बिहिबार, असोज १५, २०७७

महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

काठमाडौँ, फागुन २ : महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक पर्यटक आउने गर्छन् । 

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यसपटक महाशिवरात्रिलाई विशेषरुपमा मनाउने तयारी कोषले गरिरहेको छ । महाशिवरात्रि मनाउन यस वर्ष कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

पशुपति क्षेत्र वरपर महाशिवरात्रिअघि प्रत्येक दिन सफाइ अभियान चलाउन लागिएको कोष सञ्चालक सदस्य आशा पाण्डेले जानकारी दिइन । भ्रमण वर्षको अवसरमा विदेशमा समेत प्रचारप्रसार भइरहेकाले पनि पशुपति क्षेत्रलाई सफा राख्न मन्त्रालयले विशेष निर्देशन दिएको छ ।

यसैगरी मुहानदेखिकै नदी सफाइ गर्दै आएको वागमती सुन्दरता सरोकार मञ्चले पनि पशुपतिभन्दा माथिको वागमतीमा विशेष सफाइ अभियान शुरु गरेको छ । महाशिवरात्रिमा वागमती नदीमा सक्दो स्वच्छ पानी बगाउने उद्देश्यले यो अभियान शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । त्यस क्षेत्रका स्थानीय सङ्घसंस्था, गुह्येश्वरीमाथिका विद्यालयको समेत सक्रियतामा यस क्षेत्रको नदी सफाइ गर्न लागिएको हो । मञ्चले प्रत्येक हप्ता शनिबार हुने गुह्येश्वरीमाथिको वागमती सफाइमा पनि विद्यालयका विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।

 Published Date: Friday, 14th February 2020 8:06:32 am