बिहिबार, असोज १५, २०७७

‘खरिपाटीमा एक पोका चाउचाउ माग्दा पनि कोरोना सर्छ भनेर दिइएन’

कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाएको छ। कसैलाई संक्रमणले, कसैलाई मानसिक तनावले त कसैलाई सामाजिक रूपमा गरिने दुर्व्यवहारले हैरानी दिएको छ।

मानौं कि कोरोना कुनै अनैतिक काम गरेर हुने संक्रमण हो। संक्रमितसँगै विदेशबाट फर्किने जो–जति छन्, उनीहरुसँग बोल्दा पनि संक्रमण सर्छ भनेर मासिनहरु तर्सिएको देखिन्छ। कुनै बेला एचआइभी संक्रमितलाई सामाजमा नकारात्मक रुपमा हेरिन्थ्यो। अहिले यस्तो दुर्व्यवहार कोरोना संक्रमित र त्यसमा पनि विदेशबाट फर्किएका मानिसले भोगिरहेका छन्। त्यसको साक्षी म आफैँ पनि हुँ।

आज म दुबईबाट नेपाल फर्किँदाका पीडादायक तीन दिनको कथा भन्दैछु। जुन, मेरो जीवनकालकै सबैभन्दा पीडादायक छन्। गत जुन २० तारिखमा मसहित २ सय ५९ जना नेपाल फर्कने तय भयो। दुबईको नमस्ते ट्राभल्सले नेपाल एयरलाइन्सको जहाजको टिकट विक्री गरेको थियो। एक व्यक्तिको १३२० दिराम (३३ हजार ५ सय ६० नेपाली रुपैयाँ) मा टिकट किनियो। म दुबईमा सामाजिक काममा सक्रिय थिएँ। मलाई ट्राभल एजेन्सीले टिकट बुक भइसकेको बताएको थियो। 

तर, पछि थाहा भयो कि मेरो त कुर्नुपर्ने टिकट रहेछ। जे होस् पछि विजनेश क्लासको टिकट दिइयो। फ्लाइट हुने समयभन्दा ६ घण्टा पहिले हामीलाई बोलाइयो। कारण के भने एयरपोर्टमै कोरोना परीक्षण हुने बताइएको थियो। दुबई इन्टरनेश्नल एयरपोर्टको टर्मिनल–२ मा पुगेपछि हाम्रो पासपोर्ट स्क्यानिङ बकेटमा राखेर लाइन बस्यौं।
त्यहाँ आरडीटी परीक्षण हुने रहेछ ।

तर, रमाइलो भनौं वा अव्यवस्था, आरडीटीका लागि रगत झिक्नुअघि नै हाम्रो शरीरमा स्टिकर टाँसियो। स्टिकरमा लेखिएको थियो– रेडि टु फ्लाइ। आरडीटी परीक्षणका लागि रगत तान्ने वित्तिकै हामीलाई भित्र पठाइयो। मतलब आरडीटीमा जे सुकै देखियोस्, तर रेडि टु फ्लाइ! भनिने रहेछ। २१ तारिख साँझ पाँच बजे हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयौं। 

प्रदेश १ र २ को गाडी व्यवस्था नगरिएकाले हामीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगियो। तर, साँझ ५ बजे अवतरण गरेका हामीलाई राति १ बजे खरिपाटी पुर्‍याइयो। हामीसँगै आउनुभएका एक जना दाइले मादक पदार्थ सेवन गर्नुभएको रहेछ। उहाँमा ज्वरो देखिएकाले ढिलो भएको जानकारी हामीलाई दिइयो। 

जब हामी खरिपाटी क्वारेन्टाइनमा पुग्यौं, तब सेनाको दुव्र्यवहारसँगै क्वारेन्टिनको व्यवस्थापन देख्दा कताकता मन कुँडिन पुग्यो। मैले कल्पना पनि गरेको थिइनँ कि  सेनाले त्यस्तो व्यवहार गर्छ। हामीलाई सरकारले उद्धार गरेको थिएन, केवल नेपाल आउने वातावरण मात्रै मिलाइदिएको थियो। हामी आफ्नै खर्चमा नेपाल आउँदा पनि यो हदको दुव्र्यवहार हुने कल्पना सायदै कसैले गर्ला। अझ कतिपयले त घरबाट पैसा मगाएर फर्किनु भएको छ।

खरिपाटी क्वारेन्टिनमा हामीलाई सोया सस र बन्दाकोपी मिक्स गरेको भात दिइएको थियो। मलाई लाग्छ, त्यो दिन जत्तिको खाना मिठो कहिलै भएको थिएन। किन भने २० तारिखमा खाना खाएका हामीले २१ तारिखको मध्यरातमा मात्रै खाना पाएका थियौं। नेपालीमा एउटा उखान छ– भोक मिठो कि भोजन? हाम्रो हकमा पनि यस्तै भएको थियो। सायद, त्यो दिन हामीलाई भोक मिठो थियो।

खरिपाटी क्वारेन्टाइनमा वुहानबाट उद्धार गरेर ल्याएकालाई सरकारले सबै खर्च व्यहोरेको थियो। तर, हामीलाई भने न सफा कपडामा सुत्न दिइयो, न त सफा ट्वाइलेट प्रयोग गर्न दिइयो। त्यसमाथि खरिपाटी क्वारेन्टिनको नेतृत्व गरेका एक जना सेनाका कर्णेलको व्यवहारले आजित बनायो।

हामीसँगै आउनुभएका एक जना श्रीमान र श्रीमती हुनुहुँदो रहेछ। श्रीमती चाहिँ गर्भवती हुनुहुँदो रहेछ। श्रीमानले ती कर्णेलसँग श्रीमतीको अवस्थाबारे जानकारी गराएर बस्न सहज हुनेगरी व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो। तर, कर्णेलले मुख छाड्दै भने– ‘को होस् तँ, यहाँ आइज। यसलाई बाहिर निकाल!’

तर, ती दाजुको सेनाकै माथिल्लो लेभलमा चिनजान रहेछ। अघिल्लो जसले ती दाजुलाई हप्काए, भोलिपल्ट तीनै कर्णेलले आदरभाव देखाएर गाडी चढाएर पठाएको देखियो। यसको मतलब, कसैको कतै लिंक रहेछ भने उसले सम्मान पाउने रहेछ। तर, सामान्य मानिस हो भने उसले अपमान सहनुपर्ने रहेछ। खरिपाटीको एक रातबारेमा बयान गर्न मसँग धेरै शब्द छैनन्। यति चाहिँ भन्न सक्छु कि जीवनमा पहिलो पटक जेल बसियो। 

खरिपाटी क्वारेन्टिनको कम्पाउन्ड बाहिर एउटा किराना पसल रहेछ। हामीले चाउचाउ किन्न माग्यौं। तर, पसलेले हामीलाई गरेको व्यवहार सहन सकिने थिएन। उनले तिमीहरुलाई कोरोना लागेको छ, चाउचाउ समेत दिन्नँ भने। एउटा कुकुरलाई समेत नगरिने व्यवहार खरिपाटीमा हामीमाथि गरियो।  

२२ तारिखमा हामी टोयटाको हाइस चढेर पूर्वतिर लाग्यौं। टोयोटा हाइसमा हामी १२ जना चढ्यौं। न त्यहाँ फिजिकल दूरी कायम गरिएको थियो, न त अन्य सावधानीका उपाय नै। मैले सवारी चालक भाइलाई सोधेँ– किन यस्तो जोखिम मोलेको?

तर, उसको जवाफ सुनेर म निशब्द बने। प्रतिव्यक्ति १८ सय भाडा तोकिएको थियो। गाडीले भने जम्मा १५ सयमात्रै पाउने रहेछ। विचौलियाले तीन सय चार्ज लिने रहेछ। कोरोनाको विषम परिस्थिति भन्ने तर जसरी हुन्छ कमाउने मानसिकता त्यहाँ देखियो।

२३ तारिख बिहान हामी सुनसरीको चतरास्थित होल्डिङ सेन्टरमा पुग्यौं। त्यहाँ पनि हामीमाथि राम्रो व्यवहार भएन। सुँगुरलाई दिइने चारोभन्दा तल्लो स्तरको खाना खुवाइयो। पानी जस्तो दाल, बेस्वादको तरकारी र बासी भात मिलाएर बनाएको  खाना दिइयो।  त्यहाँ पनि सरकारको पैसा खर्च भएको होला। खाना त राम्रै दिएको भए हुन्थ्यो नि! तर, कुरा गरी साध्य रहेन। 

त्यही दिन दिउँसो हामी जब धरान पुग्यौं, तब हामीले चैनको श्वास फेर्न पायौं। धरानको क्वारेन्टिनको व्यवस्थापन साँच्चिकै उदाहरणीय थियो। त्यहाँ सेनाका क्याप्टेन हुनुहुन्थ्यो, निकै राम्रो व्यवहार भयो। एन्फाको मैदानमा हामी बिहान दौडन्थ्यौं। खाना र खाजा समय–समयमा थियो। सरसफाइका लागि उपमहानगरका कर्मचारी खटिएका थिए। हामीलाई साबुन, टुथपेस्ट लगायतका सामग्री दिइएको थियो।

साँझ परेपछि क्याप्टेनले गीत बजाएर नाच्न लगाउनुहुन्थ्यो। हामी त्यहाँ पुगेकै दिन पीसीआर परीक्षणका लागि स्वाब संकलन भयो। २५ तारिखमा नेगेटिभ रिपोर्ट आयो। सेनाले हामीलाई सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धताका साथ घर पठायो। 

अहिले त होम क्वारेन्टिनको समयावधि समेत सकिइसकेको छ। अहिले पनि साथीभाइ भेट्दा क्वारेन्टाइन बसेर फर्किएको भनेपछि फरक व्यवहार गर्ने गरेको अनुभूति भइरहेको छ। आखिर किन यस्तो हुन्छ, किन गरिन्छ? त्यो थाहा भएन। तर, नेपालमा कोरोनाप्रति यतिधेरै घृणाभाव रहेछ कि हरकोहीले त्यो पचाउन सक्दैनन्। 

यी दुबईबाट नेपाल आउँदाका मेरा तीता अनुभवमात्रै हुन्। योभन्दा कयौं गुणा कष्ट दुबईमै रहेका दाजुभाइले भोग्नु परिरहेको छ। कति साथीहरु मानसिक रोगको शिकार बनेका छन्। उनीहरुलाई अस्पताल लगेर उपचार गर्नुपरेको छ। 

भिषा सकिएका नेपालीभन्दा भिजिटका लागि भनेर लगिएकाको कन्त विजोग छ। एजेन्टले दुबई लगेर काम खोजिदिने भनेका व्यक्तिको स्थिति एकदमै खराब भएको मैले पाएको छु।  एसओएस मेनपावरले लगेका १४ जना दाजुभाइलाई मैले समेत सेवा गरेको थिए। उनीहरुसँग न अहिले काम छ, न त खाने कुरा। १५ सय डलरको ट्राभल चेक समेत एजेन्टले राखेको रहेछ। खाना माग्दा उल्टै दुर्व्यवहार गर्ने गरेको अवस्था छ। यस्ता नेपाली धेरै छन्। उनीहरु मानसिक रोगको शिकार बनिरहेका छन्।

सरकारले अहिले २५ हजार नेपाली फिर्ता ल्याउने भनेको छ। तर, सरकारको यो नै अडान हो भने योभन्दा मानवता विरोधी कदम अर्को हुँदैन। विदेशबाट फर्कन चाहने सबैलाई सहजै फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस्। हैन २५ हजार मात्रै भनेर बस्ने हो भने विदेशमा रहेका धेरै नेपाली मानसिक रोगी हुनेछन्। उनीहरु नेपाल फर्कन चाहन्छन्, ल्याउनु सरकारको कर्तव्य हो।

तर, नेपाल ल्याइसकेपछि गरिने व्यवहार पनि राम्रो हुनुपर्छ। किनकि ती हाम्रै दाजुभाइ, दिदीबहिनी हुन्। उनीहरुले कुनै कुकर्म गरेका हैनन्, भाइरसको जोखिम मात्रै हो। भाइरस अनैतिक काम गरेर सर्ने होइन होला नि !

(सरकारको उद्दार उडानबाट नेपाल फर्किएका दाहालसँग काठमाडाैं प्रेसले गरेको कुराकानीमा आधारित।)

 Published Date: Sunday, 12th July 2020 9:06:10 am