Kathmandu Press

एमाले महाधिवेशन : केन्द्रीय कमिटीका लागि काेकाे भिड्दैछन्?

काठमाडाैं, मंसिर १३ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। सर्वसम्मत रूपमा नयाँ नेतृत्व चुन्ने प्रयास भइरहे पनि अन्ततः विफल भएको छ। बन्दसत्रले...
एमाले महाधिवेशन : केन्द्रीय कमिटीका लागि काेकाे भिड्दैछन्?
Hardik ivfHardik ivf

काठमाडाैं, मंसिर १३ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। सर्वसम्मत रूपमा नयाँ नेतृत्व चुन्ने प्रयास भइरहे पनि अन्ततः विफल भएको छ। 

बन्दसत्रले दिएको अधिकारअनुसार निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेका ३०१ जनामध्ये केही निर्विरोध भए पनि थुप्रै पदका लागि  आज राति निर्वाचन हुने भएको छ। त्यसका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको नामावली पनि प्रकाशन गरिसकेको छ। 

आयोगद्वारा प्रकाशित उम्मेदवार नामावलीअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिवसहित अधिकांश केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ।

आइतबारको बन्दसत्रले निवर्तमान अध्यक्ष केपी ओलीलाई केन्द्रीय कमिटीको सूची तयार पार्ने अधिकार दिएको थियो। तर त्यसलाई अस्वीकार गर्दै ओलीद्वारा प्रस्तावितबाहेकले पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि निर्वाचन हुने पक्का भएको हो।

अध्यक्षमा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ। ६ उपाध्यक्षका लागि सातजनाबीच भिडन्त हुने भएको छ। जसमा घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ छन्। 

भुसालबाहेककालाई ओलीले सूचीमा अटाएका थिए तर भुसालको उम्मेदवारीपछि सो पदमा पनि निर्वाचन हुन लागेको हो।

एमालेले सचिव सातजना हुने व्यवस्था गरेको छ। तर उम्मेदवारी नौजनाको परेको छ। जसमा भीम आचार्य, टंक कार्की, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको उम्मेदवारी परेको छ। भीम आचार्य र टंक कार्कीबाहेकलाई ओलीले नयाँ नेतृत्वका लागि सूचीमा समेटेका थिए।  

८४ खुला सदस्यमा ८९ जनाको उम्मेदवारी परेको छ। ओलीले समेटेकाबाहेक पदमराज जोशी, सुरेन्द्र मानन्धर, कमल तिमिल्सिना, नरेश खरेल र निर्मल भट्टराईले उम्मेदवारी दिएपछि खुला सदस्यका लागि पनि निर्वाचन हुन लागेको हो।

खुला महिला मा ५३ जना चुनिने व्यवस्था छ। तर उम्मेदवारी ५६ जनाको परेको छ। ओलीले रोजाइमा परेकाबाहेक उषाकिरण तिम्सेना, अर्चना गहतराज र भगवती न्यौपानेले उम्मेदवारी दिएपछि सो समूहका लागि पनि निर्वाचन नै गर्नुपर्ने अवस्था आएकाे हो।

प्रदेश १ मा खुला ६ सदस्य चुनिनुपर्नेमा नौ जनाको उम्मेदवारी परेको छ। ओलीको छनोटमा नपरेका दुर्गाकुमार थापा (स्वस्ति), धर्मराज निरौला र पर्शुराम अधिकारीको उम्मेदवारी परेको छ। प्रदेश २, गण्डकी र लुम्बिनीमा भने ओलीको सूचीमा परेकाहरू निर्विरोध निर्वाचित भएका छन्।

वाग्मतीमा ६ सदस्यमा आठजनाको प्रतिस्पर्धा हुने भएको छ। केदार क्षेत्री र रामवीर मानन्धर ओलीको रोजाइमा नपरेका उम्मेदवार हुन्।

कर्णाली र सुदूरपश्चिममा ६÷६ सदस्यका लागि क्रमशः सात र  नौजनाको उम्मेदवारी परेको छ। ओलीको छनोटमा नपरेका योगेन्द्रबहादुर शाहीले कर्णलबिाट उम्मेदवारी दिएका हुन्। त्यस्तै ओली छनोटमा नपरेका कृष्णप्रसाद जैशी, दीपकप्रकाश भट्ट र सहदेव बोगटीले उम्मेदवारी दिएका हुन्।

सुदूरपश्चिममा तीन महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। ओलीको छनोटलाई अस्वीकार गर्दै कलशादेवी महरा, पशुपति कुँवर र मन्जु मलासीले उम्मेदवारी दिएपछि त्यहाँ महिला सदस्य पनि मतदानकै आधारमा चुनिने भएको हो।

आदिवासी जनजातितर्फ १७ सदस्यका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। निर्माण बुढा र सुवास कर्माचार्यले उम्मेदवारी दिएपछि ओलीले छानेकाहरूलाई चुनौती हुने भएकाे छ।

मधेसी खुलातर्फ पनि १३ सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। त्यसका उम्मेदवारी दिने बिल्टु यादव र शम्भुप्रसाद गुप्ता ओलीको रोजाइमा पर्न नसकेका नेता हुन्।

यससँगै सम्पर्क समन्वयतर्फ महिलामा एक सदस्यका लागि दुई उम्मेदवारी परेको छ। ओलीले छुटाएका जानुका बुढाले सो पदका लागि उम्मेदवारी दिएपछि त्यसका लागि पनि मतदान हुने भएको हो।  

दलिततर्फ आठ सदस्य रहने व्यवस्था छ। तर तीनजना बढीले त्यसमा उम्मेदवारी दिएका छन्। ओलीको सूचीमा नपरेका अनुभूति बम नेपाली, तिलक विश्वकर्मा र नरबहादुर विकले दलित सदस्यका लागि उम्मेदवारी दिएका हुन्।

थारूमा जयप्रकाश थारूले र मुस्लिममा नजिर मियाँले उम्मेदवारी दिएकाले ओलीको रोजाइमा परेकाहरूले चुनाव भिड्नुपर्ने अवस्था आएको छ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, सचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भइसकेका छन्।

आज राति ९ देखि मतदानको कार्यसूची छ। लगत्तै मत णना हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १७:५० बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्