सोमबार, चैत्र १७, २०७६

यसरी नापिँदै छ सगरमाथाको उचाइ

सगरमाथा। | तस्वीर:एजेन्सी

काठमाडौं, वैशाख १२ : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली आधारशिविरमा पुगेको छ। टोलीले केही दिनमै नाप्न थाल्ने जनाएको छ।

सगरमाथाको उचाइ नाप्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार सदस्यीय टोली केही दिन अघि आधारशिविरतिर प्रस्थान गरेको थियो। उक्त टोली सगरमाथा आधारशिविरमा रहेको नापी विभागका अधिकृत विज्ञान बन्जाडेले बताए।

सगरमाथाको उचाइ नाप्ने टोलीका चारै सदस्य प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल आधारशिविर पुगेका हुन्। उनीहरूलाई छिरिङ जाङ्बु शेर्पा र पेमा ङिमा शेर्पाले गाइड गरिरहेका छन्। व्यवस्थापकीय समूहमा केशव पौडेल, आङवु शेर्पा र आङ पासाङ शेर्पा छन्।

चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म पुग्ने विभागका अधिकृत बन्जाडेले बताए। सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधारशिविरमै बस्ने छन्। सगरमाथाको उचाइ नाप्न करिब एक महिना लाग्ने छ।

अहिले खुम्बु क्षेत्रको आठ स्थानको उचाइ पनि नापिँदै छ। सगरमाथाको टुप्पोको उचाइर र खुम्बु क्षेत्रका आठ स्थानको उचाइको अध्ययन गरेर सगरमाथाको उचाइ एकीन गरिने छ।

सगरमाथा आधारशिविर।

तथ्यांकको अध्ययन पनि नापी विभागमै गरिने जनाएको छ । ‘सगरमाथाको टुप्पोबाट र विभिन्न आठ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिने छ, यो अध्ययन नापी विभागमा नै गर्नेछौं,’ बञ्जाडेले भने।

नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन गरिन लागेको हो। यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो।

नेपालका हिमालको उचाइ मापनको सुरुआत भने दुई सय वर्ष अघि भएको थियो। सन् १८०९ मा माथिल्लो गंगा अर्थात कुमाउक्षेत्रको खोजीमा निस्केका डब्लूएस वेबले नेपालको धौलागिरी हिमाल आठ हजार मिटरभन्दा माथिको उचाइमा रहेको रहस्योद्घाटन गरेका थिए।

यस आधारमा सबैभन्दा पहिलो उचाइ नापिएको हिमाल धौलागिरी हो। यसको उचाइ आठ हजार एक सय ७२ मिटर छ। यसको उचाइ नापेपछि धौलागिरीलाई नै संसारको अग्लो हिमाल भनिएको थियो।

त्यसपछि सन् १८४८ मा कञ्चनजङ्घाको उचाइ नापियो। र यसको उचाइ आठ हजार पाँच सय ८६ मिटर हो भन्ने निक्र्र्योल भएपछि कञ्चनजंघालाई संसारको अग्लो चुचुरो भनियो।

त्यही वर्ष अन्य हिमालहरूको पनि उचाई नापियो। त्यसको रेकर्ड संकलन गरेर सर्वे अफ इन्डियाको कार्यालयमा पठाइयो।

त्यसको करिब तीन वर्षपछि सन् १८५२ मा जब सगरमाथा विश्वकै सबभन्दा अग्लो शिखर भन्ने ठहर भयो, त्यतिखेर त्यसको उचाइ २९ हजार दुई फिट (आठ हजार आठ सय ४० मिटर) मानिएको थियो। सगरमाथालाई रोमन संकेत चिह्न ‘पिक १५’ नाम प्रदान गरिएको थियो।

सन् १८५२ तिर पहाडहरूको उचाइ ‘कियोडा लाईट’ यन्त्रको प्रयोगबाट मापन गरिन्थ्यो। यसरी मापन गर्ने भारतको सर्वे विभागको एउटा टोलीका सदस्यमध्ये एक बङ्गाली नागरिक राधानाथ सिकन्दरले सर्वोच्च शिखर पत्ता लगाएको दाबी गरेका थिए। विभागका सर्वे कर्मचारीहरू तेजवीर बुढाथोकी र राधानाथ सिक्दरले पत्ता लगाएको शिखरको उचाइ आठ हजार आठ सय ४० मिटर थियो।

विश्वको सर्वोच्च शिखर खोज्ने कार्य सुरू भएपछि बिहार (भारत) को समतल मैदानको अध्ययन गरिरहेका भारतका सर्वेयर जनरल सर एन्ड्रयू वाघले आफ्ना अग्रज जर्ज एभरेस्टका स्मरणमा पन्ध्रौँ चुचुरो भन्ने नाम फेरेर सन् १८६५ ‘माउन्ट एभरेस्ट’ राखे। एन्ड्रयू वाघको टोलीले नेपालको एक हिमशिखर संसारको सर्वोच्च भागका रूपमा रहेको दाबी पनि गर्‍यो।

भारतको तत्कालीन कम्पनी सरकारद्वारा सगरमाथाको नामकरण गरिँदा जर्ज ७५ वर्षका थिए। जर्ज एभरेस्ट सन् १८२५ देखि सन् १८४३ सम्म भारतका सर्वेयर जनरल थिए।

त्यसपछि ‘माउन्ट एभरेस्ट’को नाम परियो, नेपालबाट । र वि.सं. २०१३ मा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘माउन्ट एभरेस्ट’लाई नेपाली नामले न्वारन गरे, ‘सगरमाथा’।

त्यही सगरमाथाको उचाइ पहिलो पटक नेपालले मापन गर्न लागेको हो।

 

 Published Date: Thursday, 25th April 11:38:23 AM