शनिबार, असार २७, २०७७

नेपाल एयरलाइन्सको हङकङमा एकै दिन तीन चार्टर्ड उडान

काठमाडौं, जेठ २० : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ।

एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गएराति पाँच सय ८२ यात्रु हङकङ फर्किएका छन्। उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन्।

निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घन्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ। निगमको पछिल्लो उडान गएराति ११ बजे भएको थियो। नेपालमा लकडाउनका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान एक सय ५५ र एक वाइडबडी जहाजले दुई सय ७२ गरी पाँच सय ८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिइन। उनले तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्नेछन्।

काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घन्टाको रहेको छ। तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ।

गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु लगेको पहिलोपटक हो। त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ। लकडाउनको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो।

लकडाउनको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो। तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दै छ। यी सबै उडान मलेशियाको क्वालालम्पुर हुँदै करिब १३ घन्टाको हुनेछन्।

नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप तीन चार्टर्ड उडान गर्दै छ। आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताइन्।

यी उडानमा पनि निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाज प्रयोग गरिनेछ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ। नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टिनमा बस्नेछन्। (रासस)

 Published Date: Tuesday, 2nd June 11:02:16 AM