मंगलबार, भदौ ३, २०७६

सहकारीभित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउँछौंः मन्त्री अर्याल

काठमाडौं, साउन २८ :  सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । 

स्वावलम्बन विकाश कोषको २८ औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीभित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताएकी हुन्।

मन्त्री अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुँदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरि नयाँ नयाँ ठाउमा जाने अनि पुरानै धन्दा गर्ने विकृति बढ्दै गएकाले कर्जा सुरक्षा कोषलाई कडाइका साथ कार्यान्वयनमा लैजान लागिएको बताइन्।

मन्त्री अर्यालले सरकारको गरिब लक्षित कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडी बढाइने पनि जानकारी दिइन्। उनले विगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिब घर तोक्ने कारणले सरकारको काम उपलब्धिबिहीन भएको बताइन्। 

मन्त्री अर्यालले अब विगतका कमजोरी सच्याउँदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम प्रविधि सफ्टवेयरमार्फत हुने बताइन्। 

 Published Date: Tuesday, 13th August 16:57:15 PM