Kathmandu Press

बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ घाइते, २६ बेपत्ता

अविरल वर्षाका कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ घाइते, २६ बेपत्ता
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ३ : अविरल वर्षाका कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी प्रदेश–१ मा ३०, वागमतीमा एक, कर्णालीमा सात र सुदूरपश्चिममा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रदेश–१ मा १४ र कर्णाली प्रदेशमा एक गरी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी प्रदेश–१ मा तीन र सुदूरपश्चिममा २३ गरी २६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढीका कारण एक हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, दुई गोठ, चार पुल र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । र, एक सय एक पशु चौपाया मरेका छन् । यसबीचमा एक सय ३४ वटा विपद्का घटनाबाट एक हजार ५० परिवार विस्थापित भएका छन् ।

कतिपय स्थानमा भएको सडक अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । तीमध्ये सल्यान कपुरकोट गाउँपालिका–५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका–४ लुहा खोलास्थित सुर्खेत–दैलेख सडक, लमजुङ मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेशीस्थित बेसिशहर–मनाङ सडक, बैतडी दोगडा केदार गाउँपालिका–६ सल्सेना र चम्तडी भन्ने स्थान, इलाम देउमाई नगरपालिका–३ मुलखर्कस्थित झुत्रेखोलानजिक नेपालटार–मंगलबारे सडक र दार्चुला शैल्यशिखर नगरपालिका–६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका–५ बगौडास्थित सडक अवरोध खुलाउने कार्य जारी छ ।

प्रकाशित मिति: १८:२० बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्