सोमबार, जेठ १९, २०७७

कोभिड १९ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित

भैरहवा, चैत २३ : कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको कारण काम प्रभावित भएको हो।

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कार्यमा लागेका स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो। तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक म्याद थपिसकेको छ। यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सम्पन्न गर्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए। 

एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण भइरहेको छ।

 Published Date: Sunday, 5th April 13:13:15 PM