Kathmandu Press

‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप’मा जापानका फुजिमुरासँग भिड्दै घिमिरे

अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्।
‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप’मा जापानका फुजिमुरासँग भिड्दै घिमिरे

काठमाडौं, असोज ३० : अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन् ।

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ संस्करणको सो अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यावसायिक किक बक्सर फुजीमुराले रिङमा उत्रिँदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता हुनेछ ।

आयोजक संस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुराबीच हुने भिडन्तको अन्तिम तयारी पूरा भएको जनाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षक देवकुमार घिमिरेका छोरा अविरलले कोरोना कहरबीचमा सो प्रतियोगिताका लागि  पिताबाट विशेष प्रशिक्षण लिएका छन् ।

‘युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गरेका छन् । अविरलले ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छ,’ देवकुमारले भने, ‘यो प्रतियोगितमा छनोट हुुनु प्रतिष्ठाको विषय हो । प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्छु ।’

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियोमा  सम्पन्न ‘के वान फेस्टिभल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य पाएका थिए । उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमै ढालेर नयाँ इतिहास कायम गरेका थिए । घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पारेका थिए ।

सानो उमेरमा उँचो सफलता

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले  प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गरेका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत हुन्, उनी । २१ वर्षीय उनले ब्राजिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनी पाँच वर्षदेखि जापानको नागोयामा बस्दै आएका छन् । पछिल्लो समय उनले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् ।

 

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, असोज ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्