सोमबार, जेठ १९, २०७७

बारीबाट सिधैँ उपभोक्ताका घरमै ताजा तरकारी पुर्‍याउँछन् भक्तपुर युवा

काठमाडौं, चैत २२ : बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति सिर्जना हुन थालेपछि भक्तपुरका युवाहरुले उपभोक्ताका घर–घरमा तरकारी पुर्‍याउन सुरु गरेका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने अवस्था सिर्जना भएपछि युवाहरुले किसानका बारीबाट सिधैँ उपभोक्ताको घरमा तरकारी पुर्‍याउन सुरु गरेका हुन्।  

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्‍याउने काममा व्यस्त छन्। उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गएर तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर–घरमा पुर्‍याउने कामकै चटारो छ।

आफूहरुले टोल–टोल पुगेर विक्री गर्ने तरकारी बजार मूल्यभन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ। तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाएर हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरी सिधैँ उपभोक्ताको घरमा पुर्‍याउने गरेको बताउँछन्।

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्ता तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका छन्। अहिले चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुर्‍याउने गरिएको छ।

लकडाउनको निर्णयसँगै किसानको तरकारी बारीमा नै कुहिने, उपभोक्ताले खान नपाउने परिस्थिति उत्पन्न भएपछि बारीबाट सिधैँ उपभोक्ता समक्ष पुर्‍याउने अवधारणा विकास भएको अर्का अगुवा कृषक कुलबहादुर नेमाफुकीले बताए।

तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसँगको समन्वयमा टोलटोलमा पुग्छ। त्यसपछि एक–एक मिटरको दूरमिा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ। 

अर्का कृषक प्रेमनारायण अधिकारीले टोलटोलमा तरकारी पुर्‍याउने कामले किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यबीचको अन्तरलाई कम गर्नुका साथै दुवै पक्षलाई फाइदा पुगेको बताए।

तरकारी टोल टोलमा पुर्‍याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरका रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताका हातहातमा तरकारी पुर्‍याउने काममा जुटेको बताए।

कोरोना भाइरसको संक्रमणको त्रास सर्वत्र भइरहेका बेला अन्य कर्मचारी राख्दा आउन सक्ने समस्या र टिकाटिप्पणीका कारण संस्थाका अध्यक्षदेखि पदाधिकारीहरु आफैँ यो काममा खटिएको उनले बताए। टोलटोलमा ताजा तरकारी पाएपछि उपभोक्ता पनि खुसी देखिएका छन्। 

 Published Date: Saturday, 4th April 19:20:12 PM