बुधबार, जेठ २१, २०७७

कोरोनाको असर : दैनिक ९० लाख यात्रु बोक्ने आकाश अहिले शून्य

विगतमा साधारण दिनमा प्रत्येक क्षण विश्वको आकाशमा करिब २० हजारसम्म हवाई जहाज उडिरहेका हुन्थे। प्रत्येक दिन एक लाखभन्दा बढी जहाजले उडान र अवतरण गर्थे। ती जहाजमा ९० लाखभन्दा बढी यात्रीले यात्रा गर्थे। 

विश्वको ९० प्रतिशत चिठ्ठी पार्सलहरु हवाई जहाजबाट नै ओसारपसार हुन्थ्यो। त्यसरी पठाइएका चिठी र पार्सल त्यही दिन वा भोलिपल्टसम्म संसारभर पुग्थे। संसारभर नै प्रत्येक वर्ष सालाखाला सात प्रतिशतभन्दा बढीको दरले हवाई सञ्जालमा विस्तार भइरहेको थियो। 

तर, विगत ६ महिना यता भने अवस्था फेरिएको छ। गत डिसेम्बरबाट चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना माहामारीसँगै हवाई क्षेत्र ओरालो लाग्न थाल्यो। आजका दिनसम्म आइपुग्दा थलिने अवस्थामा पुगिसकेको छ।

सधैँ आकाशमा उडिरहने संसारका ७० प्रतिशत विमानहरु अहिले पार्किङ्गमा छन्। संख्यामा गणना गर्दा झन्डै ८५०० भन्दा बढी यात्रुबाहक विमान हाल जमिनमा थन्किएका छन्। संसारमा ६ करोड ५ लाखभन्दा बढी रोजगारी हवाई सेवासँग सम्बन्धित रहेको अनुमान गरिन्छ। 

हवाई सेवा नचल्दाको मार पर्यटन क्षेत्रले भोगिरहेको छ। ट्राभल एजेन्सी, ट्रेकिङ्ग, टुरलगायत होेटल व्यवसाय धराशायी हुने निश्चित छ। सायदै यसभन्दा अघि हवाई र पर्यटन क्षेत्रले यस्तो मार खेपेका थिए। त्यसैले सन् २०२० हवाई र पर्यटन क्षेत्रका लागि कालो वर्षको रुपमा रहने निश्चित छ। वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय संस्था, अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले यस वर्ष धेरै वायुसेवा कम्पनीहरु टाट पल्टिने र बन्द हुनसक्ने आँकलन गरेको छ।

हवाई सेवा अत्याधुनिक प्रविधि, उडान सुरक्षासँग संवेदनशील र ठूलो पूँजीको आवश्यकता पर्ने व्यवसाय हो। त्यसैले जमिनमा स्थापित अन्य व्यापार व्यवसाय भन्दा यसको प्रकृति फरक छ। 

हरेक मानिसको इच्छा कामपछि आराम र फुर्सदको समयमा घुमफिर गर्ने नै हुन्छ। अहिलेको सन्दर्भमा र आउने दिनमा जरुरी कामबाहेक मानिसहरु देश बाहिर गएर घुमफिर गर्ने अवस्था छैन भन्दा फरक नपर्ने स्थिति छ। यो महाव्याधिका कारण संसारभरकै मानिसको मन डराएको छ। डराएकोे मन लिएर मानिस खुलेर घुम्न देश बाहिर जाने अवस्था सायदै रहन्छ।  

यो महाव्याधिले संसार भर आर्थिक मन्दी आउने अवस्था ट्टकारो देखिन्छ। त्यसैले तत्कालै हवाई क्षेत्र माथि उठ्न सक्ने अवस्था छैन। कोभिड–१९ महामारीको पूर्णरुपमा अन्त्य नभइकन विश्व अर्थतन्त्र पुरानो अवस्थामा फर्कन सक्ने अवस्था छैन। 

दुर्भाग्य नै भनौं, नेपाल सरकारले यो वर्षलाई भिजिट नेपाल घोषणा गरेको थियो। र, लक्ष्य थियो– २० लाख पर्यटक भित्र्याउने। तर, भ्रमण वर्ष सुरु भए लगत्तै महामारीले उग्ररुप लियो। महाव्याधिकै कारण सरकारले भिजिट नेपाल रद्द गरिसकेको छ। हवाई क्षेत्र यति धेरै संवेदनशील छ कि कोरोनाको प्रकोप फैलिएसँगै विक्री भइसकेको टिकटको पैसा फिर्ता गर्न समेत वायुसेवा कम्पनीलाई हम्मेहम्मे परिरहेको बताइन्छ। 

सामान्यतया बायुसेवा कम्पनीसँग कम्तिमा दुई महिनाको सञ्चालन खर्च सञ्चिती हुनुपर्छ। तर, हाम्रो जस्तो देशमा सानोतिनो पूँजीबाट सञ्चालित वायुसेवा कम्पनीलाई लामो समय उडाउन भर्न नपाउने स्थिति आइपरेमा पुनः सञ्चालनमा आउन कठिन हुने अवस्था आउन सक्छ। यसका लागि राज्यका तर्फबाट केही आर्थिक प्याकेज घोषणा गर्नु न्यायोचित हुनेछ। 

पछिल्लो सर्वेक्षण अनुसार हाल संसारभर हवाई सेवासँग सम्बन्धित रोजगारीमा रहेका २ करोड ५० लाख मानिसको रोजगारी जोखिममा परेको छ। अहिले नै विश्वको ६१ विलियन डलर वायुसेवा कम्पनीको नगद प्रवाह घटिसकेको छ। एसिया प्यासिफिक क्षेत्रमा मात्रै १ करोड १० लाखभन्दा बढी रोजगारी हवाई क्षेत्रसँग सम्बन्धित रहेको बताइएको छ। अघिल्लो वर्षको दाँजोमा यो वर्ष संसार भरमा २५२ विलियन डलरभन्दा बढी टिकट विक्रीबाट हुने आम्दानी घटने बताइएको छ।

नेपालको हवाई सेवा पनि महाव्याधिको असरबाट मुक्त छैन। नेपालमा हाल सञ्चालनमा रहेका नेपाल एयरलाइन्स लगायत १० वटा वायुसेवा कम्पनी र त्यत्ति नै संख्यामा दर्ता भएका हेलिकप्टर कम्पनीले यो वर्ष ठूलो आर्थिक संकटबाट गुज्रिनु  पर्ने अवस्था छ। हवाई सेवा सञ्चालन एक–अर्को देशको परिस्थितिसँग जोडिएको हुन्छ। 
नेपालबाट धेरै उडान हुने खाडी मुलुकसँगै भारत, चीन, थाइल्यान्ड, मलेसिया जस्ता देशमा उडान बन्द भएको छ। त्यसैले देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको गतिविधि शून्य प्रायः छ।

दैनिक २ करोड ६० लाखभन्दा बढी राजश्व संकलन गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विगत डेढ महिना यता सुनसान छ। केही चार्टर्ड उडान मात्र भएका छन्। गत वर्ष कुल ७२ लाखभन्दा बढी यात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा तय गरेका थिए। १ लाख ३० हजारभन्दा बढी हवाई जहाजको उडान अवतरण भएको त्रिभुवन विमानस्थलको अवस्था यो वर्ष कस्तो हुने हो? अनिश्चित नै छ। 

नेपालका वायुसेवा कम्पनी आर्थिक रुपमा त्यति सबल छैनन्। वायुसेवा कम्पनी विदेशी पर्यटकमा निर्भर छन्। विदेशीलाई हिमाल अवलोकन गराउन हुने उडानसँगै अन्य उडाउनमा समेत उनीहरुलाई डलरकै हिसाबले टिकट बेच्ने गरिन्छ। पर्यटकहरु बढेसँगै नाफा कमाउने खालका छन्। हेलिकप्टर कम्पनीको कुरा गर्दा उनीहरु त सरकार र संघसंस्थाले गर्ने चार्टर्ड तथा रेस्क्यु उडानहरु र पर्यटकीय सिजनमा हुने विदेशीको चार्टर्ड तथा रेस्क्युको भरमा नै चलेका छन्। अहिलेको अवस्थामा नेपालका हेलिकप्टर कम्पनीको व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ। अर्को महत्वपूर्ण कुरा के हो भने विश्वमा देखिँदै गएको आर्थिक मन्दीको कारण पर्यटन व्यवसाय तत्कालै सामान्य अवस्थामा फर्कने सम्भावना न्यून छ। 

कोरोना भाइरसबाट प्रभावित अमेरिकामा सबैभन्दा ठूलो घाटा हवाई सेवामा भएको बताइएको छ। धेरै ठूलो  हवाई सञ्जाल भएको अमेरिकाले हवाई सेवाको लागि ठूलो आर्थिक प्याकेजको घोषणा गर्ने भनेको छ। यस्तै, युरोपका देशहरुले समेत एयरलाइन्सलाई डुब्न नदिन विभिन्न किसिमका आर्थिक सहयोगको घोषणा गरिसकेका छन्। खाडी मुलुकका एथेष्ट पूँजी र सरकारले सहयोग गर्ने वायुसेवा कम्पनीहरु त फेरि सञ्चालन हुने नै छन्। तर, यही स्थिति लम्बिँदै जाँदा हाम्रो जस्तो देशको वायुसेवा कम्पनीहरु ठूलो आर्थिक संकटमा पर्ने पक्का जस्तै छ। 

राज्यका तर्फबाट वायुसेवा कम्पनीलाई तीन किसिमले सहयोग गर्न सकिन्छ। पहिलो, आर्थिक सहायता उपलब्ध गराएर। दोस्रो, सरकारले ऋण जमानी बसिदिएर सञ्चालनमा ल्याउन सहयोग गर्ने र तेस्रो, कर तथा शुल्कमा छुट दिएर सञ्चालन गराउने। हाम्रो सन्दर्भमा सबै वायुसेवा कम्पनीहरुसँग छलफल गरी सरकारले के कसरी सहयोग गर्ने हो? त्यसको टुंगो लाग्न जरुरी छ। यथास्थितिमा सरकारले कुनै प्रकारले पनि सहयोग नगर्ने हो भने यो विषम परिस्थितिमा वायुसेवा कम्पनीहरु बन्द हुने अवस्था आउँछ। त्यसको असर रोजगारी र पर्यटन व्यवसायमा पर्ने देखिन्छ। 

एकिन तथ्यांक नभेटिए पनि नेपालमा हाल एक लाखभन्दा बढी रोजगारी हवाई क्षेत्रले सिर्जना गरेको छ। यस महामारीले विश्वको अर्थतन्त्रको वृद्धि नै  झरेर तीन प्रतिशतमा रहने र ८० प्रतिशत दैनिक रुपमा काम गरेर गुजारा चलाउने जनसंख्यालाई गम्भिर असर पार्ने बताइएको छ। हाम्रो जस्तो भू–परिवेष्ठित मुलुक भएकाले पनि हवाई सेवाको महत्व बढी छ। पर्यटन क्षेत्रको विकास हवाई सेवाको विस्तार र सञ्चालनसँग जोडिएको छ। अहिले पनि नेपाल आउने पर्यटकमा  ७५ प्रतिशत  हवाईमार्गबाट भित्रिने गरेका छन्। 

यहाँका वायुसेवा कम्पनीलाई राज्यबाट सहयोग गर्ने सवालमा लकडाउन अवधिमा सरकारलाई तिनुपर्ने कर मिनाह गरिदिने उपयुक्त विकल्प हो। सञ्चालनमा आएपछि पनि परिस्थिति सामान्य नहँुदासम्म करमा छुट दिन सकिन्छ। आर्थिक नगद प्रवाहको कमी भएर सञ्चालन नै हुन नसकेको वास्तविकताका आधारमा ऋण उपलब्ध गराउन सकिन्छ। विमान कम्पनीको उडान सुरक्षा महत्वपूर्ण र संवेदनशील विषय भएकाले जमिनमा रहिरहे पनि तालिका अनुसार विमानको नियमित मर्मत सम्भारमा गरिरहनु पर्ने र यसका लागि पनि ठूलै खर्च गर्नु पर्ने भइरहन्छ। 

हवाई सेवा देशको आर्थिक गतिविधि र जनताको जीवनस्तरसँगै विस्तार हुँदै जाने व्यवसाय हो। तर पनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले ५० औँ वर्ष विताइसक्दा पनि त्यत्ति प्रगति गर्न सकेको छैन।   महामारी पश्चात विश्वका वायुसेवा कम्पनी नयाँ ढाँचा र शैलीबाट अधिकतम लाभका लागि सेवा सञ्चालनको तयारीमा छन्। वायुसेवा कम्पनीहरुले कोड शेयरिङ र महामारीसँग बच्दै यात्रु ओसारपसार गर्न नयाँ प्रविधि लगायत भिसा र  इमिग्रेसन प्रक्रियामा पनि नयाँ प्रविधि र सबै यात्रुको स्वास्थ्य जाँचको व्यवस्था गर्नु पर्ने भएको र यसका लागि अतिरिक्त खर्चको व्यवस्थापन  गर्नु पर्ने अवस्था आएको छ। 

हवाई सेवा सञ्चालन भएपछि पनि अहिलेको अवस्थामा यात्रुको कमी हुन सक्ने र खाली नै गन्तव्यमा उडान भर्नुपर्ने अवस्थामा वायुसेवाहू लगातार घाटामा जान सक्छन्। अन्य व्यवसायको तुलनामा सञ्चालन खर्च बढी हुने यस व्यवसायमा मुनाफा कमाउन कुशल व्यवस्थाको आवश्यकता पर्छ। नेपाल जस्तो हवाई सेवाको लागि इन्धन लगायत सञ्चालन खर्च महँगो हुने देशका लागि त यो व्यवसाय आफैँमा बढी जोखिमको व्यवसाय हो। हवाई सेवालाई चाहिने दक्ष पाइलट र इञ्जिनीयर समेत पर्याप्त नभई बाहिर देशबाट ल्याएर चलाउनु पर्ने हाम्रोमा हवाई सेवाको समयानुसार विकास हुन सकेको छैन। 

विकास र प्रविधिमा निकै द्रूत रुपमा फड्को मारिरहेको विश्वका मानिसहरुलाई हाल स्वास्थ्य र जीवन रक्षासँग धावा बोलिरहेको महामारीबाट सिर्जित विषम परिस्थितिको  समयमा आर्थिक सहायताका लागि अरु देशको आश गरेर केही हात लाग्ने वाला छैन। यस्तो अवस्थामा सहयोग माग्दा आफ्नोे निरीहपन देखाउनु मात्रै पनि हुनसक्छ। आफ्नै खुट्टामा उभिने देशमात्र स्वाभिमानी र मजवुत हुन्छ। अन्ततः कालो रातपछि विहानी सूर्याेदयको निश्चितता जस्तै हरेस खानु उचित होइन।  यो विषम परिस्थितिलाई पार लगाएर विश्व फेरि उठ्ने छ। 

(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक हुन्।)    

 Published Date: Sunday, 10th May 12:03:58 PM