Kathmandu Press

दशैंका बेला मौसमी फ्लु र कोरोना ‘ट्विनडेमिक’

कोभिड र फ्लुको सर्ने तरिका र लक्षण लगभग उस्तै छन्। दुवैको लक्षण रुघाखोकी र ज्वरो आउने हो। तर, रुघाखोकी लाग्यो भन्दैमा कोरोना नै हो भन्ने होइन । किनभने अहिले मौसमी फ्लु देखिने बेला हो।
दशैंका बेला मौसमी फ्लु र कोरोना ‘ट्विनडेमिक’

मौसम परिवर्तनका कारण अहिले कतिपय मानिसमा रुघाखोकी तथा ज्वरो देखिन थालेको छ । जसकारण कतिपय मानिस कोरोना हो कि भनी डराउने गरेका छन् । खानपानको असन्तुलन र मौसम परिवर्तनका कारण कोरोना अघिदेखि नै मानिसहरु दशैंका बेला रुघाखोकी तथा ज्वरोबाट ग्रस्त हुने गरेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

‘दशैंको समयमा मानिस बिरामी हुनुको मुख्य कारण मौसम परिवर्तन नै हो,’ उनी भन्छन्, ‘साथै दशैंमा अन्य दिनको तुलनामा खानपानमा परिवर्तन आउने भएकाले फुड पोइजन हुने सम्भावना रहन्छ । कतिपय मानिस दशैंलगत्तै बिरामी समेत पर्ने गरेका छन् ।’

उनका अनुसार, अहिले मौसमी फ्लु र कोभिड–१९ को ‘ट्विनडेमिक’ देखिएको छ । ‘अहिले कोरोना महामारी चलिरहेको भएकाले मानिसले कोरोना र फ्लुबीच भिन्नता छुट्ट्याउन सकेका छैनन्,’ उनले भने, ‘यसो हुँदा उनीहरूमा थप स्वास्थ्य जटिलता आउने सम्भावना बढेको छ ।’

उनका अनुसार, कोभिड र फ्लुको सर्ने तरिका र लक्षण लगभग उस्तै छन् । दुवैको लक्षण रुघाखोकी र ज्वरो आउने हो । तर, रुघाखोकी लाग्यो भन्दैमा कोरोना नै हो भन्ने होइन । किनभने अहिले मौसमी फ्लु देखिने बेला हो ।

‘कतिपय मानिसमा कोरोना यकिन भइसक्दा पनि समाजले कस्तो प्रतिक्रिया देला भनेर फ्लु भन्दै समुदायमा घुलमिल भइरहेको अवस्थालाई नकार्न सकिँदैन,’ डा. पुन भन्छन्, ‘कोरोना र फ्लुबीचको फरक छुट्ट्याउन निकै गाह्रो छ । सामान्यतः फ्लुमा संक्रमितसँग कन्ट्याक्टमा आएको चार दिनभित्र ज्वरो आउन थाल्छ । कोरोनाको केसमा कन्ट्याक्टमा आएको ६ दिनभित्र लक्षण देखिन थाल्छ । यसबाहेक स्वाद र गन्ध हराउनु वा कमी हुनु कोरोनाको मुख्य लक्षण हो ।’ उनका अनुसार, यस्तो लक्षण देखिएमा जतिसक्दो चाँडो पिसिआर परीक्षण गरी आवश्यक उपचार लिनुपर्छ । हेलचेक्र्याइँ गर्नु हुँदैन । अहिले विशेषतः फ्लु, स्क्रब टाइफस, कोभिड–१९, झाडा पखाला लगायत स्वास्थ्य समस्या देखिएको छ ।

यस्तै, कोभिडको तुलनामा फ्लु बालबालिकामा बढी देखिएको उनी बताउँछन् । ‘दशैंको माहोल भएकाले सबैले सकेसम्म घरमै बसेर स्वास्थ्य सतर्कता अपनाउनुपर्छ,’ उनी भन्छन्, ‘घरबाटै चिकित्सकसँग फोनमार्फत परामर्श लिन पनि सकिन्छ । फ्लुका लागि नेपाल सरकारले ओरसेलटेन्भिर नामक औषधि निःशुल्क वितरण गरिरहेको छ ।’

उक्त औषधि ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीजस्ता जोखिम समूहमा परेका व्यक्तिलाई दिइने उनको भनाइ छ ।

अर्का संक्रामक विशेषज्ञ डा. जनक कोइराला विश्वभर फेस्टिभल सिजन (चाडपर्वको समय)मा प्रायः मानिस बिरामी हुने बताउँछन् । ‘अमेरिकामा क्रिस्मसको समयलाई फेस्टिभल सिजन मान्छन् । त्यो समयमा त्यहाँ पनि बिरामी बढ्ने तथ्यांकले देखाउँछ,’ उनी भन्छन्, ‘फेस्टिभल सिजनमा मानिसको चहलपहल बढी हुने, खानपान बढी हुने हुँदा मानिसहरुमा कीटाणु, ब्याक्टेरिया सर्न सक्छन् । यति बेला विद्यालय बिदा हुन्छ, बच्चाहरू बाहिर खेल्न जान्छन् र विभिन्न ब्याक्टेरिया तथा भाइरसबाट संक्रमित हुन सक्छन् ।’

अन्य समयको तुलनामा मानिसको चहलपहल बढी हुँदा कुनै पनि प्रकारको भाइरस एक आपसमा सर्ने क्रम तीव्र बढ्ने भएकै कारण दशैंको समयमा विशेषतः रुघाखोकीका बिरामीको संख्या बढ्ने डा. कोइराला बताउँछन् ।

प्रकाशित मिति: ०९:२३ बजे, आइतबार, असोज ३१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्