Kathmandu Press

नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

चितवन, कात्तिक २६ : चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ। कविडाँडा साहित्य समाजको १९औं स्थापना दिवसको अवसरमा यही कात्तिक २७...
नेपाल–भारत साहित्य उत्सव सौराहामा हुने

चितवन, कात्तिक २६ : चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ। कविडाँडा साहित्य समाजको १९औं स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो ।

उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ। भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए। यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए। उत्सवको सबै तयारी पूरा भएको छ। 

कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ। भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहनेछन्। कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहनेछन्।

अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा. नवीन पौडेल, डा. टिबी क्षेत्री तथा  नेपालका डा. केशव चालिसे, डा. अशोक थापा र लीला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवर्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ।

तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदैछ।

सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ। सो  अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिनेछ। लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए।

त्यसैगरी आख्यानकार श्याम शाह, कथाकार गायत्री अधिकारी तथा शान्ति शर्मा, युवा सर्जक निर्दोष जीवन तथा समालोचक तथा निबन्धकार डीआर शर्मालाई विभिन्न विधामा पु¥याएको योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिने कार्यक्रम छ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहनुहुनेछ भने समापन समारोहमा कालेबुङका कवि राजेन्द्र भण्डारी प्रमुख अतिथि रहने कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्रीले बताए। कार्यक्रमले दुई देशबीचको साहित्य प्रवर्धननमा टेवा पुग्ने उनको भनाइ छ। 

कवि एवं पर्यटन व्यवसायी सुमन घिमिरेले सौराहामा नेपाल र भारतका साहित्यकारको जमघटले साहित्यिक गतिविधिसँगै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने बताए।

होटल जङ्गल सफारी लजका सञ्चालकसमेत रहेका घिमिरेको संयोजनमा सौराहामा समय–समयमा साहित्यिक कार्यक्रम हुँदै आएको छ। उत्सव होटल जङ्गल सफारी लजमा हुने तय भएको छ।

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्