बुधबार, मंसिर २५, २०७६

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नहोस्ः नवीना लामा

नेकपा सांसद् नवीना लामा स‌ंसद्मा बाेल्दै | तस्वीर:काठमाडाैंप्रेस

काठमाडौं, साउन २८ः प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

संसद्को शुन्य समयमा बोल्दै उनले भनिन्, ‘राजनीतिक भागवण्डाले भन्दा पनि विधि र प्रक्रियाको आधारमा, खुल्ला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् । सक्षम निष्पक्ष र प्राज्ञिक व्यक्तित्व विश्विद्यालयको गरिमालाई उच्च राख्नका सक्ने व्यक्ति उपकुलपति र अन्य पदाधिकारी नियुक्त गरियोेस् ।’

अहिले आठ वटा विश्वविद्यालय नेतृत्वबिहीन भएको बताउँदै उनले विश्व विद्यालयमा डरलाग्दो ढंगले विकृति विसंगति अन्त्य गर्नसक्ने पदाधिकारी चयनमा जोड दिइन् । उनले भनिन्, ‘विश्वविद्यालयमा भएको राजनीतिक भागवण्डा त्यसले देशको गरिमालाई घटाएको छ । यो देशको प्रतिष्ठासँग जोडिएको छ ।’

अनेरास्ववियूकी पूर्वअध्यक्ष समेत रहेकी सांसद् लामाले भनिन्, ‘विश्व विद्यालयको  चाहे परीक्षाको विषयमा होस्, चाहे सम्बन्धनको विषय होस्, चाहे शिक्षक कर्मचारीको विषय होस्, चाहे समयमा स्ववियु निर्वाचनको विषय होस् । विश्व विद्यालय धेरै विकृति विसंगति छ । धेरै भन्दा धेरै अराजकता मौलाएको छ ।’

 Published Date: Tuesday, 13th August 14:42:17 PM