Kathmandu Press

पूरै गाउँ पहिरोको जोखिममा

म्याग्दी, कात्तिक ६ : म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ भने बाढीले विद्युत्गृह बगाएपछि विद्युत आपूर्ति बन्द...
पूरै गाउँ पहिरोको जोखिममा

म्याग्दी, कात्तिक ६ : म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ भने बाढीले विद्युत्गृह बगाएपछि विद्युत आपूर्ति बन्द भएको छ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन्। लमसुङमा रहेको स्वास्थ्य चौकीसमेत पहिरोको जोखिममा परेको स्थानीयवासी भक्तबहादुर सिङकिजाले जानकारी दिए।

केही दिनअघिको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए। भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घरपरिवार विस्थापित भएका हुन्।

लमसुङ बस्तीको माथितर्फ २०७४ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयवासी चिन्तित भएका छन्। तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँ नै जोखिममा पर्ने उनले बताए।

वडाध्यक्ष गमप्रसाद विकले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल भइरहेको बताए

यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि धौलागिरि गाउँपालिका २ का ३६५ परिवार विद्युत आपूर्तिबाट बञ्चित भएका छन्। बयालीस किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको नहर, बाँध र खबाङको विद्युत्गृह बाढीले बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो। (रासस)

 

प्रकाशित मिति: ०७:०६ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्