Kathmandu Press

रेडक्रसले दियो काभ्रेलाई ‘सेन्ट्रिफ्युज’ मेसिन

काठमाडौं, मंसिर १५ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ।  ३० लाख...
रेडक्रसले दियो काभ्रेलाई ‘सेन्ट्रिफ्युज’ मेसिन

काठमाडौं, मंसिर १५ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ।  

३० लाख बराबरको सो उपकरणले दाताबाट सङ्कलित रगतलाई प्लाज्मा, प्लेटलेटलगायत  विभिन्न तत्वमा विभाजन गर्न सहयोग पुर्‍याउँछ। यसबाट काभ्रेको रक्तसञ्चार सेवा थप प्रभावकारी हुने बताइएको छ।

डेनिस रेडक्रसका सहयोगमा काभ्रेमा सञ्चालित ‘समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ मार्फत ती उपकरण प्राप्त भएको जनाइएको छ।

डेनिस रेडक्रसका देशीय प्रतिनिधि यान एरिक, नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने तथा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले संयुक्त रुपमा जिल्ला शाखा काभ्रेका तदर्थ समिति संयोजक नारायण ढुंगानालाई मंगलबार सो उपकरण हस्तान्तरण गरेका हुन्।  

सो अवसरमा डेनिस रेडक्रसका देशीय प्रतिनिधि एरिक नेपाल रेडक्रसका गतिविधिको प्रशंसा गर्दै विपद्बाट हुने मानवीय क्षति न्यूनीकरणका लागि डेनिस रेडक्रसले नेपाल रेडक्रससँग साझेदारीमा विभिन्न  काम गर्दै आएको बताए।

्नेरेसो, विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपानेले सडक लगायतका दुर्घटनाका घाइते तथा रगत आवश्यक पर्ने बिरामीको जीवन बचाउन सहयोग पुगोस् भन्ने ध्ययले उपकरण हस्तान्तरण गरिएको जानकारी दिए। 

हस्तान्तरण कार्यक्रममा गुणस्तरीय रक्तसञ्चार सेवा उपलब्ध गराउनका लागि केन्द्रीय रक्तसञ्चार र जिल्ला शाखा काभ्रेबीच सम्झौता पनि भएको छ। सम्झौतापत्रमा संयोजक ढुंगाना र निर्देशक पौडेलले हस्ताक्षर गरेका थिए।

सो अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले देशैभरका रक्तसञ्चार केन्द्रका क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय रगत उपलब्ध गराउनका लागि उच्च प्राथमिता दिएको जानकारी दिए।

कार्यक्रममा डेनिस रेडक्रसका वरिष्ठ कार्यक्रम तथा जीविकोपार्जन कार्यक्रमका अधिकृत शुभद्रा देवकोटा, नेरेसोका समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम संयोजक विनिता ढुंगेल लगायतको उपस्थिति थियो। 

सन् २०१८ देखि सन् २०२१ सेप्टेम्बर महिनासम्म काभ्रेको मण्डनदेउपुर नगरपालिकामा समुदायमा आधारित समावेशी विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन भएको थियो।

फरक क्षमता  भएका व्यक्तिको पहिचान तथा सहयोग सामग्री वितरण, खानेपानी आयोजना निर्माण, जीविकोपार्जन लगायतका गतिविधि सम्पन्न गरेको छ। 

सोमबार र मंगलबार डेनिस रेडक्रस तथा नेपाल रेडक्रसको टोलीले परियोजना सञ्चालित मण्डनदेउपुरको अवलोकनका साथै लाभग्राहीहरुसँग छलफलसमेत सम्पन्न गरेको  गरेको संयोजक ढुंगेलले जानकारी दिए।  

प्रकाशित मिति: १३:११ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्