बिहीबार, असार १८, २०७७

‘केपी ओलीले राजनीतिक र नैतिक हैसियत दुवै गुमाइसके’

गोकुल बाँस्कोटासँग फागुन ७ गते नेपालगञ्जमा भलाकुसारी भएको थियो। पछि काठमाडौं पुग्दानपुग्दै उहाँ पूर्वसञ्चारमन्त्री भइसक्नु भएछ।

यो कुराले मुलाई खुशी बनाएको छैन तर खुच्चिङ भन्ने पक्षमा पनि छैन। म कांग्रेसको कार्यकर्ताको हो तर त्योभन्दा पहिला नेपालको नागरिक हो। त्यसरी हेर्दा म रमाउनुपर्ने अवस्था छैन। आज गोकुल बाँस्कोटाको यो प्रकरण आउँदै गर्दा हामी खुच्चिङ भन्न चाहँदैनौं।

 तर, मलाई फेरि एक पटक नेपालले अवसर गुमाउने हो कि भन्ने डर लागिरहेको छ। हामीले इतिहासमा पृथ्वीनारायण शाहका बारेमा पढ्यौं। पृथ्वीनारायण शाहको पालादेखि श्री ३ मोहन शमशेरसम्म आइपुग्दै गर्दा करिब १९० वर्षमा एकीकृत नेपाल बन्यो त्यसबाहेक राजाका नाम, उनीहरुले कतिवटी रानी विवाह गरे भन्ने याद आउँछ।

त्यो बेलाको जनताको अवस्था के थियो भन्ने कुरा नेपालको इतिहासमा कहिले पनि पढ्न पाउँदैनौं। किनकी वीपी कोइरालाको पुस्ताले नेपालमा प्रजातन्त्र बिजारोपण गर्नुभन्दा पहिला नेपालको इतिहास भनेकै शासकको इतिहास थियो। तर, त्यत्रो वर्ष राजाले शासन गरेको बेलामा हाम्रो नागरिक अधिकार खोसियो। जनताको हक र अधिकार खोसिएको बेलामा पनि बाटो, घाटो, पुल, विजुली बनाइदिएका थिए भने नेपाल आज अर्कै अवस्थामा हुन्थ्यो होला। राजनीतिक अधिकार मात्रै होइन विकासको सुरुवात समेत भएन।

२००७ सालको परिवर्तन पछि २०१५ सालमा वीपी कोइरालाको सरकार बन्यो। १९ महिनाको त्यही सरकारलाई अहिले पनि हामी नेपालको सर्वाधिक सफल सरकार भन्छौं। राजा महेन्द्रको महत्वकांक्षा नभएको भए, ३० वर्षको पञ्चायत नेपालले खेप्नु नपरेको भए नेपाल आज अर्कै ठाँउमा पुगेको हुन्थ्यो। पञ्चायतका कारण हामीले एउटा अवसर खेर फाल्यौं। २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको आफ्नै सरकार तीन वर्ष लामो समय चलाउन सकेनौं। मध्यावधी निर्वाचनमा जाने कुरा हाम्रो गल्ती थियो। तर, बहुदलीय व्यवस्था भनेकै त्यही हो हामीले गल्ती गरेकाले जनताले हामीलाई दण्डित गरे। 

गिरिजाप्रसादको ठाउँमा मनमोहन अधिकारी मन्त्री बन्नुभयो। हामी सिक्दै थियौं। त्यही बेला एकाएक माओवादी आयो। बन्दुक बोकेर यो बाटोबाट हुँदैन भनेर आयो। त्यो बेला गाउँमा कसैले चरेसको थालमा भात खायो भने सामन्ती भनेर लखेटियो। अहिले माओवादी नेताले भात खाँदैनन्, उहाँहरुले भुजा ज्यूनार गरिबक्सिन्छ। उनीहरुले गाडी चढ्दैनन्, गाडीमा सवार होइबक्सन्छ। माओवादीको ठूला नेतालाई काठमाडौंको अस्पतालमा भेटिदैन। किनभने उहाँहरु अलि आराम भएन सिंगापुर जानुहुन्छ। उहाँहरुले जनजातिका पक्षमा कति नारा घन्काउनुभयो। तर अस्ति भर्खर एक जना लिम्बु महिला सभामुख बन्लिन् भनेर केपी ओली र प्रचण्डले मुख मिलाएर अग्नि सापकोटालाई राख्नुभयो। आखिर यही गर्नु थियो भने हाम्रो १५ वर्ष खेर किन फालेको?

१७ हजार मानिस मर्ने अवस्था किन निर्माण गरेको? हाम्रो एउटा स्वर्णीम समय माओवादीका कारण गुमायौं। गिरिजाप्रसाद कोइरालाको साहसले देशको राजनीतिलाई हामीले फेरि एक पटक ठीक ठाउँमा लिएर आयौं। आखिर माओवादीलाई त्यही संसदमा आउन रहेछ। त्यो बेला हतियार किन उठाएको, मानिस किन मारेको? पाँच हजारको जिम्मा लिन्छु भनेर उम्कन पाइन्छ? सभामुख र प्रधानमन्त्री नै बन्नु थियो भने देशलाई किन बरालेको? यो सबै दुःखकाबीचमा पनि कांग्रेसले सम्हालेर लिएर आयो।

सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्ने बेलाको त्यो क्षण सम्झन्छु। संयुक्त सभा थियो सुशिल कोइराला र केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो। किनकी दुई तिहाइ बहुमत पुराए भनेर माओवादी संसदभित्र तोडफोड गरेको थियो। त्यतिबेला ओलीले कांग्रेसका नेताहरुले खुट्टा कमाएको, लुलो बनाएको भाषणा गर्नुभयो। कांग्रेसका नेता खरा हुने हो भने माओवादीलाई ठेगान लगाउने बेला यही हो भन्नुभएको थियो। 

हाम्रा रौं ठाडा भएका थिए। एकछिन पछि सुशील दाइले भन्नुभयो– हामीसँग बहुमत छ, त्यो भनेको दायित्व हुनुपनि हो। त्यसैले धेरै उत्तेजनामा आउन हुँदैन। माओवादीलाई सम्हाल्ने काम पनि हाम्रो हो। त्यो दिन ओलीले जस्तै सुशील कोइरालाले पनि बोल्नुभएको भए, आज माओवादीहरु कतै गाउँमा चन्दा उठाएको पैसा गनेर बसिरहेका हुन्थ्यें।

शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन गर्ने काम सम्पन्न नभएको भए आज संविधान बनेको तर देश असफल बनेको अवस्थामा रहने थियो। यो सबै चक्र पूरा भएपछि केपी ओली आज प्रधानमन्त्री हुनुभएको छ। नेपालको इतिहासमा यति धेरै अनुकूल अरु कुनै प्रधानमन्त्रीलाई थिएन। केन्द्र, ६ प्रदेश र चार सय स्थानीय तहमा उहाँहरुकै नेतृत्व छ। प्रतिपक्षले राम्रो गर्न सकेन भन्ने कुरा म पनि मान्छु। तर, यसले सरकारलाई के घाटा छ? सरकारलाई थप सहज अवस्था बनेको छ।

तर, यो दुई वर्षमा नेपाल कहाँ पुग्नुपर्ने हो? आज सबैले संविधान बनाएर आएका छौं। सरकारले यो काम गर्‍यो भन्ने अवस्था आउनुपर्ने हो। तीन वर्षपछि चुनाव आउँछ भन्ने बेलामा एकपछि अर्को काण्ड हुँदै गोकुल बाँस्कोटा प्रकरणसम्म आइपुगेको छ। यी अवस्था हेर्दा कतै नेपालले फेरि एकपटक अवसर गुमाउने अवस्था त आउँदैन भन्ने? लाग्न थालेको छ। नेपाल उकालो लाग्नुपर्नेमा ओरालो यात्रामा पो जाने हो कि? भनेर डर लाग्न थालेको छ।

यस्तो अवस्था किन आयो? बलियो हुँदाहुँदै पनि सरकारले भनेजस्तो काम किन गर्न सकेन? यसका पछि केही कारण छन्। यो सरकार नेकपाको हो। एमाले र माओवादीबीच पार्टी एकता देशलाई भलो हुन्छ, स्थिरता प्राप्त हुन्छ, कम्युनिष्ट आन्दोलनका बाचा पूरा गर्न सकिन्छ भनेर होइन। जम्मा एउटा कुराको हो, जब कांग्रेसले भरतपुरमा माओवादीलाई भोट हाल्ने भनेर गलत निर्णय गर्‍यो। त्यो गलत निर्णयपछि एमालेले हिसाब किताब गर्‍यो। यदी कांग्रेस र माओवादी मिलेर चुनाव लडे भने एमालेले पाउने सिट जम्मा ९। माओवादीले हिसाब गर्‍यो, कांग्रेस भन्ने पार्टी विचित्रको रहेछ।

नेताले आदेश दिइसकेपछि भोट हाल भनेर कार्यकर्ता रुखभन्दा अन्यत्र भोट हाल्दैनन्। माओवादीले कांग्रेससँग मिलेर चुनाव लडियो भने रोल्पा, रुकुममा आउला तर चितवनमा प्रचण्ड नै निर्वाचित हुने कुरामा आशंका थियो। कहिले सिंहदरबार जान पाइएला भन्ने ओली र चुनाव हारिएला भनेर डराएका पुष्पकमल दाहालले रातारात पार्टी एक बनाए। यो कसैका लागि होइन, आफ्नो स्वार्थ पूरा गर्न हो।

घ्यू बेचुवा र तरबार बेचुवाको कथा सबैले सुन्नुभएको होला। घ्यू बेच्नेले तल गोबर राखेर माथि एक तहमा घ्यू राखेको छ। तरवारबालाले तल काठमा  खापा राखेर माथि बिड राखेको छ। उनीहरुले तरवार र घ्यू साटासाट गरे। घरमा गएर दुवैले एकअर्कालाई ठगेको भन्दै खुशी व्यक्ति गरे। तरवार बेच्नेले घ्यू हेर्दा गोबर भेट्यो घ्यू बेच्नेले हेर्दा तरबारको ठाउँमा गोबर छ। कसले कसलाई ठग्यो? अहिले ठ्याक्कै नेकपाभित्र ओली र प्रचण्डको हालत घ्यू बेचुवा र तरवार बेचुवाको जस्तो बनेको छ। 

अहिले प्रचण्डले ओलीलाई देखाइदिन्छु, ओलीले प्रचण्डलाई तह लगाइदिन्छु भन्ने प्रत्येक बैठकमा देखिन्छ। नेकपाको आजको सिद्धान्त के हो? एमालेले जबजलाई आफ्नो सिद्धान्त मान्दा कत्रो रस्साकस्सी थियो। माओवादीले युद्ध सुरु गर्ने कि  नगर्ने, माओवादलाई पार्टीको निर्देशक सिद्धान्त मान्ने कि नमान्ने भन्ने कत्रो रस्सकास्सी भयो। आज पार्टी एकताको दुई वर्ष बितिसक्दा सिद्धान्त के हो भनेर हेर्दा खाली ठाउँमा लेखिएको छ– खाली ठाउँ पछि भरिनेछ भनिएको छ। यो पार्टी नै बनिनसकेकाले संख्या छ, शक्ति छ तर विचार छैन। 

अहिले नेकपाका तीन प्रवृत्ति देखिन्छ। एउटा दक्षिणपन्थी प्रवृत्ति। त्यसले जनतालाई तर्साउँछ, मनमा डर उत्पन्न गराउँछ। डर सिर्जना गर्न कुनै दुस्मन चाहिन्छ। नेकपा बनेपछि चिन्नुपर्ने अनुहार भनेको दक्षिणपन्थी अनुहार हो। गोकुल बाँस्कोटा प्रकरण पछि फेरि तर्साउनेछ। फलाना देशले हामीलाई सक्न लागेको थियो हामीले बचायौं भनेर आउनेछ। 

दोस्रो प्रवृत्तिलाई पनि हामीले चिन्नुपर्छ। कम्बोडियामा एक जना हुनसेन भन्ने प्रधानमन्त्री छन्, हाम्रा प्रधानमन्त्रीका अनन्य मित्र। उनी अहिले एसियामा सबैभन्दा लामो समय शासन गरिरहेका प्रधानमन्त्री हुन्। उनले चुनाव गरे, चुनावमा धाँधली भयो। त्यसपछि आन्दोलन भयो। आन्दोलनपछि नयाँ चुनाव गर्ने भनेर सम्झौता भयो। तर, नयाँ चुनाव गर्ने तयारी चलिरहेका समयमा प्रतिपक्षी दलका नेता विदेश घुम्न गएका बेलामा उनलाई भ्रष्टाचारको मुद्दा लगाएर देश प्रवेश गर्न दिइएन।

पार्टीले विशेष अधिवेशन गरेर नयाँ सभापति छान्यो तर सरकारले उनलाई पनि राजद्रोहको मुद्दा लगायो। त्यहाँको पत्रिकाले गलत भनेर लेख्दा कानून लगाएर थुनिदिए। पत्रिकाका मालिकलाई सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर थुनिदिए। यहाँको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकाय खडा गरेर विपक्षीका सबै नेतालाई भ्रष्टाचारको मुद्दा लगाएर थुनिदिए। 

अहिले कम्बोडियामा चुनाव भयो। प्रमुख प्रतिपक्षलाई प्रतिबन्ध लाग्यो। साना पार्टीहरु छन्। २५ दलले चुनावमा भाग लिए तर, जम्मा १२५ सिटमा सबै सत्तापक्षले नै जित्यो। संसद छ तर सबै सत्ता पक्षका मात्रै सांसद छन्। अदालत छ, तर न्यायाधीश थरथर डराउँछन्। त्यहाँ अख्तियार जस्तो निकाय छ, सरकारले भनेका मानिसलाई मुद्दा लगाउँछ। तर अरुलाई विष्णु विष्णु भनेर छोडिदिन्छ। त्यसैले पहिले पहिले तानाशाह बुट बाजारेर हतियार बोकेर आउँथे। अहिले अधिनायकवादी शासन लाद्नेहरु चुनावमार्फत आउँछन्। राष्ट्रवाद, समृद्धिको नारा रट्छन्, सत्तामा आएपछि काम गर्न सक्दैनन् र जनतालाई तर्साउँछन्। 

विस्तारै सबै संयन्त्र कब्जा गर्छन्। अहिले हरौं त नेपाल कुन बाटोमा जाँदैछ। नेपालको अख्तियार हेरौं, संसदमा ल्याएका विधेयकहरु हेरौं। अहिले सेक्युरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले मात्रै होइन प्रधानमन्त्रीमाथि पनि शंका लागेको छ भनेर कसैले फेसबुकमा लेख्यो भने प्रशासनले समाउँछ। अनि भन्छ– सूचना  प्रविधि  विधेयकको धारा ९२ अनुसार तपाईंले प्रधानमन्त्रीलाई हेप्ने कुरा गर्नुभएकाले तपाईँलाई पाँच वर्ष जेल सजाय हुनेछ। यो फैसला अदालतले होइन, सरकारले बनाएको अदालतले गर्छ। सरकारले छानेका तीन जना व्यक्तिले गर्छ। यस्तो कानून संसदमा ल्याएर पास गर्न खोजिँदैछ। तपाईंले कमाएको सम्पत्ति आफन्तलाई दिनुपरेमा यति धेरै कर लगाइने छ कि तपाईंले आफ्नो सम्पत्ति आफन्तलाई होइन सरकारलाई दिँदा सस्तो पर्नेछ। एकपछि अर्को कानून सरकारले यसरी निर्माण गर्दैछ। 

सरकारको तेस्रो प्रवृत्ति भनेको यसले तीन वर्ष सत्ता चलाउँछ। अन्तिम वर्ष गएर ज्येष्ठ नागरिकको भत्ता बढाउँछ। यसले गर्ने यत्ति हो। ज्येष्ठ नागरिकको भत्ता बढेपछि पाँच हजार पुर्‍यायो भनेर हामी ताली पड्काउँछौं। तर, भत्ता बाँड्ने पैसा कहाँबाट आयो भनेर कसैले सोध्दैनौं। गिरिजाप्रसाद कोइराला ०४८ सालमा प्रधानमन्त्री हुँदा सरकारसँग १२ अर्ब पैसा थियो। ऋण आधा थियो। तीन वर्षपछि त्यो पैसा बढेर ३६ अर्ब पुगेको थियो। त्यसपछि नै मनोमहनले ज्येष्ठ नागरिकलाई १०० रुपैयाँ भत्ता बाँड्न थाल्नुभएको हो। अब भोलि बढेर पाँच हजार पुग्ला। सरकारले नागरिकसँग कर उठाउँछ। र, त्यही करमार्फत महिनाको पाँच हजार दिन्छु भन्छ अनि हामी थपडी बजाउँछौँ र भोट पनि हाल्छौं।

नेकपाको सरकार अहिले कसले चलाएको छ भन्नेमा पनि भर पर्छ। प्रधानमन्त्री ओलीले थुप्रै कुरा भन्दा मजाक गर्नुहुन्छ, झुट बोल्नुभएको छ, ढाँट्नुभएको छ। तर यो पटक संसदमा प्रधानमन्त्रीको कुरा सुनेर भोलिपल्ट उहाँले नेपालको विकास देखेर मानिसहरु आत्तिन थालेका छन् भनेर बोल्नुभयो। प्रधानमन्त्री संसदमा भन्नुभयो–दुई खर्ब नेपालमा वैदेशिक लगानी आउँदैछ। जसले उहाँको भाषण लेखिदियो, उसले सँगै के भनेनन् भने दुई खर्बको लगानी प्रतिवद्धता त आयो। तर गएको ६ महिनामा जम्मा पैसा ६ अर्ब मात्रै आएको छ। लगानीको प्रतिवद्धता मात्रै आउँछ, पैसा आउँदैन भनेर उहाँलाई कसैले भनिदिएन। उहाँले नेपालमा एक जना पनि बेरोजगार छैनन् भन्नुभयो। 

प्रधानमन्त्रीले विश्व बैंकको एउटा तथ्यांक हेरेर भन्नुभयो– विश्व बैंकले नेपालको तारिफ गरेको छ। नेपालमा महिलाहरुका लागि सबैभन्दा राम्रो उद्यम गर्ने वातावरण छ भनेर विश्व बैंकले भनेको  बताउनुभयो। तर, भाषण लेख्नेले उहाँलाई भनिदिएन गएको एक वर्षमा नेपालमा ऋण पाउने महिलाको संख्या जम्मा १६०० मात्रै हो। प्रधानमन्त्रीले युवाले सर्टिफिकेट राखेर ऋण पाएको बताउनुभयो। तर, त्यसरी ऋण पाउनेको संख्या जम्मा ३८ हो। प्रधानमन्त्री छाती ठोकेर भन्नुहुन्छ–नेपालमा शान्ति सुरक्षाको अवस्था गज्जबको छ। तर, उहाँलाई बलात्कारको अवस्थाबारे थाहा छैन। यी सबै कारणले प्रधानमन्त्री ओलीले देशमा शासन गर्ने क्षमता गुमाउनुभएको छ। 

प्रधानमन्त्रीको कानमा कुनै पुरा पुग्दैन देशमा के भइरहेको छ भनेर। उहाँलाई के लागेको छ भने देशमा गज्जब भएको छ। योभन्दा ठूलो समस्या के हुनसक्छ। त्यसैले गोकुल बाँस्कोटाको प्रकरण पनि यही कुरासँग जोडिन्छ। उहाँले ७० करोड घुस मागेको जुन कुरा सुन्यौं, त्यो प्रकरणमा जोडिएका अर्का व्यक्तिले यो कुरा प्रधानमन्त्रीलाई दुई महिनाअघि नै थाहा भएको बताएका छन्। 

तर, दुई महिनाअघि यत्रो कुरा थाहा पाएका प्रधानमन्त्रीले काभ्रे गएर भन्नुभयो– गोकुल जस्तो प्रतिभा मेरो सरकारमा अरु कसैको छैन। त्यसैले प्रधानमन्त्रीमाथि हाम्रो प्रश्न छ– तपाईंलाई थाहा थियो। तर त्यसलाई लुकाउन लाग्नुभएकाले तपाईं यसमा संलग्न हुनुहुन्थ्यो। तपाई संलग्न भएको हुँदा गोकुल बाँस्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो। प्रधानमन्त्रीले भन्नुहोला– मलाई थाहा थिएन। तर, जो व्यक्ति प्रधानमन्त्रीको सबैभन्दा नजिक छ र प्रधानमन्त्रीकै घरमा बस्छ उसले गरेको यत्रो ठूलो घोटाला प्रधानमन्त्रीलाई थाहा छैन भने उहाँलाई थाहा चाहिँ के छ?

प्रधानमन्त्री भइराख्ने संख्याको तागत होला तर, ओलीले राजनीतिक र नैतिक  हैसियत दुवै गुमाइसक्नुभएको छ। जतिदिन उहाँ प्रधानमन्त्री हुनुहुनेछ, त्यति बढी हामीले अवसर गुमाउनुपर्नेछ। हाम्रो दायित्व सरकारले यो गरेन, त्यो गरेन भन्ने मात्रै होइन। अहिले नागरिकमा यो व्यवस्थाप्रतिको भरोसा टिकाइरहने हो। 

 Published Date: Monday, 24th February 18:08:28 PM