Kathmandu Press

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ : खोप प्रभावकारितामा प्रभाव पार्न सक्ने

डा. शेरबहादुर पुनका अनुसार हामीसँग अहिले उपलब्ध खोप सामान्तयः स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनेका छन्। अहिलेको धेरै नै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले हामीले लगाएको खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन वा छल्यो भने समस्या आउन सक्छ।
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ : खोप प्रभावकारितामा प्रभाव पार्न सक्ने
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १२ : दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरियन्ट बि.१.१.५२९ अर्थात् ‘ओमिक्रोन’ तीव्र रूपमा बढिरहेको छ। 

संक्रमण पुष्टि भएका छोटो समयमै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषण गरिसकेको संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै डब्लुएचओ र विभिन्न चिकित्सकहरूले आग्रह गरेका छन्। 

दक्षिण अफ्रिका मात्र नभई बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा समेत ओमिक्रोन पुष्टि भइसकेको डब्लुएचओले जनाएको छ।

बेलायत, अमेरिका, इजरायल, जर्मनीलगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका आवतजावतमा समेत प्रतिबन्ध लगाइसकेको छ।

यसभन्दा अघि पनि कोरोनाको विभिन्न भेरियन्ट देखिएका थिए। तर, यो उत्परिवर्तन (म्युटेड) भएको हुनाले विगतको तुलनामा केही खतरा निम्त्याउने डा. पुनको भनाइ छ।

‘अहिलेसम्म नेपाल र भारतमा ओमिक्रोनको कुनै पनि केस पुष्टि भएका छैनन्। तर, यो म्युटेड भएको हुनाले संक्रमित हुन सक्ने सम्भावना बढेको छ। धेरै उत्परिवर्तन हुँदा भेरियन्टले संक्रमण गराउने सक्ने क्षमता वा खोपको प्रभावकारितामा पनि प्रभाव पार्ने हुन्छ,’ उनले काठमाडौं प्रेससँग भने।

डा. पुनका अनुसार हामीसँग अहिले उपलब्ध खोप सामान्तयः स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनेका छन्। अहिलेको धेरै नै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले हामीले लगाएको खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन वा छल्यो भने समस्या आउन सक्छ।

यसले हामीसँग भएको खोपको प्रभावकारिता घट्ने सम्भावना छ। यो भेरियन्ट कतिसम्म घातक हुने हो भन्ने अध्ययन भइरहेको छ। विस्तृत रुपमा यसले कस्तो अवस्था सिर्जना गर्ला भन्ने कुरा हेर्न बाँकी छ।

ओमिक्रोनले हाम्रो शरीको जिनमा अत्यधिक परिवर्तन ल्याउने भएकै कारण सचेत हुनुपर्ने डा. पुनले जानकारी दिए।  ‘नेपालमा अहिले हवाई उडानहरू पनि सुरु भइसकेको अवस्थामा जुनसुकै माध्यमबाट उक्त भेरियन्ट नेपाल भित्रन सक्छ। त्यसैले अगाडी नै सचेत हुन जरुरी छ,’ उनले भने ‘ओमिक्रोनमा विगतको भेरियन्टको तुलनामा बढी स्पाइक प्रोटिन देखिएको छ। यो भनेको भाइरसको आकृतिमा अझ बढी काँडेदार देखिएको हो।’

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको जनाएका छन्।

शनिबार बेलायतका दुईजना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका छन्। उनीहरू दक्षिण अफ्रिकाबाट आएका थिए।

जर्मनीमा पनि नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका दुई यात्रुमा ओमिक्रोन भेरियन्ट देखिएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ।

इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

चेक गणतन्त्रमा एक महिलामा ओमिक्रोन भेरियन्टको संक्रमण बताइएको छ। 

प्रकाशित मिति: १३:२३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्