मंगलबार, भदौ ३, २०७६

तरकारी र फलफुलमा ८० प्रतिशतसम्म विषादी पाइएको भन्ने कुरा सत्य होइन: मन्त्री यादव

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव। | तस्वीर:फाइल

काठमाडौं, साउन २८ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताएका हुन्।

उनले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसँग  वृहत छलफल गरी योजना बनाउने काम भएकाले अनुगमन र कारवाही गरेको पनि सुन्न र हेर्न आग्रह गरे। ‘योजना बनाएको मात्रै सुन्नुभयो। थुप्रै अनुगमन र धेरैलाई कारबाही पनि गरेको छु। त्यो कुरा पनि सुन्नुपर्छ। एकातिर मात्रै सुन्ने कि दुई वटै कानले सुन्ने हो। योजना मात्रै सुन्नुभयो। अनुगमन गरेको कारबाही गरेको सुनिदिनु भएन भने त मन्त्रीप्रति अन्याय हुन्छ,’ उनले भने।

उनले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशतसम्म विषादी पाइएको भन्ने कुरामा सत्यता नभएको बताए। ‘असार मसान्तसम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटामा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाइएको छ,’ उनले भने।

उनले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पारे। मन्त्री यादवले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताए। 
उनले नेपाल भारतबीच मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुई पक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने बताए।

सांसदहरु उमा रेग्मी , बसन्तकुमार नेम्वाङ्ग, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी लगायतले मन्त्रीलाई प्रश्न गरेका थिए।

 Published Date: Tuesday, 13th August 16:44:46 PM