Kathmandu Press

दशैं दर्शन : दशैंको पिँधमा के छ ?

नेपाली समाजमा आभिचारिक चिन्तनमा आधारित साधना पद्धतिलाई अपनाइएको देखिन्छ । अथवर्वेदमा आधारित टुनामुना, मारणमोहन, उच्चाटन र वशीकरण जस्ता तान्त्रिक विधिबाट साधना गरी लक्षित उद्देश्य प्राप्तिको कामना गरिएको प्रसंग पाइन्छ।
दशैं दर्शन : दशैंको पिँधमा के छ ?

सनातन संस्कृतिमा चार रात्रिको महत्त्वपूर्ण स्थान छ– मोहरात्रि (श्रीकृष्णाष्टमी), कालरात्रि (विजयादशमी) सुखरात्रि (लक्ष्मीपूजाको रात्र) र शिवरात्रि । 

यी रात्र बोधार्थक पर्वले रात्रिको दार्शनिकतामाथि प्रकाश पारेका छन् । दिन र रात अर्थात् अनन्त समयभन्दा माथि रहेका कालका पनि काल महाकाल शिवस्वरूप रहेको भन्ने चिन्तनमा शिवरात्रिको महत्त्व छ । शिव र शक्तिको संयोजनबाटै सृष्टिचक्र प्रणालीको लय र प्रलय हुने शाश्वत सारमा ब्रह्मा, विष्णु र महेश्वर स्वरूपको त्रिदेव चिन्तन ओमकार चिन्तनमा झंकृत भएको छ । पुरुष र प्रकृति अर्थात् कर्ता र कारकको सम्बन्ध कारक भावार्थबाट सृष्टि र वियोजनबाट प्रलय हुने यस कार्य¬कारण भावको अद्वैतदर्शनको बोधार्थ भएको छ, (राधाकृष्ण, भारतीय दर्शन, भाग २,पृष्ठ २२२) । शक्तिविना शिव शव हुने भएकाले शिवशक्तिको एकात्मक स्वरूपमै सिर्जना हुने प्रकृतिको शाश्वत चिन्तनलाई अभिव्यक्त गरिएको छ । त्यसकारण शिवशाक्त दर्शनका अनुयायी अर्थात् कौलमार्गीले जीवित स्त्रीको योनिस्वरूपलाई पूजा अनुष्ठान गर्ने परम्परा रहेकोे यस चिन्तनलाई अभिव्यक्त गर्न शिवशक्तिका आलिंगनरत, ललितासन र सौम्यभाव स्वरूपका प्रतिमा बनाउने प्रचलन काठमाडांै उपत्यकाका नेवार समुदायमा आजपर्यन्त जीवन्त रहेको छ । 

निर्वाण, मोक्ष, कैवल्य वा शून्यताको अवस्थालाई प्रतीकात्मक स्वरूपमा निर्माण गरिएका आलिंगनरत र मैथुनरत अवस्थाका प्रतिमाको दार्शनिकतामा सृष्टिको कारकतत्त्व प्रकृति र पुरुषबीचको अद्वैत सम्बन्धलाई देखाइएको हुन्छ । प्रकृतिको बन्धनबाट माथि उठी शून्यस्वरूपको अवस्थालाई पनि यस प्रकृतिका प्रतिमाको माध्यमबाट बोधार्थ गरिएको छ । शाक्त, शैव, महायानी र वज्रयानी बौद्ध परम्पराका तन्त्रसाधनामा शक्तिलाई विशेष स्थान दिइनुको दार्शनिक कारण यही हो । यसरी तान्त्रिक अनुष्ठानबाट सिद्धि प्राप्त भएपछि लिंगद्वारा दूध र पानी चुसेर आफ्नो स्खलित वीर्यको साथै स्त्रीको मद चुसेर आफ्नो मस्तकमाथि स्थापित गराई स्त्रीको सतित्त्व र आफ्नो ब्रह्मचार्य कायम राख्दै शून्यताको अनुभव गर्न सकिने रहस्य कुलार्णव तन्त्रमा व्याख्या गरिएको छ, (धन शमशेर जबरा, कुलार्णव–रहस्य पृ –१०५) ।

वस्तुतः आर्यइतर मानिएको शैवदर्शनलाई वैदिक सभ्यताभन्दा पुरानो मानिएको छ । वैदिक सभ्यताभन्दा प्राचीन मानिएको सिन्धुघाँटीको सभ्यतामा पशुपति स्वरूपका नग्नमूर्तिहरू पुरातात्त्विक उत्खननबाट प्राप्त भएका छन् । प्रकृतिका भयानक, डरलाग्दा र रहस्यपूर्ण शक्तिबाट बाँच्न आदिम मानवले डर वा आस्थागत मनोविज्ञानका कारण शिवलाई रुद्रको रूपमा उपासना गरेको हो । ऋग्वेदमा हाम्रा पशुलाई नमार, हामीलाई दुःख नदेऊ, बिजुली र चट्याङ नपारी देऊ भन्दै रुद्रोपासना गरेका ऋचा छन् । सुरुमा भक्षक र विनाशकारी शक्तिको रूपमा चित्रित देवता वैदिककालमा कल्याणकारी र परोपकारी देवताको रूपमा पूजित छन् । अथर्व वेदमा उनलार्ई भव, सर्व, रुद्र, पशुपति, उग्र, भीम, महादेव र ईशान आदि नामबाट सम्बोधन गरिएको पाइन्छ । पछि उपनिषद् र महाकाव्यकाल (रामायण र महाभारतकालीन समय) सम्म आइपुग्दा आर्यको चिन्तनमा शैवदर्शनले विशिष्ट स्थान प्राप्त गरेको देखिन्छ । आर्यले शिवलाई कल्याणकारी देवताको रूपमा स्वीकार गरिसकेपछि यस दर्शनको विकास  क्रममा अनेक प्रकारका शाखा उपशाखा र सम्प्रदायको विकास भएको देखिन्छ । पाशुपत, शैव, कापालिक, कालामुख, लिंगयत र अघोरीबाबा आदिका चिन्तनमा बोन धर्मबाट लिइएका तान्त्रिक आचारविधि, प्राकृतिक स्वभाववादी चिन्तन–दृष्टिको प्रभाव रहेको देखिन्छ, (विष्णु प्रभात, शैवदर्शनः संक्षिप्त विमर्श, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०७४।७।३० मा आयोजित कार्यक्रममा प्रस्तुत) ।

शैवदर्शन प्राकृतिक शाश्वत चिन्तनमा आधारित दर्शन हो । सांख्य दर्शनमा पञ्चमहाभूत, पञ्चतन्मात्रा, पञ्चज्ञानेन्द्रीय, पञ्चकर्मेन्द्रीय, महत् तत्त्व, अहंकार, प्रकृति–पुरुष र मन गरी २५ तत्त्व र शैवदर्शनमा ३६ तत्त्वको चर्चा गरिएको छ । ती ३६ तत्त्वलाई पनि तीन भागमा विभाजन गरिएको छ– (क) शिवतत्त्व (यसअन्तर्गत शिव, शक्ति) । (ख) विद्यातत्त्व (यस अन्तर्गत सदाशिव, ईश्वर, शुद्धविद्या) । (ग) आत्मातत्त्व (यस अन्त्र्गत माया, कला, विद्या, काल, नियति, राग, पुरुष, प्रकृति, बुद्धि, अहंकार, मन, श्रोत, त्वक, चक्षु, जिब्रो, घ्राण, वाक, पाणि, पाद, गुदा, उपस्थ, शब्द, स्पर्श, रूप, रस, गन्ध, आकाश, वायु, तेज, जल र पृथ्वी) । जीवले सांसारिक भवचक्र (८४ लाख योनि) हरूको भेदन गरी शिव र शक्तिको साम्य स्वरूपको पूर्णता प्राप्त गर्नुपर्छ अर्थात् समय भन्दा माथि उठी पूर्ण ओमकारको स्वरूपमा रहनुपर्छ भन्ने नै शिवत्वको सार हो ।

‘मोक्षो हि नाम नैवान्यः स्वरूपप्रथनं हि तत्– अभिनवगुप्त ।’ अर्थात् आफ्नो सत्य स्वरूपमा निरन्तर स्थिर रहनु नै मोक्ष हो । यो नै शैवदर्शनले दिग्दर्शन गरेको जीवात्माले प्राप्त गर्ने पराकाष्ठा हो । यो नै शिवस्वरूप हो, जुन शक्तिको अनुग्रहबाट प्राप्त हुन्छ । चित्तको क्लेश विनाश भइसकेपछि जीवले चैतन्य स्वरूपमा अवस्थित हुन्छ । त्यसकारण जीव र शिवमा भेद छैन । यो अभेदको स्थिति हो, अद्वैतको स्थिति हो । जीव र ब्रह्ममा भेद छैन । मायाले गर्दा नै भेद देखिएको हो । माया नै अविद्या हो । अविद्याले नै जगतको रचना गर्दछ । ‘ब्रह्मसत्य जगन्मिथ्या जीवो ब्रह्मैव नापरः’  भन्ने आद्य जगद्गुरु शंकराचार्यको अद्वैत वेदान्तको मर्मले पनि यसैलाई पुष्टि गर्दछ । अज्ञानका कारण मात्रै भेद देखिएको हो । द्वैत देखिएको हो । साधना र उपासनाका विभिन्न आयामबाट अविद्या (अज्ञान) को नाश गरिन्छ । साधकको भावभूमि, मनोवस्था र विभिन्न कुरालाई दृष्टि राखेर शैवदर्शन अन्तर्गत विभिन्न योग, तन्त्र, भक्ति, उपासना, कर्मका साधना निर्देश गरिएको हो । 

शिवजीका पाँच मुखबाट पाँच आम्नायको पार्दुर्भाव भयो । आम्नायको भेदले गर्दा नै विभिन्न पद्धति र विभिन्न देवीदेवताहरूको, शिव–शक्तिको उत्पति भएको देखिन्छ । अन्ततोगत्वा परमशिव र परमशक्तिको एकरूपता नै निराकार, निर्गुण, सर्वव्यापक, चैतन्य हो । सत्यम् शिवम् सुन्दरम् हो । 

शिवजीको पूर्वमुख तत्पुरुषबाट पूर्वाम्नाय, पश्चिममुख सद्योजातबाट पश्चिमाम्नाय, उत्तरमुख वामदेवबाट उत्तराम्नाय, दक्षिणमुख अघोरबाट दक्षिणाम्नाय र उध्र्वमुख इशानबाट उध्र्वम्नायको वर्णन गरिएको छ । आम्नायोपासनाको बारेमा कुलार्णव तन्त्रमा भनिएको छ–

मन्त्रयोगं विदुः पूर्वं भक्तियोगञ्च दक्षिणम् ।

पश्चिमं कर्मयोगञ्च ज्ञानयोगं तथोत्तरम् ।

पूर्वाम्नायमा मन्त्रयोग, दक्षिणाम्नायमा भक्तियोग, पश्चिमाम्नायमा कर्मयोग अनि उत्तराम्नायमा ज्ञानयोग र उध्र्वाम्नायमा चारै प्रकारको योग समष्टि गरी राजाधिराजयोगबाट उपासना गर्नुपर्छ ।

शैवशाक्तको सम्बन्ध अक्षर दर्शनमा सम्माहित भएको देखिन्छ । कहिले नाश नहुनु नै अक्षरको दार्शनिक भावार्थ हो । व्यञ्जन वर्णका ‘क’ देखि ‘क्ष’सम्मका वर्ण शिवस्वरूप हुन्छन् र ती समष्टि र व्यष्टि रूपबाट छत्तीस तत्त्वात्मक हुन्छन् भने अकारदेखि विसर्गसम्मका अर्थात् स्वरवर्णहरू शक्तिस्वरूप रहेका हुन्छन् । यिनै शिवशक्ति स्वरूप स्वर र व्यञ्जन वर्णहरू परस्पर मिलेर शब्दार्थको प्रतिपादन गर्दछन् । शिवस्वरूप व्यञ्जन वर्ण आफू स्वतन्त्र हुँदैन । यी शक्ति स्वरूपको अधिनमा हुन्छन् र शक्तिस्वरूप स्वरचाहिँ सदा स्वतन्त्र हुन्छन् । अतः शिवबाट व्यञ्जन वर्णको उद्धार र शक्तिबाट स्वर वर्णको उद्धार हुन्छ भन्ने तान्त्रिक दर्शन रहेको छ । यस भावलाई रतासनको चित्रमा पुरुषबाट व्यञ्जन वर्णको र स्त्री रूपबाट स्वर वर्णको भावमा देखाइएको हुन्छ, (धनशमशेर जबरा, कामकाल रहस्यको प्रस्तावना खण्डबाट) । विशेषगरी शैवशाक्त तन्त्र साधनामा स्वरवर्ण र व्यञ्जन वर्णको आधिष्ठात्री देवीदेवताको कल्पना गर्नुमा यसै दर्शनको सार रहेको छ, (धनशमशेर जबराको कामकला रहस्य) ।

हामी हिन्दूहरू प्रकृतिपूजक अर्थात् लिंगपूजक हौं । संसारको शाश्वत सत्यलाई लिंग–योनिको सम्बन्धबाट अभिव्यक्त गरिएको छ । यसै शैवमतलाई अनुभव गर्न धार्मिक, सांस्कृतिक, तान्त्रिक अभ्यास र अनुष्ठानमा लिंगोपासनालाई स्वीकार गरिएको छ । लिंग–योनियुक्त शिवलिंगलाई एकातिर आकाश र पृथ्वीको प्रतीकात्मक स्वरूपमा देखाइएको हुन्छ भने अर्कोतिर शिवलिंगका पञ्चमुखले पञ्चमहाभूतको बोधार्थ गरेको हुन्छ । शिव–शक्तिको सौम्यपरक प्रतिमामा सृष्टिको सृजनशीलतालाई चित्रण गरिएको छ भने शिवशक्तिको रौद्र स्वरूपका प्रतिमामा प्रलय दर्शनलाई चित्रण गरिएको हुन्छ । यसरी हेर्दा अर्धनारीश्वर र युगल स्वरूपको शिवशक्तिले प्रेमको उच्चतम अवस्थामा संसारको सिर्जना हुने र संहारकर्ता शिवको नटराज स्वरूपमा अहं र मायाको संहार हुने तथ्य हातमा लिएको आगो र सम्पूर्ण शरीर ढाक्ने गरेर राखिएको आगोको प्रभाव मण्डलबाट प्रस्ट हुन्छ । यस आधारमा शिवको प्रतीक लिंग र योन्याकार जलहरीको जस्तो तादात्म्य छ, त्यो प्राचीनकालको मान्यता र मौलिकतालाई नबिर्सिकनै आगम साहित्यको विकास भएको छ । जहाँ शिव छन्, त्यहाँ देवी छन् र जहाँ देवीपीठ छ, त्यहाँ अवश्य नै शिव छन् । शिवशक्तिको यो अभिन्नता नै तान्त्रिक साहित्यको मौलिक पक्ष हो । शिव घोररूप भए देवीको थामसी रूप काली वा भैरवी, शिव राजसी भए दुर्गा, पार्वती र शिव सात्त्विक रूप सरस्वती, लक्ष्मी, भुवनेश्वरी आदि सात्त्विक रूपा देवीको तादात्म्य रहन्छ, (कुलचन्द्र कोइराला, शाक्त सम्प्रदाय र शक्तिपीठ ) ।

नेपाल शैवशाक्त भूमि हो । नेपाल राज्यको उत्पत्तिमा शैव शाक्त धर्म र दर्शनले विशेष प्रभाव पारेको छ । पौराणिक–धार्मिक शास्त्रमा नेपाललाई शिव शक्तिको तपोस्थलको रूपमा चित्रण गरिएको छ । यहाँका हिमालय र पर्वतहरू शिव पार्वतीका आश्रयस्थल हुन् शिव हिमाली भूमिका कुल देवता हुन् । यहाँका आदिवासी जनजातिले शिवजीलाई आफ्नो कुल देवताका रूपमा अँगालेको पाइन्छ । शिव पार्वतीलाई किरात पारुहाङ र सुम्निमाको स्वरूपमा पूजा गर्दछन् भने पश्चिम नेपालका खश जातिले शिवजीलाई मष्टो स्वरूपमा पूजा गर्दछन् । त्यस्तै गरी मगरले शिवजीलाई नागवंशीय इन्द्रको स्वरूपमा पूजा गर्ने गर्दछन्, (मगर वंशावली) । यहाँका नदीनाला, हिमालय, पाखा पर्वत र वन पैदावर शैव धर्म र दर्शनसँग सम्बन्धित छन् । विशेषगरी काठमाडौं उपत्यकाका नेवारले शिव शक्तिको विशेष रूपमा उपासना गरेका छन् । नवदुर्गा, अष्टमातृका, सप्तमातृका र दश महाविद्याले राष्ट्रको रक्षा गर्छन् भन्ने विश्वासमा यहाँका नेवारले शाक्त शैव दर्शनलाई अँगाली त्यसै अनुरूपको कला वास्तुकला, संस्कृति, सम्पदा र पर्व परम्पराको विकास गरेका छन् । सयौं मठ, मन्दिर, शिवालय, देवालय लगायत धार्मिक तीर्थस्थलमा आज पनि उत्तिकै आस्थाका साथ अनुष्ठान र अभ्यास गरिन्छ । यस आधारमा आराध्यदेव शिवजीलाई सबै धर्म र संस्कृतिका साझा देवताका रूपमा स्वीकार गरिएको छ । 

नेपाली समाजमा आभिचारिक चिन्तनमा आधारित साधना पद्धतिलाई अपनाइएको देखिन्छ । अथवर्वेदमा आधारित टुनामुना, मारणमोहन, उच्चाटन र वशीकरण जस्ता तान्त्रिक विधिबाट साधना गरी लक्षित उद्देश्य प्राप्तिको कामना गरिएको प्रसंग पाइन्छ । मोक्ष प्राप्त गर्ने विभिन्न विधिमध्ये तन्त्र साधना एउटा विधि हो । तान्त्रिक अभ्यास र साधनामा मद्य, मुद्रा, मैथुन, माछा र मांश अर्थात् पञ्चमकार सिद्धान्तलाई स्वीकार गरिएको छ । शाक्त साधनामा बली दिने परम्परा तन्त्र विज्ञानमा आधारित छ । वैदिक ऋचामा तन्त्र अभ्यासको संकेत पाइन्छ । कर्मकाण्डप्रधान वैदिक युगमा ठुल्ठूला यज्ञहरू गरिन्थ्यो । त्यस युगमा अश्वमेध यज्ञ र गोमेध यज्ञ विशेष चर्चित छन्, (पिभी काणेको धर्मशास्त्रको इतिहास पाँचवटै भाग हेर्नुहोस्) । यस आधारबाट विशेष किसिमको घोडा र गाईको बली दिने परम्परा वैदिक युगमा थियो । वैदिक युगको चिन्तन परम्परा नै नेपाली संस्कृतिको विशिष्ट आधार हो । 

नेपालको सांस्कृतिक परम्परामा तन्त्रको विकासमा शाक्त दर्शनको विशेष भूमिका देखिन्छ । नेपालमा बंगालबाट तन्त्र साधनाको प्रवेश पूर्वमल्लकालमै भएको विद्वानको विचार छ । डाकिनी, साकिनी, राकिनी, बंगाली आदि देवीमध्ये बंगाली बंगालबाट ल्याइएकी तान्त्रिक देवी हुन् । देशैभरिका शाक्त पीठमा तान्त्रिक विधिसहित बली दिइन्छ । तन्त्र विज्ञानमा पञ्चमकारको प्रतीकात्मक भावार्थ छ । पञ्चमकार लौकिक भावार्थमा अश्लील बोधार्थ लाग्छ, तर यसको गुढ रहस्य साधक र दीक्षा प्राप्त व्यक्तिले मात्र बुझ्छ । अनधिकृत व्यक्तिले यसको गलत प्रयोग नगरून् भन्ने अर्थमा गुढ भाषामा तन्त्रका मन्त्रको रचना गरिएको हुन सक्छ । जस्तै : पञ्चमकारमा मद्यको लौकिक अर्थ सुरापान गर्ने नभई दार्शनिक भावार्थमा सहस्रार चक्रबाट चुहिएको अमृतपान गर्ने सुधापायी भन्ने बुझिन्छ । मांशको अर्थ जीवित पशु मारेर मासु खाने नभई काम, क्रोध, लोभमोहरूपी पशुलाई विवेकरूपी तरबारले काटेर परमान्दमा रमाउनु भन्ने दार्शनिक भावार्थमा शाक्त मन्दिरमा बली दिने प्रथा गरिएको हो । इन्द्रीय नियन्त्रण गरी परमात्मा लीन हुने अर्थमा मत्स्यलाई स्वीकार गरिएको छ भने महाकुण्डली जगाउने अर्थमा मुद्राको साधना गरिन्छ । त्यसैगरी आत्मा र परमात्माको संयोगलाई प्रतीकात्मक अर्थमा मैथुनको अभ्यास गरिन्छ, न कि स्त्रीपुरुष बीचको शारीरिक संसर्ग, (कुलार्णव  रहस्य, पृ. १६–१७)।

त्यसकारण शाक्त साधनामा वलीलाई शास्त्रीय र वैज्ञानिक मानिन्छ । विशेष उपासना र अनुष्ठान गरी दिइने बलीले एकातिर उक्त पशुले पशुयोनिबाट मोक्ष पाओस् भन्ने अपेक्षा राखिन्छ भने अर्कोतिर साधकको विकारयुक्त क्लेश नाश हुन्छन् भन्ने विश्वासमा बलीप्रथाको अवधारणा सार्थक लाग्छ ।

नेपाली संस्कृतिमा शाक्त दर्शनलाई विभिन्न स्वरूपबाट पुज्ने परम्परा छ । सप्तमातृका, अष्टमातृकाको अवधारणा लिच्छवि र विशेषगरी मल्लकालमा उन्नत अवस्थामा थियो । शाक्त उपासनाको परम्परामै दशमहाविद्या र नवदुर्गाहरूको पूजा उपासना गर्ने प्रचलन अद्यापि छ । काली, तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, मातांगी र कमला नामका दशमहाविद्या देवीहरूको ललितपुरको पाटनमा विशेष पूजा हुन्छ । देशैभरिका शाक्तपीठमा नवदुर्गाको पूजा गर्ने प्रचलन छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डी, स्कन्दमाता, कात्यानी, कालरात्रि, महागौरी र शिद्धमाताको स्वरूपमा पूजा गर्नु तन्त्र विज्ञानको आधार हो । यी हरेक देवको विशिष्ट दर्शन र पूजापद्धति रहेको हुन्छ । लौकिक भावमा आभिचारिक प्रवृत्तिजस्तो देखिए पनि आध्यात्मिक र दार्शनिक भावमा भने मोक्ष र जीवनजगत्प्रतिको विशिष्टतालाई अभिव्यक्त गरेको हुन्छ ।

शैवशाक्त दर्शनको प्रारम्भिक अवस्था ऋग्वेदभन्दा पहिलाको स्वीकार गरिएको छ । शिव यसका प्रणेता हुन् । ऋग्वेदमा शिवलाई शिष्नपूजक (लिंगपूजक) भनी निन्दा गरिएको भए पनि प्रकृतिलाई महत्त्व दिने मातृप्रधान समाजको तान्त्रिक चिन्नन बनेर शैव दर्शन रहेको छ । शैवशाक्त दर्शन नेपाली चिन्तन परम्परामा तेस्रो ज्ञानधारा हो । पहिलो बोन दर्शन हो र दोस्र्रो मातृत्वपूजक तन्त्र दर्शन हो । शैव दर्शनपछि ब्रह्मवादी याज्ञवल्क्यको हिन्दू सनातनी धारा चौथो धारा हो । त्यसपछि बुद्धको मानवतावादी दर्शन देखापरेको छ । नेपालमा शैव उपासनाको परम्परालाई हेर्दा सौम्य रूपका शिव र शक्ति दुवैको समन्वय नै मुख्य चरित्रको रूपमा देखापर्दछ । सौम्य स्वरूपका शिव एवम् रौद्र स्वरूपका भैरव दुवै काठमाडौं उपत्यकामा पुजिए जस्तै आर्यपुत्री गौरी र किराती शंकर पनि एकैसाथ पुजिन्छन् । यसैले शैवशाक्त दर्शनको सन्दर्भमा अध्ययन गर्दा धर्मको वृत्तबाट माथि उठी समग्र शैव सोच, सिद्धान्त, संस्कृति र समाजको अध्ययन गर्नुपर्छ । दर्शनलाई धर्मभित्र होइन, धर्मलाई दर्शनको आँखाबाट हेर्नुपर्छ, तबमात्र धर्मशास्त्र र दर्शनशास्त्रको सही अस्तित्त्व बोध गर्न सकिन्छ ।

प्रकाशित मिति: ०९:४७ बजे, सोमबार, कात्तिक १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्