Kathmandu Press

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : नेता पौडेल

गण्डकी, मंसिर १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको  आवश्यकता भएको बताएका छन्।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि...
पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : नेता पौडेल

गण्डकी, मंसिर १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानु अहिलेको  आवश्यकता भएको बताएका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले बिपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै बिपीको आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए।

समय र मागअनुसार कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिँदै उनले विगतको समीक्षाका आधारमा दीर्घकालीन योजनाका साथ क्रियाशील बन्नुपर्ने बताए। लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी सङ्गठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै सङ्गठित र एकताबद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए।

कांग्रेसका महामन्त्री डा.सशाङ्क कोइरालाले बिपीले देखाएको बाटोमा हिँड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तनलाई अवलम्बन गर्दै सङ्गठनलाई थप मजबुद र क्रियाशील बनाएर जानुपर्ने बताए। महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै सङ्गठित र एकताबद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक सङ्गठनलाई चलायमान बनाएको बताउँदै यही जोश र उमङ्गलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई सशक्त बनाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजबुद र क्रियाशील बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेता देवराज चालिसेलगायतले बोलेका थिए। सङ्घीय संरचनाअनुसार पहिलोपटक हुन लागेको अधिवेशनका लागि नेताहरु अर्जुन जोशी, शुक्रराज शर्मा, यज्ञबहादुर थापा, देवराज चालिसे र रघुनाथ पौडेललगायतले पार्टीको प्रदेश सभापतिमा इच्छा देखाएका छन्।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्