Kathmandu Press

कांग्रेस महाधिवेशन : ५३ जिल्लाको परिणाम घोषणा, २८ जिल्ला सभापति देउवा पक्षको पोल्टामा 

संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापतिमा जित निकालेको छ। झापामा भने कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन्। 
कांग्रेस महाधिवेशन : ५३ जिल्लाको परिणाम घोषणा, २८ जिल्ला सभापति देउवा पक्षको पोल्टामा 

काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हालसम्मको मत परिणामअनुसार संस्थापन शेरबहादुर देउवा पक्ष ५३ मध्ये २८ जिल्ला सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ।

संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापतिमा जित निकालेको छ। झापामा भने कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन्। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५३ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो। केही जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ।

मतपरिणामअनुसार ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन्। यता पर्वतमा युवराज जोशी विजयी भएका छन्।

यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन्। उनी पनि देउवानिकट हुन्। इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित बने। रुपन्देहीमा पनि संस्थापन पक्षका रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित बनेका छन्।

यस्तै कञ्चनपुरमा देउवा पक्षका पदम बोगटी विजयी भएका छन्। ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए।

सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा वेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा. टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन्।

यस्तै ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन्।

कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भए। 

जाजरकोट, सुर्खेत, रुपन्देही र मनाङ सभापतिमा संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका थिए। यता नुवाकोटमा रमेश महतले पनि संस्थापन समूहको सहयोगमा सभापति जितेका छन्। उदयपुरमा संस्थापन पक्षकै हिमाल कार्की जितनजिक छन्। ५० मत गन्न बाँकी हुँदा संस्थापन इतरका विदुर बस्नेतभन्दा कार्की एक सय ५० मतले कार्की अघि छन्। स्याङ्जा सभापतिमा निर्वाचित भएका राजु थापासमेत संस्थापननिकट हुन्। 

यस्तै संस्थापन इतर रामचन्द्र पौडेल समूहबाट रोल्पामा किशोर आचार्यले संस्थापन इतरबाटै जिल्ला सभापतिमा जितेका छन्। पौडेल पक्षबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति चुनिएका छन्।

यस्तै पाल्पाबाट हिमालदत्त श्रेष्ठले पनि पौडेल समूहबाटै निर्वाचित भए। दैलेखमा मणीराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल पनि पौडेल समूहबाटै जिल्ला सभापति बनेका छन्। 

यसैगरी अर्घाखाँचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्वाचित भए। सुनसरीमा पनि पौडेल पक्षकै केदार भण्डारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी विजयी भए।

काठमाडौंमा रामचन्द्र, प्रकाशमान र गगन थापा गठबन्धनका कृष्ण सबुज बानियाँले जित निकालेका छन्। दार्चुलामा ललितसिंह बोहोरा पनि पौडेल समूहबाट विजयी बने भने दाङमा शंकर डाँगी पनि संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भए।

यता झापामा सिटौला पक्षका देउकुमार थेवे निर्वाचित भएका छन्। अन्य केही जिल्लामा समेत नेतृत्व चयनको प्रक्रिया जारी छ।
 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्