। घरभित्र पसेर दुव्र्यवहार गरिएको छ। यो सबैले बोल्न सक्दैनन्। हाम्रो संस्कृति र पहिचानमाथि आक्रमण भएको छ। जसको संस्कृति छैन उसको पहिचान हुँदैन। जसको भाषा छैन उसको पहिचान छैन।

भाषाले पहिचान दिन्छ, संस्कृतिले पहिचान दिन्छ। यो फलाना भाषाभाषी भनेर हामी भन्छौं। तर, यहाँ राष्ट्रियताको परिभाषा हामी भन्छौं–गर्वले भन्छौं, हाम्रो देश, हाम्रो समाज बुहभाषिक, बहुधार्मिक, बहुजातीय, बुहसांस्कृति। तर, के शासन प्रशासनको त्यो रुप छ? त्यो उपस्थिति देखिन्छ? अहः छैन।

एउटा भाषामा राष्ट्रियता देख्ने, एउटा ड्रेसमा राष्ट्रियता देख्ने? र, अरुले आफ्नो भाषा र आफ्नो संस्कृतिमा, पहिचानमा राष्ट्रियता हेर्छ भने त्यो साम्प्रदायिक हो? आफू सत्तामा बस्ने चाहिँ राष्ट्रवादी, उसको भाषा संस्कृति मान्नै पर्ने, किनकि त्यसमा राष्ट्रियता छ।

तर, अरु भाषाभाषी, आफ्नो ड्रेस लगाउने यस देशका नागरिक छन्। तीनको राष्ट्रियता छैन? उनले आफ्नो भाषामा, आफ्नो संस्कृतिमा राष्ट्रियता हेर्दा अपराधी भए त? उसको यदि अलग धर्म छ भने ऊ अपराधी भयो त? कहाँ मेटिएको छ यो सब कुरा?

भाषामा जे लेखिएपनि व्यवहारमा त देखिएको छैन। अहिले पनि त्यही पोजिसनमा छ। पुरानै चिज चलिरहेको छ। चेहेरा–मोहर केही बदलिएको छैन। पुरानै चेहेरा हामीले हेरिरहेका छौं। कुनै नयाँ चिज देख्न पाइएको छैन। कसकै रुप रंग नयाँ छैन, पुरानै हो। अनि हाम्रो पहिचान के छ- परिवर्तनकारी शक्ति?

के परिवर्तन भएको छ? के साच्चिकै जनता अधिकार सम्पन्न भएका छन्? एउटा समूहको सारा अधिकार समेटिएको छ, सम्पन्न बनाइएको छ के यही अवस्था हो? 

-बिहीबार प्रतिनिधिसभा बैठकमा राजपा अध्यक्ष ठाकुरले व्यक्त गरेको विचारको सम्पादित अंश
  

 Published Date: Saturday, 22nd June 15:01:09 PM