सोमबार, मंसिर २३, २०७६

सोनीले दिलाइन् ट्रायेथलोनमा नेपाललाई स्वर्ण

सोनी गुरुङ।

पोखरा, मंसिर १६ : १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा भएको ट्रायेथलोन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ।

पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी, २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन्।

नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले पहिलो पटक स्वर्ण पदक जितेकी हुन्।

भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गरे।

भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायेथलोन खेल समावेश गरिएको हो। १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो।

प्रतियोगिताको पुरुषतर्फ भारतका आदर्श एमएन सिनीमलले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३१ सकेण्डमा पार गरी आफ्नो देशलाई स्वर्ण पदक दिलाएका छन्। भारतकै विश्वरिज्टी साइकमले एक घण्टा दुई मिनेट ५९ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे।

नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट ६ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक प्राप्त गरे।

साग खेलकूदमा ट्रायेथलोन, डाइथलोन र मिक्स इभेण्टमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ। मङ्गलबार डाइथलोन र बुधबार रिले इभेण्टमा प्रतिस्पर्धा हुँदै छ।

 Published Date: Monday, 2nd December 14:04:30 PM