Kathmandu Press

बेमौसमी वर्षाका कारण दुई सय हेक्टरको धानबालीमा क्षति

बेनी, कात्तिक ६ : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २ सय हेक्टर क्षेत्रफलमा लगाइएकोे धानबालीमा क्षति पुगेको छ। गत असोज ३१ गते...
बेमौसमी वर्षाका कारण दुई सय हेक्टरको धानबालीमा क्षति
Hardik ivfHardik ivf

बेनी, कात्तिक ६ : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २ सय हेक्टर क्षेत्रफलमा लगाइएकोे धानबालीमा क्षति पुगेको छ। गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका छवटै स्थानीयतहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार पाक्नै काटेर खेतमा सुकाएको धान पानीले भिजेर क्षति पुगेको छ भने पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर क्षति पु¥याएको छ।

अधिकृत सिग्देलका अनुसार जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान वर्षाले भिजेर क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन्। यस वर्ष धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए। तर, थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका हुन्।

त्यसैगरी केन्द्रका अनुसार ५७ हेक्टर क्षेत्रफलको तरकारी खेतीमा पनि क्षति पुगेको छ। यस वर्ष म्याग्दीमा एक हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। दुई हजार ७०५ हेक्टरमा गरिएको कोदो खेतीमध्ये ८३ हेक्टरमा क्षति पुगेको केन्द्रले जनाएको छ।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने केन्द्रको तथ्यांक छ। जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ।
 

प्रकाशित मिति: ११:१७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्