मंगलबार, साउन २७, २०७७

विश्वले भोगेका महामारी र कोरोनाले फेर्न सक्ने विश्व प्रणाली

गएको डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) माहामरी यतिबेला पूर्ण रूपमा विश्वव्यापी भइसकेको छ। यो आलेख लेखिरहँदासम्म कोरोना आतंक विश्वको सम्भवत, सबै देशमा फैलिसकेको छ भने तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। 

संसारका चलायमान सहरहरू कोरोना संक्रमणको बढ्दो त्रासका कारण सुनसान छन् । गतिशील जीवन बाँचिरहेका मानिसहरू सम्भवतः शताब्दीकै लामो बन्दाबन्दीमा परेका छन्। राजनीतिक नेतृत्वहरू राज्य सञ्चालनको कठिन घडीमा छन्।  कोरोना माहामरीले मूलतः पुँजीवादी अर्थव्यवस्था, व्यक्तिवादी समाज व्यवस्था, स्वतन्त्र एवं मानवतावादी भनिएको राज्य व्यवस्था र उपभोक्तावादी स्वास्थ्य व्यवस्थाको सातो खाइदिएको छ। जबरजस्त बौद्धिक बहसको ढोका पनि खोलिदिएको छ। 

विश्व मानव इतिहासमा यस्तो महामारी भने अहिले मात्र पक्कै भएको होइन। यसअघि पनि मानवजातीले यस्ता कैयौं डरलाग्दा प्रकोप र महामारी ब्यहोर्नु परेको घटनाहरू इतिहासमा प्रशस्तै भेटिन्छन्। मानवजातीको विकाससँगै बेलाबेलामा घटित यस्ता प्रकोप र महामारीका कारण आजको विश्वले अपार क्षति व्यहोर्नुका साथै महामारीकै कारण ठूूला राजनीतिक तथा सामाजिक परिवर्तनहरू पनि भोगेको थियो। गएको ६ महिनादेखि निरन्तर चलिरहेको कोरोना माहामरीले पनि विश्वस्तरमै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तन ल्याउने कुरा लगभग पक्का छ। 

युरोपको ‘ब्ल्याक डेथ’ महामारी

युरोपको ‘ब्ल्याक डेथ’ महामारी

एकातिर, अब उपरान्त पुँजीवादी अर्थ व्यवस्थाको कुनै औचित्य रहने छैन भन्ने वहश सुरु भएको छ। अर्कोतिर नौलो खालको आर्थिक प्रणालीको विकास हुनेछ भन्ने अनुमान विश्वभरिका अर्थशास्त्रीहरूले लगाइरहेका छन्। कोरोनाले विद्यमान अन्तर्राष्ट्रिय  राजनीतिक शक्ती सन्तुलनमा पनि ठुलै फेरबदल आउनेमा राजनीतिशास्त्रीहरूले तर्क गर्न थालेका छन्।  

इतिहासदेखि हालसम्म हेर्ने हो भने लगभग दुई दर्जन जति भयानक प्रकोप र महामारी मानवजातीले सामना गरिसकेको देखिन्छ। आजभन्दा करिब ५ हजार वर्ष पहिले इसापूर्वको ३ हजारतिर आजको जस्तै महामारीले तत्कालीन चीनको एउटा गाउँ नै पूर्णरूपमा सखाप पारिदिएको रहेछ। पुरात्वतिक महत्वका साथ आजसम्म सुरक्षित राखिएको उक्त ठाउँलाई अहिले हामिन मांघ भनिन्छ। जुन हालको उत्तरी चीनमा पर्छ। मनावशास्त्रीहरूका अनुसार यो माहामारीले उक्त गाउँको कुनै पनि उमेर समूहलाई संक्रमणबाट छोडेको थिएन। महामारी यति द्रूत गतिमा फैलिएको थियो कि संक्रमणबाट मृत्यु भएकाहरूको मृत्यु कर्म गर्न सक्ने अवस्थासम्म थिएन। 

त्यसैगरी, एथेन्स र स्पार्टाको युद्धभन्दा केहीपछि मात्रै इसापूर्वको ४३० ताका ग्रिकको एथेन्समा प्लेगको प्रकोप चलेको थियो। पेलोपोनिसियन युद्धको बेलामा सुरु भएको उक्त महामारी ५ वर्षसम्म चलेको थियो। जसले तत्कालीन एथेन्सका १ लाख मानिसको ज्यान लिएको थियो। रिचार्ड क्राउलीको पुस्तक, ‘द हिस्ट्री अफ पेलोपोनिसियन वार’ मा एथेन्स प्लेग महामारीबारे ग्रिक इतिहासकार थुसिडाइडले लेखेका थिए, ‘राम्रो स्वास्थ्य भएका मानिसहरू प्रायः सबैलाई एक्कासी यो महामारीले आक्रमण गर्‍यो। आँखाको तल्लो भाग रातो हुने, दुख्ने अनि सासै फेर्न नसकेर मानिसहरू एकाएक मरे।’ 

भनिन्छ, युद्धका कारणले भएको अत्याधिक मानवीय चाप र ठुलो परिमाणका युद्ध सामग्रीका कारण यो महामारी फैलिएको थियो। उता, सन् १६५ देखि १८० सम्म चलेको एन्टोनाइन प्लेगलाई  रोमन साम्राज्यको पतनको एउटा महत्वपूर्ण कारणका रूपमा लिने गरिन्छ। 

एन्टोनाइन प्लेगले तत्कालिन मार्कसको रोम साम्राज्यको ५० लाख मानिसको ज्यान लिएको अनुमान गरिन्छ। जहाँ एकै दिनमा २ हजारसम्म मानिसहरू मरेका थिए। यो महामारीको वास्तविक कारण आजसम्म कसैले भन्न नसके पनि महामारी रोम आइपुग्नुको कारणका रूपमा रोमन सेना र व्यापारीहरूलाई लिने गरिन्छ। जो एसियालगायतका महादेशबाट रोम फर्किएका थिए। 

प्लेग महामारीका बेलाको पाकिस्तानको कराँचीको क्वारेन्टाईन सेन्टर

प्लेग महामारीका बेलाको पाकिस्तानको कराँचीको क्वारेन्टाईन सेन्टर

लन्डनबाट प्रकाशित हुने ‘हिस्ट्री टुडे’ म्यागाजिनले सन् १३४६ देखि १३५३ सम्म चलेको ‘ब्ल्याक डेथ’ महामारीलाई आजसम्मकै सबैभन्दा भयानक मानवीय विपत्ती भनेर उल्लेख गरेको छ। जस्टिनाइन प्लेग (सन् ५४१÷४२) जस्तै ब्ल्याक डेथ प्लेगलाई पनि बुबोनिक प्लेगकै श्रृखलाको रूपमा लिने गरिन्छ। यो महामारीलाई मध्य युगबाट आधुनिक युगतर्फ समाज अघि बढ्दै गर्दा भएको एउटा ठुलो प्राकृतिक विपत्तीका रूपमा बुझ्ने गरिन्छ। जसले मध्ययुगीन समाजका केही प्रमुख विशेषताहरूलाई सदाका लागि ध्वस्त परेको थियो। 

केही अध्यनहरूका अनुसार, एसियादेखि युरोपसम्म फैलिएको यस महामारीले तत्कालिन युरोपको लगभग आधा जनसंख्या नै सखाप पारेको थियो । महामारीको अवस्था यति भयानक थियो कि मृत्यु हुनेहरूको संख्या अधिक भएका कारण मर्ने सबैको एकै ठाउँमा दाहासंस्कार गर्नुपरेको थियो । यो महामारीले सिंगो युरोपको ऐतिहासिक मोडलाई नै परिवर्तन गरेको वैज्ञानिकहरुको तर्क छ । 

युरोपको ब्ल्याक डेथ महामारीबाट  मृत्युका कारण जनसंख्यामा ह्रास हुँदा श्रम बजारमा व्यापक श्रमिकहरूको कमी भएको थियो । जसका कारण युरोपको विद्यमान दास प्रथा नै समाप्त भएको मानिन्छ । महामारीपछि श्रमिकहरूले राम्रो खाना, मासु र श्रमको उचित पारिश्रमिक पाउन थालेका थिए। अर्को महत्वपूर्ण कुरा के छ भने, ब्ल्याक डेथ प्लेगको महामारीपछि श्रम बजार महँगो भएको कारण विश्वले प्रविधिको विकासमा लामै फड्को मारेको मानिन्छ।

सन् १९१८ देखि १९२० सम्म महामारीको रूप लिएको एच–१ एन–१ फ्लू पृथ्वीको  दक्षिण समुद्रदेखि उत्तरी ध्रुवसम्म फैलिएको थियो। संसारका लगभग ५ करोड मानिसलाई संक्रमित बनाएको यो फ्लूले संसारभरबाट २ करोड मानिसको ज्यान लिएको अनुमान गरिन्छ। इतिहासमा स्पेनिस फ्लू पनि भनेर चिनिने यो महामारीले युरोपका धेरै आदिवासीहरूको ज्यान लिएको थियो। केही आदिवासीहरू पूर्णरूपमै सखाप भएका थिए। १९१८ को एच–१ एन–१ फ्लू पनि भनेर चिनिने यो महामारीको मुख्य कारण पहिलो विश्वयुद्धका सैनिकहरूको बिग्रेको स्वास्थ्य र युद्धका कारण वातावरणमा परेको असरलाई लिइन्छ। 

स्पेनिस फ्लू भनेर चिनिने गरेको भए पनि यो महामारी स्पेनबाट सुरु भएको भने थिएन । पहिलो विश्वयुद्धमा स्पेनले युद्ध तटस्थ नीति अवलम्बन गरेको थियो तसर्थ अरू युद्धरत युरोपेली राष्ट्रले जस्तो स्पेनले महामारीको यथार्थ विवरण र संक्रमणको अवस्था लुकाएन। सट्टामा बरु महामारीको यथार्थ विवरण र संक्रमणको अवस्था निरन्तर सार्वजानिक गरिरह्यो। जुन यस महामारीकै सुरुवाती खबर बन्न पुग्यो। त्यसैका आधारमा यो फ्लूलाई स्पेनिस फ्लू नामकरण गरियो । जसरी अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दैछन् र षडयन्त्रको सिद्धान्तको उपयोग गर्दैछन्, त्यसैगरी सन् १९१८ को फ्लूलाई पनि युद्ध रणनीतिका कारण भू–राजनीतिक मारमा पारिएको थियो। 
 
जसले गर्दा इतिहासमा यो महामारी स्पेनिस फ्लूको नाममा दर्ज हुन पुगेको हो। सन् १९५७–१९५८ को एसियन फ्लू पनि आजको चीनबाटै सुरु भएको थियो। यो महामारीले ५ लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो। संयुक्त राज्य अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो फ्लू अति नै द्रुत गतिमा फैलिएको थियो। सन् १९५७ को फ्रेबु्रअरीमा सिंगापुरमा फैलिएको यो फ्लू १९५७ कै अप्रिलमा हङकङमा फैलिएको थियो भने त्यसै वर्षको गृष्म ऋतुमा संयुक्त राज्य अमेरिकाको तटीय सहरहरूमा फैलिएको थियो। एसियन फ्लूका कारण १५ लाखभन्दा बढी मानिसको ज्यान गएको थियो जसमा १ लाख ६० हजार मानिस अमेरिकाका मात्रै थिए।    

अहिले विश्वले भोगिरहेको कोरोना भाइरस (कोभिड १९) भन्दा अगाडि स्वाइन फ्लु नै पछिल्लो महामारी हो। जसले विश्वभरका २१ प्रतिशत मानिसलाई संक्रमित बनाएको थियो। त्यसैगरी, पहिलो पटक यो महामारीले यसको केन्द्र मेक्सिकोलाई बनाएको थियो। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार एकै वर्षमा यो महामारीले विश्वका १ करोड ४० लाख मानिसलाई संक्रमित बनाएको थियो। स्वाइन फ्लूका कारण विश्वभरबाट १ लाख ६० हजारदेखि ५ लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिन्छ। 

यो महामारीले विशेषगरी बालबालिका र युवालाई संक्रमणमा पारेको थियो भने ८० प्रतिशत मृत्यु ६५ वर्षभन्दा कम उमेर समूहका मानिसहरूको भएको थियो। सामान्यतया, फ्लू ६५ वर्षभन्दा माथि उमेर समूहका मानिस बढी पीडित हुने गर्छन्।   

माथि चर्चा गरेका प्रकोप र महामारीलगायत विश्वले यस्ता अरू धेरै प्रकोप र माहामरी भोगिसकेको छ। मानव सभ्यतालाई नै थर्कमान बनाउने यस्ता प्रकोप र महामारीले यो विश्वको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई आंशिक या पूर्णरूपमा बदलिदिएको छ।

इतिहासमा बारम्बार भइरहेका यस्ता प्रकोप र महामारीले हामीलाई के सिकायो? हाम्रो स्वास्थ्य विज्ञानलाई कति परिपक्व बनायो या भनौं सम्भावित यस्ता महामारीबाट यो विश्वलाई बचाउन हामीले के गर्‍यौं ? प्रश्नहरू जटिल छन्। 

अमेरिकास्थित सिकागो विश्वविद्यालयका प्रख्यात इतिहासकार विलियम म्याकनेइलले सन् १९७५ मा आफ्नो दोस्रो पुस्तकका रूपमा ‘प्लेग एन्ड पिपुल’ प्रकाशित गरे। आज पनि उक्त पुस्तक पढ्दा महामारीले मानवजातीलाई भविष्यमा पु¥याउन सक्ने डरलाग्दो अवस्थाको अनुमान लगाउन सकिन्छ। 

उक्त पुस्तकमा म्याकनिइलले उठान गरेका प्रश्नहरू उत्तिकै सत्य र भयानक लाग्छ। आफ्नो पुस्तक प्लेग एन्ड पिपुलका अन्तिम पृष्ठहरूमा आफ्नो अनुसन्धानको सारांशमा म्याकनेइल लेख्छन्, ‘बीसौँ शताब्दीको औषधि विज्ञानले सशक्त रूपमा बिफर, ठेउला, दादुरा र पोलियोजस्ता भयानक रोगहरू उन्मूलन गरे पनि विश्व राजनीतिक नेतृत्वको आफ्नो क्षमतामाथिको घमण्ड र त्यो नै महामारीविरुद्ध अन्तिम युद्ध हो भन्ने बुझाइका कारण धेरै हदसम्म वातावरण विनाशलाई प्रश्रय दियो, जसका कारण विश्वले आगामी दिनमा धेरै गुमाउनुपर्ने छ ।’ 

पाठकहरूलाई सावधान बनाउँदै उनी अगाडि लेख्छन्, ‘मानव सभ्यताको उत्पतीसँगै उत्पन्न भएको सरुवा रोगहरूको महामारी मानव सभ्यता रहेसम्म रहनेछ। तसर्थ, हामी मानव सभ्यता बचाइराख्न चाहन्छौँ भने भाइरसविरुद्ध खोपहरूको निरन्तर अनुसन्धान गरी आम रूपमा सहज उपलब्ध बनाउन सक्नुपर्छ।’

म्याकनेइलको यस पुस्तकलाई त्यस्तो गैरआख्यान पुस्तकका रूपमा लिइन्छ जसले सरुवा रोगका महामारीहरूलाई कुनै पनि बेला विश्व इतिहास परिवर्तन गर्न सक्ने एउटा प्रमुख कारणका रूपमा औँल्याएका छन्। म्याकनेइलअघिका धेरै पश्चिमी सभ्यताका इतिहासकारहरू सभ्यताको उत्पत्ती र पतनलाई राजनीतिक–सामाजिक आन्दोलन र ग्रेट म्यान सिद्धान्तलाई प्रमुख मान्थे। प्रकोप र महामरीहरूलाई युद्ध र चामत्कारिक राजनीतिक नेतृत्वभन्दा कम महत्व दिने गर्थे। तर, म्याकनेइलको पुस्तक ‘प्लेग एन्ड पिपुल’को प्रकाशनपछि सभ्यता परिवर्तनलाई हेर्ने नजरियामा ठूलै परिवर्तन आएको थियो। महामारीले मानव सभ्यतामा पार्न सक्ने दूरगामी खतराको मिहिन ढङ्गले अध्ययन गरेर डरलाग्दो भविष्यप्रति संकेत गरेका म्याकनेइल आफ्नो अर्को पुस्तक ‘द राइज अफ वेस्ट’मा भने मानवजातिको विषम परिस्थितिमा पनि परिस्थितिलाई ग्रहण गर्नसक्ने क्षमताका कारण आशावादी देखिन्छन्। उनी भन्छन्, ‘मानव बुद्धिले इतिहासमा बारम्बार यस्ता महामारी र विपत्तीहरूलाई जित्न सक्ने क्षमता देखाएको छ।’

कोरोना भाइरस (कोभिड १९) को कारण यतिबेला विश्व आक्रान्त छ। मानिसहरू दैनिक जीवनका क्रियाकलापबाट वञ्चित छन्। सार्वजानिक जीवन सामाजिक दूरीसँगै टिठलाग्दो एकान्तवासमा थुनिन पुगेको छ। आर्थिक रूपमा शक्तिशाली राज्यहरूको पनि स्वास्थ्य प्रणालीको कमीकमजोरी छताछुल्ल भएको छ। 

आधुनिक राज्य प्रणालीले स्थापित गरेको राज्य र नागरिकबीचको सामाजिक सम्झौता कठोर शंकाको घेराभित्र परेको छ। सहर र मानिसहरू मात्र हैन, संसारका सबै सरकार र तिनका स्वास्थ्य प्रणाली पनि बन्दाबन्दीमा परेका छन्। कोरोना संक्रमण फैलन नदिन भन्दै नेपाल सरकारले पनि गत चैत ११ बाट देशव्यापी रूपमा बन्दाबन्दी जारी राखेको छ। अब त, कोरोना भाइरसको मात्र हैन स्थिती सामान्य हुँदै गएपछि विश्व मानव समाजले भोग्नुपर्ने सम्भावित आर्थिक–सामाजिक मन्दी र राजनीतिक विसंगतीको चिन्ता पनि बढ्दो छ। आशा गरौं, प्रख्यात इतिहासकार विलियम म्याकनेइलले शताब्दी अघि भनेझैँ आजको हाम्रो मानव बुद्धिले चाँडै नै कोरोना भाइरस (कोभिड १९) महामारीबाट मुक्ति पाउनेछ। कोरोनापछि विश्वले अझ बढी समृद्ध र शान्त मानव समाज स्थापित गर्नेछ, यदी यसबाट हामीले पाठ सिक्न सक्यौ भने।

(लेखक त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्छन)

 Published Date: Friday, 22nd May 09:40:16 AM