बिहीबार, बैशाख ५, २०७६

श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउँछ: मन्त्री बाँस्कोटा

काठमाडौं,  चैत २६ :  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई कार्यरत मजदुरको पनि सुरक्षा पक्षलाई बुझ्न आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिले मंगलबार गरेको ‘पत्रकारितामा श्रम सवाल’ विषयको कार्यक्रममा उनले  भने,'जसले जहाँ रगत बगाउँछ, पसिना चुहाउँछ, त्यहीँबाट निस्कँदा उसले आँशु चुहाउँदै बाहिरिनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ।'   मन्त्री बाँस्कोटाले श्रमको मूल्य तिर्नुपर्दा शोषणका पक्षपातीलाई ज्वरो आउने बताए। 

सरकारले सञ्चारगृहलाई त्यहाँ कार्यरत मजदूरलाई तोकिएको पारिश्रमिक देऊ भनेर घोषणा गरेको निर्णयमा कुनै पुनःविचार नहुने उनले बताए। उनले श्रमको सम्मान गर्न सामाजिक न्यायको विषयलाई नेपाली समाजमा स्थापित गर्ने सरकारको मान्यता रहेको बताए।   मन्त्री बाँस्कोटाले भने,'श्रम संस्कृतिको सम्मान, श्रम मूल्य र सामाजिक न्याय हुँदै समाजवाद स्थापना गर्ने सरकारको मान्यता हो, कुनै पनि व्यक्तिको सम्पत्ति कति छ भनेर प्रश्न उठाएको नभई प्रतिमहीना  सरकारले सञ्चारगृहसँग तोकेको मूल्य तिरेका छाैं कि छैनौँ भन्ने जाँच गर्न खोजेको मात्र हो।'

पत्रकारिता क्षेत्रसँग साइनो र सम्बन्ध नभएका तथा अरू नै पेशा व्यवसायमा रहेकाले समेत प्रेस प्रतिनिधि परिचयपत्र लिने अवस्थाले पत्रकारिता क्षेत्रको मर्यादा खस्केको बताउँदै उनले प्रेस पास लिँदा तलबको बैंँक विवरण दिने गरी सरकारले गरेको घोषणा कार्यान्वयन हुने बताए। उनले भने,'यस विषयमा कसैसँग वार्ता हुँदैन। नेपाली पत्रकारितामा व्यवस्थित र सुरक्षित युगको अहिले शुरुआत भएको छ।' रासस

Published Date: Tuesday, 9th April 18:23:12 PM