बुधबार, मंसिर २५, २०७६

विश्व घुम्न नसके सगरमाथा घुमाैँ

काठमाडौं – सन् २०१४ को अप्रिलमा मैले पहिलोचोटि सगरमाथा आधार क्षेत्रको पदयात्रा गरेकी थिएँ। 

तर, एकपटक यो पदयात्रा गरेर धीत नमर्ने रहेछ। यसैले, म यसपालि फेरि विश्वको सर्वोच्च हिमालको काखसम्म पुगेँ।

म प्रायः हाइकिङ गइरहन्छु। ट्रेकिङ चाहिँ खासै गर्दिनँ। अझ एभरेस्ट ट्रेकिङ जस्तो चुनौतीपूर्ण पदयात्रा त हरेक वर्ष गर्ने कुरै भएन। 

सगरमाथा पदयात्रा गर्नु भनेको हिमाल हेर्दै हिँड्नु मात्र होइन। पदयात्राको क्रममा विभिन्न पृष्ठभूमिका मानिसहरू भेटिइन्छन्। सबैको आफ्नै अनुभव हुन्छ। आफ्नै कथा हुन्छ। एक किसिमले सगरमाथा पदयात्रा गर्नु भनेको समाज चिन्नु पनि हो। 

यसपालि बाटोभरि मैले धेरै नेपालीहरू देखेँ। यति छोटो अवधिमा पनि पदयात्रा गर्ने नेपालीको संख्या ह्वात्तै बढेछ। 

भिडियाे 

विश्वका कुनाकुनाबाट मानिसहरू वर्षौंसम्म पैसा जम्मा गरेर सगरमाथा हेर्न आउँछन्। शिखर पुग्न नसके पनि आधार शिविरसम्म पुग्छन्। हिमाल हेरेर हर्षको आँशु चुहाउँछन्। सगरमाथा पदयात्रा गर्नु भनेको रमाइलो रिट्रिट मात्रै होइन। यो एउटा भावनात्मक अन्तर्यात्रा पनि हो। 

पाँच वर्षअघि सगरमाथा पदयात्रा गर्दा बाटोमा खासै धेरै नेपालीहरू देखेको थिइनँ। सगरमाथा पदयात्रा अलि महङ्गो पनि छ। समुद्र सतहबाट ५,३६४ मिटर अग्लो क्षेत्रमा यात्रा गर्न धेरै नेपालीहरू मानसिक रुपमै तयार हुँदैनन्।  

तर, यसपालि बाटोभरि मैले धेरै नेपालीहरू देखेँ। यति छोटो अवधिमा पनि पदयात्रा गर्ने नेपालीको संख्या ह्वात्तै बढेछ। 

काठमाडौं प्रेससँग मङ्गलबार कुरा गर्दै सहाना बज्राचार्य । तस्वीरः रमेश पोख्रेल

कुनै साथी कतै पदयात्रामा निस्किएको सामाजिक सञ्जाल मार्फत् थाहा पाउने बित्तिकै ‘ऊ त गएछ, म किन नजाने?’ भन्ने नेपालीको संख्या बढिरहेको छ। यस्तो प्रवृत्तिले पदयात्रा गर्ने नेपालीको संख्या पनि बढेको हुनुपर्छ। 

पहिले धेरैलाई लाग्थ्यो – विदेशीहरू मात्रै सगरमाथा पदयात्रा गर्न सक्छन्। अहिले आफ्ना साथी, आफन्त र चिनापर्चीका मानिसले पनि सगरमाथा पदयात्रा गरेको देखेर त्यो मान्यता हट्दै गएको छ। 

सगरमाथा पदयात्रा क्षेत्रमा मोबाइल फोन चल्दैन। बाहिरी दुनियाँसँग सम्पर्क बिच्छेद हुन्छ। कहिलेकाहीँ देश–दुनियाँबाट बेखबर हुनु पनि ब्लेसिङ हो जस्तो लाग्छ। किनकि, फोन नचले पछि आफ्नै वरपरको वातावरण, मानिस र क्रियाकलापप्रति बढी ध्यान जाँदो रहेछ।

पदयात्रा गर्दा सकेसम्म धेरे स्थानीय बासिन्दासँग भलाकुसारी गर्नु मेरो स्वभाव नै हो। यसपालिको पदयात्रा त झन् अन्तर्क्रियात्मक भयो। नाम्चेमा पुगेर त्यहीँका बहिनीहरुसँग आलु गोडेँ। भोलिपल्ट अलि पाखुरा दुखेको थियो। उमेरले मभन्दा साना ती बहिनीहरू विहानदेखि बेलुकासम्म काम गर्छन्। आफ्नो ठाउँलाई माया गर्छन्। 

हामी अर्को बर्ष भिजिट नेपाल २०२० मनाउँदैछौँ तर, हामी धेरै नेपालीले घुम्ने ठाउँ भनेको चितवन वा बर्दियामात्रै हो। हिमाली क्षेत्रमा धेरै नेपालीहरू घुम्न निस्किदैनन्। डर मान्छन्। हिमालका कथाहरू पनि प्रायः हिमाली क्षेत्रमै सीमित हुन्छन्। 

जस्तै – सगरमाथा आरोहीहरूका लागि बाटो बनाइदिने आइसफल डक्टरहरूको बारेमा कमै नेपालीलाई मात्रै थाहा होला। उहाँहरू हिमालमा डोरी टाँग्दै हिँड्नुहुन्छ। यो काम गर्दागर्दै कति शेर्पाको त ज्यानै गएको छ। कहिलेकाहीँ त हिमपहिरो नै आइदिन्छ। सुरक्षाका उपायहरू अपनाइएको हुँदैन।

उहाँहरूको बहादुरीको खासै प्रशंसा हुँदैन। किनकि, उहाँहरूको कथा खासै बाहिर आउँदैन। भिजिट नेपाल २०२० भनेको शेर्पाको बहादुरी र हिमाली क्षेत्रका बासिन्दाको परिश्रम देख्ने–बुझ्ने वर्ष पनि हो। 

मलाई धेरैले सोध्छन् – दुईपटक आधार शिविर पुगिसक्यौँ, अब शिखर पनि चढ्ने हो? म यसको उत्तरमा हो वा होइन भन्न सक्दिनँ। जबसम्म मेरो भित्री मनले नै शिखर पुग्न पाए हुन्थ्यो भन्दैन, तबसम्म म सगरमाथा चढ्दिनँ। हिमाल चढ्नु भनेको प्रतिष्पर्धा होइन। यो अरुलाई देखाउन गरिने काम होइन। उसले चढ्यो, अब म पनि जसरी पनि चढ्छु भनेर हुँदैन। यस्तो सोचले नै जोखिम निम्त्याउने हो। 

आज मे २९, अर्थात् सगरमाथा दिवस। ६६ वर्षअघि आजकै दिन तेञ्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथा चढेका थिए। यस अवसरमा म सबैलाई आग्रह गर्छु – विश्व घुम्न नसके सगरमाथा घुम्नुहाेस्, किनकि सारा विश्व नै सगरमाथा आउँछ। 

सन् २०१० की मिस नेपाल अर्थ, टेलिभिजनकर्मी र भिजे सहाना बज्राचार्यसँग शोभा मानन्धरले गरेको कुराकानीमा आधारित  

 Published Date: Thursday, 30th May 12:37:44 PM