आईतबार, माघ १२, २०७६

सूचना प्रविधि विधेयक पास भए नेकपाकै भीम रावल र रामकुमारी झाँक्री पनि बाँकी रहँदैनन् : गगन थापा

काठमाडाैं, पुस २४ :  नेपाली कांग्रेसका युवा नेता गगन थापाले सूचना प्रविधि विधेयक ल्याएर सरकारले नागरिकको मुख थुन्न लागेको आरोप लगाएका छन्। 

बिहीबार सूचना प्रविधि विधेयकको विरोधमा नेविसंघले गरेको विरोधसभालाई सम्बोधन गर्दै थापाले भने,'विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन् । विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भएर हो।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गरेर जवाफ दिने हिम्मत नगरेर सामाजिक सञ्जालमा आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोजेको आरोप लगाए। उनले  सूचना प्रविधि विधेयक अहिलेकै अवस्थामा परित भए सरकारका अरिङ्गालबाहेक कोही बाँकी नरहने बताए।

'विधेयक जस्ताको तस्तै पारित भयो भने सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ। नेकपाकै भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन्। अरु सबै सकिन्छन्।’ 

यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताए।

उनले भने, ‘यो विधेयकविरुद्धमा बोल्न संसदमा गगनजीहरू हुनुहन्छ। उहाँहरुको विरोधले मात्रै विधेयक रोकिँदैन। त्यसका लागि सडकको तागत आवश्यक छ।’ साथै उनले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी दिए।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टको संयोजनमा भएको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्रीहरू मनोजमणि आचार्य, प्रतिमा गाैतम, कुन्दनराज काफ्ले, पूर्वउपाध्यक्षहरू डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी,पूर्वसहमहामन्त्री बलदेव तिमल्सिना लगायतका नेताहरुले सम्बोधन गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए।

 Published Date: Thursday, 9th January 17:55:50 PM