Kathmandu Press

भँगेरी डाँडो नगरकोट बन्यो, दरबार भने बेवास्तामा

राणाकालमै मोजमस्तीको थलो बनेको भँगेरी डाँडो ‘हिप्पी एरा’मा आएर हालको नगरकोटका रूपमा विकसित भयो। तर, नगरकोटको खास पहिचान भँगेरी दरबारको संरक्षण र त्यहाँ पर्यटकीय गतिविधि सञ्‍चालनका लागि सम्बन्धित निकायको ध्यान पुगेको छैन।
भँगेरी डाँडो नगरकोट बन्यो, दरबार भने बेवास्तामा

काठमाडौं, कात्तिक १ : सल्लाघारीको बीचमा दुईतले गोलाकार आलिसान भँगेरी दरबार पहिलोपटक देख्दा नवीन गुरुङलाई राजा बस्‍ने दरबार भनेको यस्तै होलाजस्तो लाग्थ्यो रे। सानोमा हजुरबुवासँग सैनिक ब्यारेकमा छिर्दा देखेको भव्य दरबारको सम्झना अझै पनि उनको मानसपटलमा ताजै छ।

‘पर्यटकीय क्षेत्रका रूपमा आफ्नो परिचय स्थापित गर्नुअघि नगरकोट डाँडा नभई भँगेरी डाँडाको रूपमा परिचित थियो,’ नगरकोट नाल्दम पर्यटन विकास समितिका अध्यक्ष गुरुङ सम्झिन्छन्, ‘डाँडा पनि खाली नै थिए। वनजंगल पनि खासै थिएन। सूर्योदय हेर्न, ट्रेकमा आउने पर्यटकहरू आफैँ प्याक गरेको खाना लिएर आउँथे। त्यही डाँडामा बसेर खान्थे अनि फर्किन्थे।’

उनका अनुसार दरबार निर्माणताका २४ इन्चको पर्खाल अनि अन्डरग्राउन्ड भेन्टिलेटर बनाउने गरिएको रहेछ। चार दशक अघिसम्म नगरकोटमा पर्यटन सुरु भएको थिएन। चिसो ठाउँ भएका कारण राणाहरूको गर्मी छल्न जाने स्थानको रूपमा भँगेरी डाँडो परिचित थियो।

राणाकालीन इतिहास बोकेको भँगेरी दरबारको पहिचान भने छायामा परेको छ, अहिले। कारण- यो दरबारको बारेमा कमैलाई जानकारी होला। बाह्य र आन्तरिक पर्यटक मात्र होइन, स्थानीय बासिन्दाकै लागि पनि भँगेरी दरबार खासै चासोमा छैन, अहिले। यो दरबारसँगै अर्को पुतली दरबार पनि बनाइएको छ। यद्यपि, पुतली दरबारको तुलनामा चर्चा भने भँगेरी दरबारकै बढी भएको गुरुङ बताउँछन्।

चन्द्रशम्शेरको क्षयरोग उपचारका लागि बनेको दरबार

नगरकोट भन्‍नासाथ धेरैले नापिसकेको सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्य दिमागमा आउँछ। यो सुन्दर गन्तव्यमा राणाकालमै निर्मित भँगेरी दरबारबारे इतिहासकारहरू नै त्यति विधि परिचित छैनन्। गुरुङका अनुसार यो दरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा बनेकोसम्म जानकारी छ।

‘हामीले दरबारकै नाममा एक होटल स्थापना गर्ने निधो गरेको थियौँ। सोही क्रममा दरबारको ऐतिहासिकताबारे अध्ययन गर्ने क्रममा केही कागजात भेट्यौँ,’ उनी भन्छन्, ‘हाम्रो अध्ययनको निष्‍कर्ष पनि चन्द्रशम्शेरले बनाएको भन्‍ने नै रह्यो।’

उनका अनुसार एकपटक राणा प्रधानमन्त्री चन्द्रशम्शेर बिरामी परे। उनी क्षयरोगबाट ग्रसित बनेका रहेछन्, जसका कारण उनलाई राजवैद्यले नगरकोटमा बसी उपचार गर्नसल्लाह दिए। वैद्यको सल्लाहअनुसार नै उनी नगरकोट बस्‍न गए। त्यतिबेलाको दुर्गम ठाउँमा बस्‍न समस्या हुँदा उनले दरबार बनाउन लगाए।

नगरकोटस्थित राष्‍ट्रिय वैद्यखाना यसको अर्को प्रमाण हुनसक्छ। नेपालकै राष्‍ट्रियस्तरको वैद्यखाना नगरकोट टावरस्थित जंगल परिसरमा छ। नगरकोटको हावापानी, वातावरण र सहजै पाइने जुडिबुटीका कारण पनि चन्द्रशम्शेरलाई उक्त स्थान सुझाएको अनुमान जानकारहरूको छ।

करिब ६ महिनाको बसाइपछि उनी निको भए। बनेको दरबार कसलाई छोडेर जाने चिन्ता भयो उनलाई। र, नगरकोट क्षेत्रकै एक महिलासँग विवाह गरेर उनलाई दरबार सुम्पिए। स्थानीय महिलाहरू मध्येबाट उनलाई मन परेकी छानेर विवाह गरे। उनको नाम भँगेरी थियो वा चन्द्रशम्शेरलाई उनी भँगेरीजस्तै लागेर हो, उनले दरबारको नाम पनि भँगेरी नै जुराएको जानकारी अध्ययनका क्रममा प्राप्त भएको गुरुङले बताए।

उनका अनुसार जोडी दरबार बनाउने इच्छाअनुसार उनले छेउमै पुतली दरबार पनि बनाउन लगाए। तथापि, भँगेरीजस्तो पुतली दरबारको भने चर्चा पाइँदैन। अध्ययनका क्रममा चन्द्रशम्शेरले मंगोलियन समुदायकी अर्की महिलालाई विवाह गरेर पुतली दरबार उनैलाई सुम्पिएको पत्ता लागेको छ।

राणाहरूले रुचाएको नगरकोट : पर्यटन सुरु हुनुअघिको इतिहास

एस होटलका प्रमुख तथा क्लब हिमालयका सञ्‍चालक योगेन्द्र शाक्यका अनुसार चन्द्रशम्शेरले नगरकोटसम्म आउन बग्गी गुड्नयोग्य बाटो बनाउन लगाएका थिए। नगरकोटमा पर्यटन विकास हुनुअघि नै राणाहरू आफ्ना रानी र महिलासँग रोमान्सको लागि जाने ठाउँ थियो।

यस कोणबाट हेर्दा पर्यटन विकास हुनुअघि नै नगरकोट चर्चामा रहेको जानकारी मिल्छ। त्यही भँगेरी डाँडो पछि ‘हिप्पी एरा’मा घुम्‍ने, ड्रग्स खाने, मोजमस्ती गर्ने ठाउँ बन्यो। गुरुङ भन्छन्, ‘हामीले नगरकोटमा रमाइलो, मोजमस्ती, विलासिता र पर्यटनको सम्भावना देख्नुअघि राणाहरूले यसलाई चिनिसकेका थिए।’

सेनाको संरक्षणमा दरबार

पर्यटकीय दृष्‍टिकोणबाट सशक्त रहेको नगरकोटको अर्को बलियो पाटो हो, भँगेरी दरबार। ऐतिहासिक महत्त्वको यो दरबार पर्यटक आकर्षित गर्ने अर्को बलियो पाटो हुनसक्थ्यो। तर, दरबार सैनिक इलाकाभित्र परेका कारण यसको भ्रमण र अनुगमनमा निकै कडाइ गरिएको छ।

गुरुङ भन्छन्, ‘नगरकोट आएका पर्यटकका लागि दरबार अर्को आकर्षणको केन्द्र हुने थियो। तर, दरबार सैनिक इलाकामा पर्छ। त्यहाँभित्र उहाँहरूको नीति नियम र विधान चल्छ। यसमा हामीले केही भन्‍न मिल्दैन।’

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पका कारण पुतली दरबारको भग्‍नावशेष मात्र बाँकी छ। भँगेरी दरबारलाई खासै क्षति पुगेको छैन।

विसं २००९ सालमा सेनाको ब्यारेक बनेसँगै दरबार पनि सोही हाताभित्र पर्‍यो। विस्तारै सेनाका शिक्षालय र तालिम केन्द्र बने। सोही कारण दरबार भ्रमण र प्रवेशमा सर्वसाधारणलाई सहज छैन। यद्यपि, सेनाको संरक्षणमा दरबार भने सुरक्षित छ।

पर्यटन र सुरक्षा बलियो, सुविधा भने फितलो

दरबार मात्र नभई सैनिक इलाका भएका कारण यहाँको पर्यटनमा धेरै राहत मिलेको गुरुङको मत छ। सैन्य सुरक्षाका कारण दरबारसम्म कोही पुग्‍न सक्दैनन्। र, अवाञ्‍छित गतिविधि पनि हुन पाएको छैन।

विश्‍वकै घुम्‍नलायक उत्कृष्‍ट गन्तव्यहरूको सूचीमा पर्छ, नगरकोट। तर, बाटोघाटो, पदमार्गलगायत सुविधा भने नगरकोट क्षेत्रमा कमजोर नै छ। नगरकोट पुग्‍न सबैभन्दा धेरै प्रयोग हुन्छ, तेलकोट-नगरकोट सडक। यो नगरकोट पुग्‍ने पुरानो सडक हो। अहिले तेलकोटबाट नयाँ सडक पनि निर्माण भएको छ। यस्तै, भँगेरी दरबारनजिकबाट सीधा भक्तपुर कलमसी पुग्‍ने पक्की सडह पनि सञ्‍चालनमा छ । पर्यटकीय गन्तव्य भइकन पनि नगरकोट क्षेत्रमा सार्वजनिक शौचालयको समस्या चर्को छ।

ठूला र आलिसान होटल र रिर्सोट निर्माण भए पनि नगरकोटसम्म पुग्‍ने बाटोघाटो र सुविधाले निम्‍नस्तरकै छ। नगरकोट भक्तपुर र काभ्रेको सीमामा परेका कारण जिम्मेवार निकायबाट यसको विकासको लागि पहल हुन नसकेको गुरुङको अनुमान छ। पछिल्लो समयमा भक्तपुर चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाको समन्वयमा चोकहरूमा पर्यटक बसपार्क, शौचालयजस्ता आधारभूत पाटोमा विस्तारै ध्यान जान थालेको पाइन्छ।

‘सेना इलाकामा हामीले हस्तक्षेप गर्न मिल्दैन’

चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रका अनुसार हालसम्म दरबारकै लागि भनेर कुनै योजना बनेको छैन। सेनाको इलाकाभित्र पर्नुको कारण पनि हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ।

‘पर्यटकीय दृष्‍टिकोणले हामीले झोलुंगे पुल, पदमार्ग, जिपलाइनका योजना सेनाबाट चलाउन अनुमति पाएका छैनौँ,’ उनी भन्छन्, ‘मुहानपोखरी सीधामाथि जिपलाइनको तार टाँगिसकेका छौँ, त्यही पनि सेनाले चलाउन दिएको छैन। सैनिक इलाकाभित्र रहेको दरबारको जिम्मेवारी झन् प्रत्यक्ष रूपमा उहाँहरूकै भयो। त्यसमा हामीले केही गर्न मिल्दैन।’

प्रकाशित मिति: १४:०० बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्