सोमबार, मंसिर ३०, २०७६

कसरी घटाउने नवजात शिशुको मृत्युदर ?

नेपालमा हरेक वर्ष प्रसवका बेला ६ हजार तथा जन्मेको पहिलो दिन ६ हजार ५ सय नवजात शिशुको मृत्यु हुने गरेको छ।  शिशुको दुई तिहाइ मृत्यु गुणस्तरीय स्वास्थ्य सेवा अभावका कारण हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष १२ लाख शिशुले प्रसवकै बेला ज्यान गुमाउँछन्।
 
केही वर्षअघिसम्म खासगरी गाउँघर तथा दुर्गम क्षेत्रका अघिकांश महिलाले घरमै सुत्केरी गराउँथें। जसका कारण नवजात शिशुको मृत्युदर ठूलो प्रतिशतमा थियो। तर अहिले प्रसूति स्वास्थ्यमा आएको सुधारले नेपालमा करिब ६० प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेको तथ्यांकले देखाएका छन्। यति ठूलो संख्यामा अस्पतालमा सुत्केरी हुँदा पनि नवजात शिशुको मृत्युदरमा भने खासै सुधार आएको छैन। यसको प्रमुख कारण अस्पतालमा प्रवाह हुने मातृ तथा शिशु सेवाको गुणस्तरमा आवश्यक सुधारको कमी नै हो।

नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नवजात शिशु मृत्युदर प्रतिहजार १२ मा झार्ने लक्ष्य लिएको छ। यो लक्ष्यलाई आत्मसाथ गर्दै नेपाल पेरिनेटल गुणस्तरीय स्याहार सुधार परियोजनाले कसरी प्रसवको समय र जन्मेको २४ घण्टामा मर्ने शिशुको संख्यामा कमी गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुँदै एक अध्ययन गरेको थियो।

प्रसूतिका बेलाको गुणस्तरमा सुधार ल्याउँदा नवजात शिशु तथा मृतशिशु दर कम गर्न कसरी सकिन्छ भन्ने कुरालाई मध्यनजर गरी उप्सला विश्वविद्यालय स्वीडेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी नेपालका प्रादेशिक अस्पताल कर्णाली, सेती, लुम्बिनी लगायतका १२ सरकारी अस्पतालमा अध्ययन गरेको थियो। अनुसन्धानको नतिजाबाट के थाहा भएको छ भने अस्पतालमा नवजात शिशुका लागि गुणस्तरीय कृत्रिम श्वासप्रश्वास सेवा विस्तारका कारण १८ महिनाको अवधिमा प्रसव तथा प्रसूतिका बेला हुने मृतशिशुको जन्म तथा जन्मेको पहिलो दिन मर्ने शिशुको मृत्युदरमा २१ प्रतिशतले कमी आएको छ।

कुल १८ महिनाको अध्ययन अवधिमा जन्मिएका ९० हजार शिशुमा गरिएको चरणवद्ध अध्ययनले प्रसव तथा प्रसूतिका बेला हुने शिशु मृत्युदर २१ प्रतिशतले घटेको देखाएको छ। त्यस्तै, जन्मेको पहिलो हप्तामा हुने नवजात शिशु मृत्युदर ११ प्रतिशतले घटेको छ। नेपालका अस्पतालहरुमा कृत्रिम श्वासप्रश्वासमा आधारित गुणस्तर सुधार कार्यक्रम विस्तारबाट नवजात शिशुको मृत्युदरमा कमी ल्याउन सकिने अध्ययनको निष्कर्ष छ।

स्वास्थ्य संस्थाले नेतृत्व लिई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेमा तथा परिवर्तनका लागि साझा दृष्टिकोण बनाएमा शिशु मृत्युदरमा राम्रो अंकले सुधार आउन सकिन्छ। यस्तै, हरेक प्रसूति कक्षमा नवजात शिशुका लागि कृत्रिम श्वासप्रश्वास स्थापना गर्न सके र गुणस्तर सुधार प्रक्रियामा मातृ तथा नवजात शिशु स्याहार कक्षहरु सञ्चालन गर्न सके नवजात शिशु मृत्युदर घटाउन सकिने कुरा अध्ययनले देखाएको छ।

नेपालमा सन् २०१२–१३ मा उच्चस्तरीय केही सरकारी अस्पतालहरुमा गरिएको गुणस्तर सुधार अध्ययनले के देखाएको थियो भने प्रसव तथा प्रसूतिका बेलाका लागि आवश्यक गुणस्तरीय सुधार प्याकेजले प्रसवका बेलादेखि प्रसूतिका बेला हुने मृत शिशु तथा जन्मेको पहिलो दिन हुने नवजात शिशु मृत्युदरमा ५० प्रतिशतले कमी आउन सक्छ।

यो कृत्रिम श्वासप्रश्वासमा आधारित पहिलो र सबैभन्दा ठूलो मूल्यांकन अध्ययन हो। तसर्थ नेपालमा शिशु मृत्युदर घटाउन नेपाल सरकारले कृतिम श्वासप्रश्वास विधिको प्रयोग अनिवार्य गरेर सुधार गर्न सकिन्छ। यसका लागि नेपाल सरकारको नीतिगत सुधार, जनचेतना र प्रविधिमा लगानी गर्न आवश्यक छ। 

(डा. केसी उप्सला विश्वविद्यालय स्वीडेनका रिसर्च फेलो हुन्)

 Published Date: Friday, 1st November 17:26:46 PM