शुक्रबार, असार १९, २०७७

कान्तिपुरका तीन सह-प्रकाशन बन्द गर्ने घोषणा

काठमाडाैैं, असार १२ : देशकै ठूलो मिडिया घराना कान्तिपुर पब्लिकेसन्सले दुई दशकदेखि संचालन गर्दै आएका आफ्ना तीन सह–प्रकाशन बन्द गर्ने निर्णय गरेको छ। 

कान्तिपुर पब्लिकेसन्सले शुक्रबार टेव्लाेइड साप्ताहिक, साप्ताहिक नेपाल म्यागेजिन र नारी मासिक म्यागेजिन बन्द गर्ने औपचारिक निर्णय गरेको हो। 

कोरोना महामारीको कारण देखाउँदै कान्तिपुरले २५ वर्षदेखि प्रकाशन हुँदै आएको साप्ताहिक, २० वर्ष देखि प्रकाशन हुँदै आएको नेपाल र १८ वर्ष देखि प्रकाशन हुँदै आएको नारी बन्द गर्ने निर्णय गरेको हो।

कान्तिपुर पब्लिकेसन्सले आफ्ना पाँच प्रोडक्ट प्रकाशन गरिरहेकोमा अब कान्तिपुर दैनिक र काठमाण्डु पोस्ट मात्रै प्रकाशन गर्नेछ। व्यवस्थापनले साप्ताहिक, नेपाल र नारीको प्रिन्ट संस्करणसँगै डिजिटल संस्करणसमेत बन्द गर्ने निर्णय गरेको छ। नेपाल म्यागेजिनको सम्पादकीय नेतृत्व बसन्त बस्नेतले गरिरहेका थिए भने साप्ताहिक र नारीको सम्पादकीय नेतृत्व राजाराम गौतमले गरिरहेका थिए।

नेपालका सम्पादक बस्नेतले शुक्रबार व्यवस्थापनको निर्णय आफ्ना सहकर्मीलाई औपचारिकरुपमा जानकारी गराइसकेका छन्। स्रोतका अनुसार कान्तिपुर पब्लिकेसनको यो निर्णयले पत्रकार र कर्मचारी गरी करिब एक सय जनाको रोजगारी गुमेको छ। कान्तिपुरले औपचारिक सूचना जारी गरेर तीन सहप्रकाशन बन्द गरेको घोषणा गर्ने तयारी गरेको छ।

 Published Date: Friday, 26th June 15:59:20 PM