आईतबार, असोज ५, २०७६

नेपाल–फ्रान्सका व्यवसायीबीच संयुक्त लगानी गर्ने सहमति

काठमाडौं, जेठ ३० : नेपाल र फ्रान्सबीच व्यवसायिक लगानी सम्बन्ध विस्तार गर्ने सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच सम्झौता भएको हो। प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघ र मेडेफ इन्टरनेशनलबीच पेरिसमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफबीच सहमतिपत्रमा हस्ताक्षर भएको महासंघले जनाएको छ। प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणका अवसरमा आजबार सम्पन्न सम्झौतापत्रमा महासंघका अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेसनलका अध्यक्ष फ्रेडरिक सान्जेजले हस्ताक्षर गरेका छन्। 

सहमतिपत्रमा एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदानप्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनारलगायतका कार्यक्रम आयोजना गर्ने उल्लेख छ। 

त्यस्तै, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्रबीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदानप्रदान गर्ने, एकअर्का देशले अवलम्बन गरेका नीति नियमहरू आदानप्रदान गर्ने सहमतिसमेत भएको छ।

त्यसैगरी, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ।

समारोहमा प्रधानमन्त्रीले महासंघ र मेडेफ इन्टरनेसनलबीचको सहमतिले दुई देशको आपसी लाभका क्षेत्रमा सहकार्य गर्न महत्वपूर्ण हुने विश्वास प्रकट गरे। फ्रान्सका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको समेत उपस्थिति रहेको उच्चस्तरीय व्यवसायिक भेटवार्तालाई सम्बोधन गर्दै उनले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा आएर लगानी गर्न आग्रह गरे।

स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि हालै भएका प्रगति एवं नीतिगत सुधारका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए। नेपालको साना तथा मझौला व्यवसायको विकास, विस्तार तथा प्रविधिगत रुपमा उनीहरूको क्षमता विस्तारमा समेत यो सहमति कोशेढुंगा हुने दावी गर्दै अध्यक्ष राणाले सहमतिपत्रमा उल्लेख गरिएका दफाहरूलाई अक्षरशः कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताइन्।

राणाले नेपाललाई यतिखेर वाह्य लगानीको आवश्यकता रहेको, लगानीका लागि अत्यन्त अनुकुल समय समेत रहेकाले लगानीका लागि आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न महासंघले सशक्त भूमिका निर्वाह गर्ने फ्रान्सेली उद्यमी व्यवसायीहरूलाई विश्वास दिलाइन्।

 Published Date: Thursday, 13th June 17:59:05 PM