मंगलबार, भदौ ३, २०७६

कारागारमा कैदीको अवस्था कष्टप्रदः महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल | तस्वीर:फाइल फोटो

काठमाडौं, साउन २६ः महान्यायाधिवक्ताको कार्यालयले नेपालमा कारागारको अवस्था कष्टप्रद रहेको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्न सरकारलाई सचेत गराएको छ । 

महान्यायाधिवक्ताको कार्यालयले आज काठमाडौंमा सार्वजनिक गरेको आफ्नो वार्षिक कार्य प्रगति विवरणमा नेपालमा कारगारको अवस्था कष्टप्रद रहेको उल्लेख छ । 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मुलुकमा कारगारको अवस्था कष्टप्रद रहेको र कैदीहरुको अवस्था दयनीय रहेकाले त्यस अवस्था सुधार गर्न सरकारलाई आग्रह गरिएको जानकारी दिए । उनले कैदी–बन्दी धेरै तर कारगारको संख्या कम भएका कारण पनि समस्या थपिदै आएको पनि स्पष्ट पारे । 

महान्यायाधिवक्ताको कार्यालयले मुलुकमा विद्यमान कारगारहरुको सुधारका लागि त्यसको अनुगमनको कामलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने पनि जनाएको छ । महान्यायाधिवक्ताको कार्यालयले ‘सरकारी वकील र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलन’ आगामी मंसीरमा सम्पन्न गर्ने योजना पनि तय गरेको छ । 

मुलुकी संहिताको कार्यान्वयनको समिक्षा गर्न र अपराध, अनुसन्धान तथा अभियोजनको कामलाई थप प्रभावकारुी बनाउन सो सम्मेलन आयोजना गर्न लागिएको पनि महान्यायाधिवक्ता खरेलले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले अपराध अनुसन्धान र अभियोजनको कामलाई प्रभावकारी बनाउन सरकारी वकीलको कार्यालय अनुगमनको कामलाई पनि तीव्रता दिइएको पनि जनाएको छ । महान्यायाधिवक्ता खरेलले पीडितलाई न्याय दिन समुदायमा सरकारी वकील कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे ।  

 Published Date: Sunday, 11th August 18:47:20 PM