सोमबार, असार २२, २०७७

‘कुनै धर्मको विरोध गरेर कसैको मन नदुखाऔँ’

संसदमा धर्मका विषयमा बेला–बेलामा विभिन्न अभिव्यक्ति आउँछन्।  आमसर्वसाधारण नागरिकको मत प्राप्त गरेर सदनमा प्रतिनिधित्व गर्ने हामी निर्वाचित जनप्रतिनिधि हौं।

हामीले मतदानमा प्राप्त गरेको मतका आधारमा हामी निर्वाचित हुन्छौं। त्यो मतदान गर्ने व्यक्तिहरु विभिन्न धर्म र सम्प्रदायका हुन्। हामी कहाँ सबैभन्दा धेरै करिब दुई करोड हिन्दू जनसंख्या छ। बौद्ध, क्रिश्चियन, मुस्लिम, किराँत र अन्य धर्म मान्नेहरु पनि छन्। त्यसैले हाम्रो मुलुकलाई विभिन्न धर्म, सम्प्रदायको साझा फूलबारी भनिन्छ। र, यही संस्कृति नै सबैभन्दा ठूलो सम्पत्ति हो। प्राकृतिक हिसाबले जसरी हामी धनी छौं। त्यसैगरी हामी धार्मिक हिसाबले पनि सबै धार्मिक सम्प्रदायबीचमा सहिसुष्णताले पनि धनी छौं।

हिमालको देश, बुद्ध र सीता माताको देश हो नेपाल। त्यसैले सदनभित्र विषेशगरी केही धर्म सम्प्रदायका कुरा होलान्। ती कुरालाई लिएर आवाज उठाउँदा त्यो धर्मका व्यक्तिहरुलाई कहीँ न कहीँ ठेस पुगेको हुन्छ। त्यसैले त्यस्ता अभिव्यक्ति सदनमा दिनुहुँदैन। हाम्रा लागि सबै धर्म समान छन् र सबैको सम्मान गर्नुपर्छ। जुन धर्म हामीले मानेका छौं, त्यो धर्मप्रति हाम्रो आस्था र विश्वास अटल रुपले रहन्छ। 

कसैले हाम्रो संविधान च्यात्नुपर्छ। जलाइनुपर्छ। यो संविधान मान्दैनौं भन्यो भने कानूनी उपचार राज्यले खोज्छ। किनभने देशको संविधान मान्नु प्रत्येक नागरिकको दायित्व हो। मान्छेले जुन धर्म मानेपनि ऊ देशको नागरिक हो। धर्मका पनि केही कानून, सिद्धान्त र आदर्शहरु छन्।

एउटा धर्म मान्ने व्यक्तिले एक पटक एउटा मन्दिरमा, मस्जिदमा पूजा गर्न थाल्यो। २० वर्ष लगातार उसले पूजा तपस्या गर्‍यो, नमाज पढ्यो। २० वर्षपछि एकैचोटी आवाज आयो। भगवानले भने–ए तेरो कुनै पनि पूजा सुनेको छैन र मानेको पनि छैन। सबै जना आश्चर्यचकित बने। ओहो! २० वर्षसम्म पूजा गर्दा पनि भगवानले किन स्वीकार गरेनन् भन्ने पर्‍यो।

तर, त्यो व्यक्ति अत्यन्त हर्षित बनेर नाच्न थाल्यो। सबैले भने–यो बौलायो। तर उसले भन्यो–हैन मेरो प्रार्थना भगवानले कबुल गरेकी गरेनन्, त्यो आफ्नो ठाउँमा  छ। तर, उनले २० वर्ष मलाई हेरिरहे। त्यो नै मेरा लागि गर्वको विषय हो भन्यो। त्यसैले मान्छेहरु धर्मप्रति उत्साही हुन्छन्। धर्म नमान्ने मान्छेहरुको पनि हामीले सम्मान गर्नुपर्छ। धर्म मान्ने मान्छेहरुका कुरालाई लिएर कसैले हिन्दू धर्म ग्रन्थका पाना च्यात्नुपर्छ भन्नु हुँदैन। हिन्दू धर्मका ग्रन्थ धेरै छन्। चाहे रामायण होस् वा  गीता होस् वा स्वस्थानी होस्। 

भोलिका दिनमा मुस्लिमका कुरा आउँलान्, कुरानमाथि आक्रमण होला। भोलि  बुद्धिष्टको त्रिपिटक, क्रिश्चियनको बाइबलमाथि प्रश्न उठ्ला। पुस्तक च्यात्ने भन्दै हिड्न मिल्छ? धर्म र तीनका ग्रन्थमा कसैले आक्रमण गर्‍यो भने तीनका विरुद्धमा हामीले सदनमा सशक्त रुपमा एक ठाँउमा उभिनु पर्छ। देशलाई विभाजित गर्न र विभिन्न किसिमका द्वन्द्वमा फसाउने कुरा आएमा एक ठाँउमा उभिनुपर्छ। 

हामीहरुले नै धर्मका विषयमा अर्नगल प्रचार गर्न थाल्यौं, धर्मग्रन्थमाथि भेदवावका कुरा गर्न थाल्यौं भने समाज विकृत भएर जान्छ। हामी समाजलाई जोड्न आएका हौं, तोड्न होइन। यो मुल सिद्धान्त विपरीत विभिन्न समयमा विभिन्न कुराहरु गरियो। एक जना माननीयले संसदमा स्वास्थानीको पाना च्यात्ने कुरा उठाउनुभयो। यो गलत हो। 

हालै सप्तरीमा मुस्लिमको ठूलो सम्मेलन भयो। त्यो सम्मेलनमा सबै धर्मका व्यक्तिहरुलाई सुस्वास्थ्यको कामना गरियो। मुस्लिम समुदायले पनि हिन्दूु, बुद्धिष्ट, क्रिश्चियन सबैको दीर्घायु, राष्ट्रिय अखण्डता, समृद्धिका लागि अल्लाहसँग दुवा मागे। त्यही नै हाम्रो समृद्धि हो। सदनमा कुनै धर्मको विरोध हुँदा मलाई खल्लो लाग्यो। म मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्छु। तर, मेरा मतदाता पनि विभिन्न धर्मका छन्। त्यसैले सबैको सम्मान गर्ने थलोमा कसैमाथि अपमान हुनुहुँदैन भन्ने मूल मान्यता मेरो छ।  

हामी कुनै दुर्घटनामा पर्‍यौं भने सबैभन्दा पहिला मानिसलाई रगतको आवश्यकता पर्छ। हामी तत्कालै ब्लड बैंक जान्छौं। र, ब्लड ग्रुप अनुसारको रगत माग्छौं। कहिले कसैले पनि भन्दैन कि म मुस्लिम हो, मलाई मुस्लिमकै रगत दिनुहोस्। हिन्दूभित्रै कोही ब्राह्मण, जनजाति वा दलित छ भने मेरो जातकै रगत चाहियो कसैले भन्दैन। जुन धर्म मानेपनि यदी ग्रुप मिल्छ भने मात्र हामीले रगत दिन सक्छौं नभए दिन सक्दैनौं। त्यसैले हामीमाथि उठ्न सक्नुपर्छ।

हिन्दू–हिन्दूु एकातिर, मुस्लिम–मुस्लिम एकतिर भन्नु हुँदैन। सबै नेपालका नागरिक हौं। त्यसैले कोही हिन्दू साथीलाई केही कुरामा दुःख पर्‍यो भने मुस्लिमले आँशु बगाउन सक्नुपर्छ। मुस्लिमलाई पर्दा हिन्दूले आँशु पुछ्न सक्नुपर्छ। 

धर्म मान्ने मान्छेले इश्वरीय शक्तिमा विश्वास गर्नुपर्छ। धर्म नमान्नेले नगर्न पनि सक्छ। सबैको आ–आफ्नो स्वतन्त्रतता छ। धर्मबारेमा अफवाह फैलाउन हामी लाग्नु हुँदैन। फेरि सबै धर्मको निचोड र सार हेर्ने हो भने सत्यको मार्गमा हिँड, दुःखी गरिबलाई सहयोग गर, ठूलालाई सम्मान र सानालाई माया गर भन्ने नै हो। त्यसैले हामी एकअर्कालाई होच्याउन किन लाग्ने?

कसैलाई सानो बनाएर आफू ठूलो हुने जुन सोच छ–त्यसलाई अन्त्य गर्नुपर्छ। हामी सबैले एकअर्काको चाडमा रमाउन सक्नुपर्छ। तबमात्रै हामी समृद्ध हुन सक्छौं। सामान्य द्वन्द्वले गर्दा देशले सामाजिक, आर्थिक समृद्धि हासिल गर्न सक्दैन। त्यसकारण समाजलाई एकतावद्ध बनाउन हामीले प्रयास गर्नुपर्छ। 

अहिले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको छ। पैसामात्रै हो त? यदी पैसा मात्रै समृद्धि हो भने सबैका बैंक एकाउन्टमा पैसा पठाइदिए भइहाल्यो। सबै धनी भइहाल्छन् नी। देशको बजेट भाग गरेर पठाइदिए भइहाल्यो।  त्यसो होइन। हाम्रो समृद्धि भनेको हाम्रो अनुकलताका आधारमा हुनुपर्छ। हामी प्राकृतिक स्रोतमा धनी छौं, त्यसलाई कसरी उपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ।  विभिन्न धर्म संस्कृतिका बीचमा अपासमा समन्वय र भाइचाराको व्यवहारलाई अघि बढाएर कसरी अघि बढ्न सक्छौं भनेर सोच्नुपर्छ। 

यदी धर्ममाथि आक्रमण भयो भने मलाई लाग्छ हामी कहीँ न कहीँ द्वन्द्वमा फस्न सक्छौं। त्यसैले द्वन्द्वबाट टाढा रहन सबैभन्दा सहज र सरल उपाय भनेको हामीले जुन धर्म मान्छौं त्यसमा विश्वास राखेर अरु धर्मको सम्मानको भाव राखेर अघि बढ्नुपर्छ।

(कांग्रेस सांसद मुसलमानसँग गरिएको कुराकानीमा आधारित )

 Published Date: Saturday, 22nd February 15:49:13 PM