Kathmandu Press

डिजिटल दसैं : अनलाइनबाटै टीका, डिजिटल वालेटबाट दक्षिणा

डिजिटल दसैं पछिल्ला वर्षमा चल्तीको चलन बनेको छ। त्यसलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले योजना नै ल्याउने गरेका छन्।
डिजिटल दसैं : अनलाइनबाटै टीका, डिजिटल वालेटबाट दक्षिणा
तस्बिर साभार : @nepalitelecom
Hardik ivfHardik ivf

काठमाडौं असोज ३१ : तीन वर्षदेखि अध्ययनको सिलसिलामा अस्ट्रेलिया छन्, झापाका अज्ञात लुइँटेल । उनलाई दसैंमा स्वदेश नभएकामा खासै फरक पदैन । किनकि, उनले दसैंको सुरुवाती दिनदेखि अनलाइनबाट पूजामा सहभागी हुन्छन् ।

दसैंको समयमा घटस्थापनाको दिनदेखि अनलाइनबाट पुजामा सहभागी हुन्छन् । भन्छन्, ‘अनलाइनबाटै गुरुसँग भिडियोमा कुराकानी हुन्छ ।’

अस्ट्रेलियामा भए पनि पूजा अवधिभर माछामासु खाँदैनन् उनी । दशमीको दिनमा दुईपटक टीका लगाउने गरेको उनी बताउँछन् । ‘अस्ट्रेलिया र नेपालको साइतमा अनलाइनबाटै टीका लगाउँछु,’ उनी भन्छन्, ‘छोरालाई दक्षिणा दिने चलन छैन । बरु बुवाको गोडा ढोगेर डिजिटल माध्यमबाट पैसा पठाउँछु ।’

टाढा भए पनि भिडियोमा कुराकानी गर्दै चाडपर्व मनाउँदा त्यति नरमाइलो पनि नलाग्ने उनको भनाइ छ ।

यस्तै, सुरज श्रेष्ठ पनि तीन वर्षदेखि अमेरिकामा छन् । दसैं सुरु भएको दिनदेखि नेपालमा रहेका परिवारसँग कुरा गर्न समय मिल्दैन । त्यसैले टीकाको दिनमा भिडियो च्याट गर्दै दसैं मनाउँछन् । ‘घरपरिवारसँग बसेकोजस्तो त हुँदैन, भिडियो च्याटमा टीका लगाउनु मन बुझाउने विकल्प मात्र हो,’ उनी भन्छन्, ‘दसैं तिहारमा धेरै परिवार र साथीभाइको याद आउँछ । कहिलेकाहीँ साथीभाइसँग घुमघाम गरेर पनि आफ्नो मन भुलाइन्छ ।’

चाडपर्वको समयमा भिडियो च्याटमा कुरा गरेर मनाउँदा केही हदसम्म रमाइलो लाग्ने गरेको उनी बताउँछन् ।

अनलाइनमार्फत कुराकानी हुँदा पनि परिवारसँगै भएजस्तो महसुस हुने उनी बताउँछन् । फेसबुक म्यासेन्जर, ह्वाट्स एपलगायत डिजिटल माध्यम परदेसिएका सन्तानका लागि बाबु-आमा र परिवारसँग नजिकिने माध्यम बनेका छन् । भौतिक नभए पनि भर्चुअल उपस्थितिमा परिवारको अनुहार हेर्दै चाडबाड मनाउनुको मजै बेग्लै । डिजिटल प्लेटफर्मले परिवारसँग नजिकिन मद्दत पुर्‍याएको परदेसिएका युवा-युवतीको भनाइ छ ।

डिजिटल दसैं पछिल्ला वर्षमा चल्तीको चलन बनेको छ । त्यसलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले योजना नै ल्याउने गरेका छन् । जस्तो- यसपटकको दसैंमा एनआईसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका लागि ‘डिजिटल दसैं’ योजना नै ल्याएको छ । त्यसअन्तर्गत् डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक र छुट उपलब्ध गराएको थियो, उक्त बैंकले ।

यस्तै, कुमारी बैंकले दसैंका अवसरमा ‘डिजिटल दक्षिणा’ योजना ल्याएको छ । त्यसअन्तर्गत दसैंमा विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा लक्ष्मी पूजादेखि भाइटीकासम्म र छठ पर्वको दिन ‘कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एप’मा उपलब्ध ‘डिजिटल दक्षिणा’मार्फत् गरिने अन्तरबैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत् ग्राहकलाई रकम फिर्ता गर्ने सुविधा बैंकले प्रदान गरेको छ ।

भिडियो च्याटमार्फत बाबु-आमाको आशिर्वाद लिने चलन व्यापक बनिसकेको छ । देशका दूरदराजसम्म इन्टरनेट सुविधा पुगिरहँदा सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो छ ।

दूरसञ्चार प्राधिकरणको एक तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये ७४ प्रतिशत हिस्सा मोबाइल डाटाको छ । नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइल डाटा सेवा उपलब्ध गराउँछन् । प्राधिकरणका अनुसार दुई करोड २८ लाख ४८ हजारजनाले मोबाइलमार्फत इन्टरनेट सुविधा लिने गरेका छन् ।

खासगरी, कोभिड-१९ महामारी सुरु भएयता इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । कोरोना प्रसार रोक्न भौतिक रूप भेटघाट गर्न प्रतिबन्ध लाग्यो । मानिसले त्यसको विकल्पका रूपमा भिडियो च्याटको प्रयोग बढाए । र, आर्थिक भुक्तानीमा पनि डिजिटल प्लेटफर्मको प्रयोग अत्यधिक बढ्यो ।

परदेसिएका सन्तानले पनि यसलाई अवसरका रूपमा उपयोग गर्न पाएका छन् । स्वदेशमै रहेर पनि गाउँघरसम्म पुग्न नपाएका सन्तानले पनि आ–आफ्नो खाता रहेका बैंकका एपमार्फत बाबु-आमालाई भुक्तानी पठाउन पाएका छन् । ईसेवा, खल्ती, थैली, प्रभु पे, आईएमई पे, पे टाइम, फोन पे, सेल पे, नमस्ते पेलगायत २८ वटा डिजिटल वालेटले देशभर सेवा दिइरहेका छन्, अहिले ।

बैंक अफ काठमाडौंको ‘तीनमा तीन सय नगद उपहार’, माछापुछ्रे बैंकको ‘क्यासब्याक’, ‘कनेक्ट आईपीएस’को गिफ्ट भौचर, मेगा बैंकको ‘तीनमा तीन सय अफर’, सिटिजन्स बैंकको ‘क्यासब्याक’, सानिमा बैंकको मोबाइल टपअप, प्रभु मनी ट्रान्सफरको टीभीसहित प्रभु सेटअप बक्सलगायत उपहार र अफरहरू दसैंका बेला चलिरहेका छन् ।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्