Kathmandu Press

देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

दमाैली, मंसिर १६ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ। मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न आज...
देवघाटधाममा शतबीज छर्न भक्तजनको भीड

दमाैली, मंसिर १६ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ। मङ्सिर कृष्ण चतुर्दशीको दिन देवघाटमा शतबीज छर्न आज बिहानैदेखि देवघाटमा भक्तजनको भीड लागेको हो।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देशका विभिन्न जिल्लाबाट भक्तजनको आगमन भएको जानकारी दिए। उनका अनुसार तनहुँका अतिरिक्त चितवन, नवलपुर, नवलपरासी, हेटौँडालगायतका जिल्लाबाट भक्तजन देवघाट आइपुगेका छन्।

अझै पनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले विगतका वर्षहरुमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्यामा कमी हुनसक्ने अनुमान गरिएको छ। 'कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छौँ,' घिमिरेले भने, 'मापदण्ड अपनाएर आज राति बत्ती बाल्न अनुरोध गरिएको छ।'

रातभर जाग्राम बसेर भक्तजनले शुक्रबार बिहान दीप प्रज्वलन गरी शतबीज छर्ने गर्दछन्। शुक्रबार बालाचर्तुदशी पर्व, शतबीज छरेर मनाइँदै छ। दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ। शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ। वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ।

शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ। सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ। बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुनजति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौँ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ।

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्