सोमबार, भदौ ३०, २०७६

समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सांसदको माग

नेकपाकी सांसद् शान्तिमाया तामाङ पाख्रिन. | तस्वीर:काठमाडाैंप्रेस

काठमाडौं, भदौ २५ः नेकपाकी सांसद् शान्तिमाया तामाङ पाख्रिनले लामोसाँघु–जिररी सडक निर्माणको काम समयमा पूरा नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गरी कारवाही गर्न माग गरेकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद् पाख्रिनले उक्त सडक समयमा नबन्दा यात्रा कष्टकर र जोखिमपूर्ण बन्दै गएको बताइन्।

उनले भनिन्, ‘लामोसाँघु–जिरी–दोलखा सडक हिउँदमा धुलाम्य हुन्छ । वर्षातमा खाल्टाखुल्टी र हिलैहिलोले त्यस रुटमा यात्रा गर्ने यात्रुहरूको यात्रा कष्टकर र जोखिमपूर्ण हुँदै आएको छ । ठेकेदारको लापरवाही र सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही नहुँदा जनताले सास्ती भोग्नु परेको छ ।’

चार घन्टाको यात्रालाई १० घन्टा लागेको बताउँदै उनले भनिन्, ‘लामोसाँघु–जिरी सडक यथाशीघ्र यात्रुहरूको यात्रा सहज बनाउन  जिम्मेवार बन्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गर्छु । यदि ठेक्का सम्झौता समयभित्र सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई लाइसेन्स खारेज गरी कारवाही गर्न माग गर्दछु ।’
 

 Published Date: Wednesday, 11th September 14:04:44 PM