प्रतिपक्षविनै संवैधानिक नियुक्ति संविधान विपरित : कांग्रेस

काठमाडौं, चैत ११ : कांग्रेसले सरकार संवैधानिक व्यवस्था विपरित प्रतिपक्षको अस्तित्व अस्विकार गरेर महत्वपूर्ण स‌वैधानिक नियुक्तहरुकाे निर्णायमा लागेकाे भन्दै विरोध जनाएको छ । 

सोमबार डाकिएको संवैधानिक परिषद बैठकमा आफ्नो दलको बैठक भएकाले सार्न गरेको आग्रह अस्विकार गरेको भन्दै कांग्रेसले सरकारले लोकतान्त्रिक पद्धती र संवैधानिक प्रावधान विपरितको कार्य गरेको आरोप लगाएको छ । ‘प्रतिपक्ष दलको नेताले लिखित पत्र लेखेर बैठक सार्न गरेको आग्रहलाई लत्ताएर प्रतिपक्षी विनै परिषद बैठक बस्नु संवैधानिक र लोकतान्त्रिक विधि विपरितको हर्कत हो’ कांग्रेस मुख्यसचेतक बालकृष्ण खाँडले काठमाडौं प्रेससँग भने, ‘प्रधानमन्त्रीको अधिनायकवादी सोचले लोकतान्त्रिक पद्धतीनै खतरामा परेको छ ।’

कांग्रेसले केपी ओली नेतृत्वमा सरकार गठन भएदेखिनै अधिनायकवादको सोचका साथ अघि बढेकाे र पछिल्लो समय संविधानले ग्यारेन्टी गरेको संवैधानिक परिषदबाट हुने नियुक्तिहरुको निर्णय प्रतिपक्षको उपस्थिति विनै गरेर लोकतान्त्रिक पद्धतीको विरुद्धमा आफुलाई उभ्याएको प्रतिक्रिया दिएको छ । ‘प्रतिपक्षको अस्तित्व स्विकार नगर्ने बाटोमा सरकार सुरुदेखि देखिएको छ’ खाँडले भने, 'याे लाेकतन्त्र पनि मान्दिन भनेकाे हाे ।' 

पछिल्लो समय संवैधानिक परिषदमा मार्फत भएका विभिन्न संवैधानिक निकायका नियुक्तीहरुमा प्रतिपक्ष दलका नेता अनुपस्थित छन् । सोमबार बसेको संवैधानिक परिषदको बैठकमा प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले पूर्वघोषित पार्टीको संसदीय दलको बैठक भएकाले आफु आउन नसक्ने जानकारी परिषदका अध्यक्ष एवं प्रधानमन्त्रीलाई गराएका थिए । प्रधानमन्त्री कार्यालयल लिखित रुपमा जानकारी गराएको पत्र दर्ता समेत गरेको थियो । देउवाले केही समय पर बैठक सार्न गरेको आग्रहको वास्तै नगरी निर्वाचन आयोगमा संवैधानिक परिषदको बैठकले वहालवाला सचिव दिनेश थपलियालाई नियुक्त गर्न निर्णय गरेको छ ।

‘प्रतिपक्षनै नभएको परिषद बैठकले गरेको निर्णय असंवैधानिक हुन्छ’ अधिवक्ता केशवराज जोशीले भने, ‘प्रतिपक्ष दलको नेताले बैठक केही दिन पर सार्न गरेको आग्रह अस्विकार गर्ने र सबै आफ्ना दलका मन्त्रीहरुलाई राखेर परिषद बैठकबाट धमाधम संवैधानिक नियुक्ति गर्नु गलत परम्पराको थालनी हो ।’

  
 

 Published Date: Monday, 25th March 2019 7:59:54 pm