सोमबार, भदौ ३०, २०७६

ठूला कर्पोरेट हाउस सामाजिक सुरक्षा कोषमा आवद्ध, ५० हजार श्रमिक सूचीकृत 

| तस्वीर:फाइल

काठमाडौं, भदौ २५ : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ। 

सूचीकरणका लागि तोकिएको समयसीमा सकिनै लाग्दा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या बढ्दै गएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए।

कोषले आवद्ध हुनका लागि असोज मसान्तसम्मको समय दिएको छ। उनका अनुसार बुधबारसम्मको विवरण अनुसार श्रमिकको संख्या ५० हजार नाघेको हो। कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको समेत कार्यकारी निर्देशक ज्ञवालीले बताए।

कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या ४ हजार ७ सय ९० पुगेको छ भने श्रमिकको संख्या ५० हजार १ सय ४० जना पुगेको छ। 

चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल ,शिवम् सिमेन्ट, युनिलिभर, जी फोर एससहित १ सय १७ वटा आउटसोर्सिङ कम्पनीहरु सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन्। 

यसैगरी, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानिमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर गु्रप, यति डिष्टिलरी, ट्रिनिटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज, दराज डटकम समेत कोषमा आवद्ध भएका छन्।

कोषले सूचीकृत हुन सजिलो होस् भनेर प्राविधिक सुधार गरेको समेत ज्ञवालीले बताए। ठूला रोजगारदाताकोमै कोषका कर्मचारी पुगेर श्रमिक सूचीकरणमा सहयोग गरिरहेको उनले बताए।
 

 Published Date: Wednesday, 11th September 16:36:44 PM