Kathmandu Press

कात्तिक नाचमा जल शयण-मधु-कैटव बध मञ्चन हुँदै

ललितपुर, कात्तिक २९ : मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’मा आज कात्तिक नाचअन्तर्गत जल शयण-मधु-कैटव बध मञ्चन गरिने भएको छ।प्रत्येक वर्ष ललितपुर...
कात्तिक नाचमा जल शयण-मधु-कैटव बध मञ्चन हुँदै

ललितपुर, कात्तिक २९ : मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’मा आज कात्तिक नाचअन्तर्गत जल शयण-मधु-कैटव बध मञ्चन गरिने भएको छ।

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परा अनुसार साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएको हो। आज हरिबोधनी एकादशीको दिन भगवान् विष्णु जलबाट उठ्ने र अत्याचारी मधु-कैटव नामक दुई दानवको बध गर्ने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए।

उनका अनुसार, नाटकमा कृष्ण अर्थात् विष्णुको प्रवेश हुन्छ। मधु-कैटव पनि आउँछन्। बह्माजीले कमलको फूलमा बसेर तपस्या गरेका बेला मधु–कैटवले भगवान्लाई तर्साउन उहाँ बस्नुभएको फूलको डाँठनै हल्लाइदिन्छन्। बह्माजीले त्यसो नगर्न उनीहरुसँग आग्रह गर्छन्।

दानवले आफूहरुसँग भएको शक्तिका कारण बह्माजीको आग्रह अस्वीकार गर्छन्। बह्माजीले महामाया भगवतीको आरधना गर्छन्। महामाया प्रकट भएर यी दैत्यसँग युद्ध गर्छिन। उनीहरुले महामायालाई पराजय गराउँछन्।

यसैगरी बह्महाजीले पुनः विष्णुको आरधना गर्छन्। विष्णु प्रकट भएर ती दानवसँग युद्ध गरी शिर छेदन गर्ने कथामा आधारित नाटक वा नृत्य मञ्चन गरी आफूसँग भएको शक्तिको दुरुप्रयोग नगर्ने सन्देश दिइने चित्रकारले जानकारी दिए।

यो वर्ष आठ दिन प्रदर्शन गरिने सो नाचमा मङ्गलबार बराह अवतार र बुधबार नृसिंह अवतार प्रदर्शन गरी समाप्त गर्ने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले बताए। उनका अनुसार अन्य दिनका नाचभन्दा यस तीन नृत्य हेर्न बढी मानिसको उपस्थिति दरबार क्षेत्रमा हुनेगर्छ।

नाट्य महोत्सवको प्रदर्शन जोखिं, जो नगरा, धाः, दमौखी, मृदंग, पोंगा, झयाली र ता बाजा बजाएर गरिने पाटन निवासी राजेश ताम्राकारले बताए।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटि शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँले विशेषता बोकेको छ। (रासस)

प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्