मंगलबार, भदौ ३, २०७६

मेची-महाकाली पैदल हिँड्दा मैले देखेको बेग्लै देश

म जहाँ जन्मिएँ, त्यहाँ एउटा सार्वजनिक धारासमेत थिएन। हुन त हाम्रो बस्ती नगरपालिका क्षेत्रमै पर्थ्याे।तर, गरीब र दलित घर–परिवार मात्रै रहेको हाम्रो बस्ती बत्तीमुनिको अँध्यारो झैं थियो। त्यहाँ कुनै आधारभूत सुविधाहरू थिएनन्।

हाम्रो बस्तीदेखि झण्डै एक घण्टा ओह्रालो हिँडेपछि एउटा गैर–दलित बस्ती भेटिन्थ्यो। त्यहाँ एउटा सार्वजनिक धारा थियो। म पानी ल्याउन त्यहीँ जान्थेँ। सानी थिएँ। शरीरमा तागत पसिसकेको थिएन। तर, विहान सखारै उठेर पानी बोक्न दौडिन्थेँ। झिस्मिसेमै त्यहाँ नपुगे दिनभर घरमा एक थोपा पानी हुँदैन थियो। 

तर, स्थानीय गैरदलितहरू सबैले पानी भरिसकेपछि मात्रै हाम्रो पालो आउँथ्यो। कहिलेकाहीँ गल्तीले उनीहरूको पानी छुन पुग्थेँ, अनि उनीहरू गाली गर्दै आफ्नो गाग्रीको पानी पोखेर फेरि नयाँ पानी भर्थे। यसो गर्दा कहिलेकाहीँ निकै समय खेर जान्थ्यो। तर, केही प्रतिवाद गर्न सक्तिन थिएँ। 

विभेद गाउँमा मात्र होइन, स्कुलमा पनि भोग्नु पर्थ्याे। सरस्वती पूजाको दिन प्रसाद बाँड्दा पनि हामी दलित विद्यार्थीलाई छुट्टै लाइन लगाइन्थ्यो।

सानैदेखि देख्दै–भोग्दै आएको कुरा आसामान्य नलाग्ने रहेछ। मेरो मष्तिष्कले पनि विभेदको सामान्यीकरण गरिसकेको थियो। तर, मष्तिष्कले यस्तै हो भनी चित्त बुझाए पनि मन नमान्दो रहेछ। मन त रुँदो नै रहेछ।

दलित हुँदैमा काेही किन पढाइमा कमजोर हुन्छ?

एक दिन एउटा यस्तैे घटना भयो, जसले धेरै वर्ष मेरो मन कुँडायो। त्यो घटना सम्झिँदा अझै मेरो मन दुख्छ।

म गोरखाको पृथ्वीनारायण नगरपालिकाको एउटा सरकारी स्कुलमा कक्षा ८ मा पढ्थेँ। जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने दिन थियाे त्याे। म पनि राम्रै विद्यार्थी थिएँ। तर, मेरो अङ्ग्रेजी कमजोर थियो। घरमा अङ्ग्रेजी सिकाइदिने मान्छे थिएन। घरमा त के, हाम्रो पूरै बस्तीमा कसैले एसएलसी पास गरेकाे थिएन। 

भिडियाे

एक जना सरले सबैको अगाडि मलाई भन्नुभयो, ‘यिनीहरू त जन्मजात पढाइमा कमजोर हुन्छन्।’ 

त्यो दिन मैले उहाँको भनाइको निहितार्थ बुझिनँ। तर, उहाँको शब्दले च्वास्स मेरो मन घोच्यो। नमीठो लाग्यो। घरमा आएर दाइलाई सुनाएँ। दाइले भन्नुभयो, ‘हामी दलित हौँ, त्यही भएर सरले त्यसो भन्नुभएको होला।’

मैले दाइको कुरा पनि बुझिनँ। आफैंसँग प्रश्न गरेँ – दलित हुँदैमा काेही किन पढाइमा कमजोर हुन्छ?

त्यो घटनाले मलाई चिमोटी रह्यो। मेहनत गरेर पढेँ। २०५६ सालमा एसएलसी पास गरेँ। त्यस बेलासम्म पनि हाम्रो बस्तीबाट कसैले एसएलसी पास गर्न सकेको थिएन। 

जातीय विभेद र छुवाछुतलाई व्यवहारमै अन्त्य गर्न गरिएको मेची–महाकाली पैदल यात्राको क्रममा अन्य दुई सहयात्री होमराज आचार्य र अशोक दर्नालसँग। गत चैत ३ गते महाकालीको चाँदनी दोधाराबाट सुरु भएको हाम्रो पदयात्रा ५४ दिनपछि मेचीको काँकडभिट्टा पुगेर सम्पन्न भएको थियो।

एसएलएसीपछि गाउँकै एउटा विद्यालयमा पढाउन सुरु गरेँ। झण्डै १० वर्ष त्यहाँ काम गरेपछि मलाई गोर्खा लर्निङ सेन्टर नामक एउटा संस्थाले लण्डन जाने अवसर दियो। बेलायतमा बालबालिकालाई कसरी पढाइँदो रहेछ भन्ने बुझ्न म लण्डन गएँ।

लण्डन जाँदा लागेको थियो – विदेशमा त जातीय विभेद भोग्नु पर्दैन। तर, मेरो सोचाई गलत सावित भयो।

म एक थापा थरकी दिदीको घरमा बस्थेँ। म उहाँसँगै खाना खान्थेँ। तर, उहाँले एक दिन एक्कासि मलाई अर्को कोठा खोज्न भन्नुभयो। 

मैले पछि साथीहरूमार्फत थाहा पाएँ – उहाँले म दलित हो भन्ने थाहा पाउनु भएछ। 

लण्डन गएको ११ वर्षपछि म नेपाल फर्किएँ। यो अवधिमा नेपालमा धेरै ठूलो राजनीतिक एव सामाजिक परिवर्तन आइसकेको थियो। जातीय छुवाछुत लगायतका कुरीतिविरुद्ध लडेका माओवादी सत्तामा पुगेका थिए। शान्ति प्रक्रिया लगभग टुङ्गिएको थियो। नयाँ संविधान बनेको थियो, जसले कानूनी रुपमै भए पनि छुवाछुत प्रथा अन्त्य गरेको थियो। 

गोर्खामा छँदा मलाई मन्दिर पस्न दिइँदैन थियो। अरुसँगै बसेर खान पाउँदिन थिएँ। तर, लण्डन गएर र देश–दुनियाँ बुझेर नेपाल फर्किदा मैलै विभेदको सामना गर्नु परेन। मलाई लाग्यो – नेपाल बद्लिएछ। 

हिँड्दा हिँड्दै थाकेर सडक किनारमौ सुस्ताउँदै

तर, नेपाल आएको केही समयपछि नै म गोर्खा गएँ। त्यहाँ पुग्दा थाहा पाएँ – मजस्ता पढेका, देश बुझेकाले मात्रै विभेद नभोग्नु पर्ने रहेछ। मेरो गाउँमा त अझै पनि विभेद रहेछ। 
गाउँमा एक आफन्तको बिहे थियो। तर, दलितकै बिहे भए पनि त्यहाँ खाना पकाउने काम गैर दलितको जिम्मा थियो। किनकि, दलितले पकाएको खाना गैरदलितले खाँदैन थिए।

त्यति मात्र होइन, दलित र गैरदलितले खाने ठाउँ पनि अलग थियो। 

त्यो देखेर लाग्यो – विभेदविरुद्धको लडाइँ सकिएको रहेनछ। 

त्यसै बेला म अशोक दर्नाल र होमराज आचार्यको सम्पर्कमा पुगेँ। हामी तीन जना मिलेर जातीय विभेद र छुवाछुतविरुद्ध जनचेतना फैलाउन मेची–महाकाली पैदल यात्रा गर्ने निधो गर्‍यौँ। 

गत चैत ३ गते महाकालीको चाँदनी दोधाराबाट सुरु भएको हाम्रो पदयात्रा ५४ दिनपछि मेचीको काँकडभिट्टा पुगेर सम्पन्न भयो।

हामीलाई महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनारले टीका लाइदिँदै बिदाइ गर्नुभएको थियो। त्यस बेला लागेको थियो – अहो, नेपालमा दलित पनि मेयर भइसके। 

तर, एउटा पहाड चढिसकेपछि मात्रै अरु धेरै पहाडहरू देखिँदो रहेछ। मेची–महाकाली यात्राको क्रममा मैले दलितमाथि भएका विभेदका अनेकौं घटनाहरू देखे। ती सबै घटनाको बिस्कुन एकै पटक फिँजाउन सकिन्न। त्यसैले, मैले यहाँ पाँच प्रतिनिधि घटना मात्रै राखेकी छु। 

कैलालीमा कोली कटान बस्ती बसाउने सरु देवी कोलीबाट आशिर्वाद लिँदै

बस्ती बसाउने दलित नै सुकुम्बासी

कैलालीको अत्तरियाबाट ४ किलोमिटर उत्तरमा पर्छ – कोली कटान। यो ठाउँ कुनै समय जङ्गल थियो। दलित समुदायका कोलीहरू आएर झोडा फाँडी यहाँ बस्ती बसाए। यसैले, यो ठाउँको नाउँ नै कोली कटान रहन गयो। कोली कटान बसाउने दलितहरू अझै पनि ऐलानी जग्गामै बस्दा रहेछन्। पछि आएका गैरदलितहरूले भने आफ्नो नाउँमा जग्गाको लालपुर्जा बनाइसकेका रहेछन्।

कोली कटान बस्ती बसाउनेमध्येका एक सरु देवी कोली अझै पनि जीवित हुनुहुन्छ। तर, कोली कटानमा दलितकै श्रम पसिनाले बनेको मन्दिरमा सरु देवीलाई छिर्ने अनुमति छैन। यहाँका दलितहरूले मन्दिर छिर्ने कोशिस गरेका रहेछन्। तर, मन्दिर छिर्न खोज्दा पुरुष दलितलाई ज्यान मार्ने र महिला दलितलाई बलात्कार गर्ने धम्की दिइएको रहेछ। 

कोलीकटानका रतन नेपाली स्थानीय स्तरमा निकै लोकप्रिय राजनीतिक कार्यकर्ता हुन्। तैपनि, उनलाई आफ्नै दलले चुनाव लड्ने टिकट दिएनछ। किनकि, दलितले चुनाव जिते गैरदलितले पनि नमस्कार गर्नुपर्छ भनेर विरोध भएको रहेछ। 

युद्ध कालमा बादी युवकसँग बिहे गरेकी र युद्ध सकिएपछि जातीय विभेद भोगिरहेकी कलावती खड्का साेध्छिन्, ‘यत्रो वर्ष जातीय विभेदको लागि लडेकी मैले आखिर के पाएँ त?’

युद्ध सकियो, छुवाछुत फर्कियो

कञ्चनपुरकी कलावती खड्का पूर्व माओवादी लडाकु हुन्। उनले बन्दुक बोकेर विभेदविरुद्ध विद्रोह गरिन्। त्यसबेला माओवादी पार्टीले जातभात मान्दैन थियो। माओवादी नेताकै आदर्शबाट प्रेरित भएर उनले पनि एक बादी युवकसँग बिहे गरिन्। 

जबसम्म युद्ध चल्यो, तबसम्म विभेद थिएन। उनीविरुद्ध कसैले औंला उठाउन सक्दैन थियो। तर, जब युद्ध सकियो, तब छुवाछुत पनि फर्कियो। 

‘यत्रो वर्ष जातीय विभेदको लागि लडेकी मैले आखिर के पाएँ त?’

शान्ति प्रक्रिया सुरु भएपछि उनी गाउँ फर्किइन्, दलित श्रीमान र छोरासहित। तर, उनलाई माइतले स्वीकार गरेन। नातागोता र आफन्तहरू पनि बोल्न छाडे। उनका छोरालाई समेत विद्यालयमा ‘बादीका छोरा’ भन्दै हेपिँदो रहेछ। कहिलेकाहीँ छोरा रुँदै घर फर्किन्छन्। 

उनले सोधिन्, ‘यत्रो वर्ष जातीय विभेदको लागि लडेकी मैले आखिर के पाएँ त?’

मसँग उनलाई दिने कुनै उत्तर थिएन।

जनप्रतिनिधिलाई पनि विभेद

बाँकेको राप्ती-साेनारी गाउँपालिकाकाे कुसुममा भेटिइन्, लीला नेपाली। उनी दलित महिला सदस्य कोटामा वडा सदस्य निर्वाचित भएकी रहेछिन्। 

उनलाई भेट्नुअघि हाम्रो भेट उनकै वडाका कार्यवाहक अध्यक्ष टिकाराम बस्नेतसँग भएको थियो। उनले आफ्नो वडामा जातीय विभेद अन्त्य भइसकेको दाबी गरे। 

तर, लीला नेपालीको कथा–व्यथा अर्कै रहेछ। दलित भएकीले जनप्रतिनिधि भएर पनि उनले पटक–पटक विभेद भोग्नुपरेको रहेछ।

उनले एउटा विभेदको घटना सुुनाइन् – ‘एक दिन एउटा कार्यक्रममा एक जना भद्र र शिक्षित देखिने महिलासँग भेट भयो। उनी खुब आदरसाथ मसँग कुरा गरिरहेकी थिइन्। मलाई ‘तपाईं, हजुर’ भनी सम्बोधन गर्थिन्।’ 

तर, जब उनलाई मेरो थर थाहा भयो, तब उनले मलाई ‘तपाईं’ जस्ता आदरार्थी सम्बोधन गर्न बन्द गरिन्। मेरो छेउ बस्न पनि मानिनन्। अर्कै कुर्सीमा गएर बसिन्। 

रेश्माक वृद्ध बुवा न्यायकाे पर्खाइमा हुनुहुन्छ

रेश्मालाई न्याय खै?

हामी सबैलाई निर्मला पन्तको नाम थाहा छ। तर, रेश्मा रसाइलीको नाम कमैलाई मात्र थाहा होला। 

धनुषाकी रेश्मा रसाइलीको पनि बलात्कारपछि जिउँदै जलाइएको थियो। म रेश्माको घर गएँ। घरमा उनको वृद्ध बुवा मात्रै हुनुहुँदो रहेछ। रेश्माकाे हत्या गरेकाे अराेपमा एक जना पक्राउ त परेका छन् । तर अझै दाेषी करार भइसकेकाे छैन । न त उनका परिवारले राज्यकाेतर्फबाट सहनाभूति पायाे, न त सहयाेग नै । 

दलितलाई दमन नै गरेर नेपाललाई सुखी र समृद्ध बनाउँछु भन्नु मुर्खता हो

तर, रेश्माले अझै न्याय पाएकी छैनन्। उनको आत्माले पनि सायद अझै मुक्ति पाएको छैन। 

 नवलपरासीको पाल्ही नन्दन गाउँपालिकाकी यी मुसहर महिलाकाे भनाइ छ – तालिमका लागि गैरदलित महिलालाई मात्रै बोलाइन्छ, तर भीड जम्मा गर्नुपर्ने भयो भने चाहिँ हामीलाई बोलाइन्छ।

भीड जम्मा गर्न मात्रै मुसहर

हुन त हाम्रो योजना पूर्व–पश्चिम राजमार्ग हुँदै हिँड्नु थियो। तर, विभेदको असली तस्वीर हेर्न हामी राजमार्गदेखि छेउछाउका गाउँ पनि छिथ्र्यौं। त्यहाँका मानिससँग अन्तरक्रिया गर्थ्याैँ।

यसै क्रममा हामी नवलपरासीको पाल्ही नन्दन गाउँपालिका पुगेका थियौँ। त्यहाँ मुसहर महिलाहरू पनि आएका थिए, घुँघट ओढेर। उनीहरूमध्ये एक मुसहर महिला निकै वाचाल थिइन्। उनले आफ्नै भाषामा निकै चर्को कुरा गरिन्। मैले उनको कुरा बुझिनँ। भिडियो रेकर्ड गरे। पछि त्यो भाषा बुझ्ने एक साथीलाई ती महिलाको कुरा अर्थ्याउन लगाए।

उनको भनाइको सार रहेछ – गाउँमा तालिम दिन कुनै संस्था आयो भने हामीलाई कसैले बोलाउँदैनन्, गैर दलित महिलालाई मात्रै बोलाइन्छ, तर भीड जम्मा गर्नुपर्ने भयो भने चाहिँ हामीलाई बोलाइन्छ।

अन्त्यमा
जातीय विभेद अब दलितको मात्रै मुद्दा रहेन। यो गैरदलितको पनि मुद्दा हो। यो देशकै मुद्दा हो। नेपालमा ६०–७० लाख दलितहरू छन्। उनीहरूले नागरिक भएर बाँच्न नपाएसम्म देश सुखी र समृद्ध हुँदैन। दलितलाई दमन गरेर नेपाललाई सुखी र समृद्ध बनाउँछु भन्नु मुर्खता हो।

मन्दिर, गहना बनाउने, कपडा सिलाउने, जुत्ता बनाउनेलगायतका काम दलितले नै गर्छन। उनीहरू अर्थतन्त्रका खाँबाहरू हुन्। तर, अर्थतन्त्रमा यति महत्वपूर्ण योगदान पुर्‍याउने दलितप्रति यस्तो अपमान किन? यस्तो अन्याय किन? 

जातीय विभेद र छुवाछुतविरुद्ध मेची–महाकाली पदयात्रा गरेपछि मेरो मनमा यस्तै प्रश्नहरू उठेका छन्, जुन अझै अनुत्तरित छन्। 

 Published Date: Thursday, 30th May 12:39:38 PM