Kathmandu Press

पर्यटक भिसामा दुबई पुगेका सात युवाको उद्धार

पर्सा, कात्तिक ५ : वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिकाका सात युवा उद्धार पश्चात घर फर्केका छन्।बहुदरमाईका नगरप्रमुख...
पर्यटक भिसामा दुबई पुगेका सात युवाको उद्धार

पर्सा, कात्तिक ५ : वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिकाका सात युवा उद्धार पश्चात घर फर्केका छन्।

बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो। दुबई अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मी घर फर्केका हुन्।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्।

नगरप्रमुख साहले दशैं बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएको बताए।

अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएको उनले बताए। उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने उनको भनाइ छ। (रासस)

प्रकाशित मिति: ०७:५३ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्