सोमबार, भदौ ३०, २०७६

भूकम्पले क्षति भएका चार हजार विद्यालय पुनःनिर्माण

काठमाडौं, फागुन २८ : विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये चार हजार एक सय ९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार तीन सय ६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत सात सय ५८ विद्यालय निर्माण भएका हुन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार चार सय ३७, निर्माण व्यवसायीमार्फत तीन सय १४ र गैरसरकारी क्षेत्रबाट दुई सय ९२ विद्यालय गरी कूल दुई हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको बताए ।

त्यस्तै, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौँ र भक्तपुरमा एशियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको ९.६ अर्ब बजेटमा एक सय ५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र एक सय १३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको उनले बताए ।

जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ ।

परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका दुई सय ३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी १४ अर्बमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिए । (रासस)

 

 Published Date: Tuesday, 12th March 11:57:36 AM