Kathmandu Press

भक्तपुरको सम्पदा पुनर्निर्माणलाई गिज्याइरहेको तीन सय वर्ष पुरानो गोल्डेन गेट

०७२ सालको भूकम्पबाट भत्किएका भक्तपुरका १०८ वटा सम्पदा पुनर्निर्माण भइसक्दा पनि दरबार स्क्वायरको गोल्डेन गेटको जीर्णोद्धारमा कुनै निकायको ध्यान गएको छैन। धार्मिक–सांस्कृतिक महत्वको यो सम्पदा दिनानुदिन जीर्ण बन्दै गएको छ।
भक्तपुरको सम्पदा पुनर्निर्माणलाई गिज्याइरहेको तीन सय वर्ष पुरानो गोल्डेन गेट

काठमाडौं, असोज २० : गत शनिबार अपराह्न भक्तपुर दरबार स्क्वायरमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल देखिन्थ्यो। दशैंको किनमेलमा निस्किएका कतिपय स्थानीय बासिन्दा थकाइ मेट्न दरबार स्क्वायरस्थित पाटीमा बसिरहेका थिए। केही भने तस्बिर खिच्न र टिकटक बनाउन व्यस्त थिए। १२ वैशाख ०७२ को विनाशकारी भूकम्पबाट भत्किएका सम्पदा पुनर्निर्माणमा सबै नगरलाई उछिनेको मानिएको भक्तपुरमा तलेजु भवानी मन्दिर प्रवेश गर्ने गोल्डेन गेटले भने सम्बन्धित निकायको दाबीलाई गिज्याइरहेको थियो।

भूकम्पबाट जिर्ण बनेका भक्तपुरका अधिकांश सम्पदा पुनर्निर्माण भइसकेका छन्, गोल्डेन गेटलाई छाडेर। भक्तपुर नगरपालिकाका अनुसार हालसम्म २३ मन्दिर, ४० पाटी, ६ द्यःछेँ, तीनवटा प्रवेशद्वार, आठवटा पोखरी, सात इनार, आठ सत्तल, सात ढुंगेधारा र अन्य ६ वटा सम्पदा गरी कुल एक सय आठवटाको पुनर्निर्माण र जीर्णोद्धार सकिएको छ। तर, पुनर्निर्माणको यस दौडमा गोल्डेन गेट सामेल छैन।

भक्तपुर दरबार स्क्वायरको केन्द्र हो, गोल्डेन गेट। दरबार स्क्वायर घुम्न आउने स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्र मात्र होइन, गोल्डेन गेटलाई नेपाली वास्तुकलाको अनुपम नमूना पनि हो। यही धरोहरको संरक्षणमा सरकारी निकायको ध्यान गएको छैन। संरक्षण अभावमा दिनानुदिन जीर्ण बन्दै गएको छ।

गोल्डेन गेटमा कुँदिएका कलात्मक मूर्तिहरूमा प्वाल परेर कुरूप देखिन थालेका छन्। ती मूर्तिमा भक्तजनले जथाभावी रंग दलिदिँदा र सरसफाइ नभएकाले तिनको वास्तविक स्वरूप निरन्तर खिइँदो छ। जब कि, तिनै मूर्ति हुन्, गोल्डेन गेटको सौन्दर्य झल्काउने हुन्।

गोल्डेन गेटको शीर्षस्थानमा कुँदिएको छ, तलेजु भवानीको मूर्ति। र, गेटको दायाँबायाँ भैरव, काली, गणेश र कुमारका मूर्ति छन्। ती सबै मूर्ति संरक्षण अभावमा निरन्तर खिइँदै छन्। त्यससँगै गोल्डेन गेटको वास्तविक सौन्दर्य पनि क्रमशः हराउँदै छ।

संस्कृतिविद्हरूका अनुसार गोल्डेनको इतिहास तीन सय वर्षभन्दा पुरानो मानिन्छ। भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा निर्माण सुरु भएर जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्ल गरी चार राजाका पालामा मात्र सकिएको अभिलेख पाइएको संस्कृतिविद्हरू बताउँछन्।

बजेट छ, पुनर्निर्माण छैन

यहाँ रहेका सम्पदाहरू संरक्षणको जिम्मा दरबार हेरचाह तथा संरक्षण कार्यालयको हो। तर, यो कार्यालयले अन्य सम्पदा तयार भइसक्दा पनि गोल्डेन गेटको जिर्णोद्वारमा ध्यान दिएको छैन। कार्यालयका पूर्वप्रमुख तथा राष्ट्रिय कला संग्रहालयका प्रमुख मोहनसिंह लामाका अनुसार पहिले यसको जीर्णोद्धार लागि पुरातत्त्व विभागबाट बजेट पनि निर्धारण भइसकेको छ।

उनी कारणवस गोल्डेन गेट पुनर्निर्माण हुन नसकेको उनको भनाइ छ। कारण के हो त ? यसमा कुनै निकायले पनि स्पष्ट दिँदैनन्। दरबार हेरचाह तथा संरक्षण कार्यालयले नगरपालिकासँग समन्वय हुन नसकेकाले गोल्डेन गेट पुनर्निर्माण हुन नसकेको बताउँछ भने नगरपालिकाको भनाइ छ– त्यो काम सोही कार्यालयको हो।

तस्बिर सौजन्य : राम माक

‘गोल्डेन गेट जीर्णोद्धार लागि स्थानीय बासिन्दाको व्यापक गुनासो आएपछि आर्थिक वर्ष ०७६–७७ मा पुरातत्त्व विभागबाट ४० लाख रुपैयाँ छुट्याइएको थियो। तर, कारणवस काम सुरु हुन सकेन,’ लामा भन्छन्, ‘त्यसपछि अहिलेसम्म यसको लागि कुनै निकायबाट बजेट छुट्याइएको छैन र अहिलेसम्म कुनै योजना पनि सार्वजनिक भएको छैन।’

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति पनि गोल्डेन गेट जीर्णोद्धारसम्बन्धी छलफल मात्र हुँदै आएको बताउँछन्। ‘पहिला एकपटक यसका लागि बजेट पनि छुट्टिसकेको थियो। तर, कसरी जीर्णोद्धार गर्ने भन्ने विषयमा अन्योल भएर कार्यक्रम नै स्थगित भएको थियो,’ उनी भन्छन्, ‘अब विस्तारै छलफल गर्दै क्रमशः जीर्णोद्धार सुरु गर्छौँ।’

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम भने गोल्डेन गेटको ठूलो धार्मिक–सांस्कृतिक महत्त्व भएकाले जीर्णोद्धार लागि योजनाहरू बनाइरहेको दाबी गर्छन्। ‘रणजित मल्लको पालामा बनेको गोल्डेन गेटको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्व धेरै छ। यसलाई संरक्षण गर्नुपर्ने अपरिहार्य नै हो,’ उनी भन्छन्, ‘यो वर्ष नै संरक्षण कार्य सुरु गर्ने योजना छ।’

यस्तो छ गोल्डेन गेटको इतिहास र महत्त्व

संस्कृतिविद् औम धौभडेलका अनुसार भक्तपुरका अन्य सम्पदाको तुलनामा गोल्डेन गेट अझ बढी महत्त्वपूर्ण छ। ‘काठमाडौं र ललितपुरमा पनि यस्तै गोल्डेन गेट छन्। तर, मान्छे नै आवतजावत गर्न मिल्ने एक मात्र गोल्डेन गेट भक्तपुरको हो,’ उनी भन्छन्, ‘साथै, सुनबाट बनेको यो गेटले तत्कालीन राजाहरू एकदमै धनी भएको प्रमाण दिने भएकाले पनि यसलाई प्राथमिकतामा राखिँदै आएको छ।’

संघरत्न शाक्यको किताब ‘नेवा शाक्यहरूको इतिहास’मा उल्लेख भएअनुसार तत्कालीन राजा रणजीत मल्लको पालामा यसको निर्माण सम्पन्न भएको अभिलेख पाइएको छ। उक्त गेट बनाइसक्न भक्तपुरले डेढ एक वर्षभन्दा बढी पर्खिनुपरेको थियो।

जगतप्रकाश मल्लका बाबु नरेश मल्लको पालामै ललितपुरका शाक्यहरूलाई भक्तपुर बोलाएर उक्त गेट बनाउन भनिएको थियो। ती शाक्यहरूले गेटको नमूनासमेत तयार पारेका थिए। उक्त नमूना राजा नरेश मल्ललाई मन परे पनि सुनको जोहो गर्न नसकेका कारण उनको पालामा निर्माण अगाडि बढेन।

नरेश मल्लको निधनपछि राजा बनेका जगतप्रकाश संस्कृति र साहित्यप्रति औधी रुचि राख्थे। उनको पालामा भक्तपुरमा साहित्यको विकास उचाइमा पुगेको मानिन्छ। उनैले यसको निर्माण सुरु गराए। उनीपछि जितामित्र मल्लको समयमा दरबार क्षेत्रमा अन्य धेरै सम्पदा निर्माण भए तर गोल्डेन गेटको निर्माण सकिएन। त्यसको मुख्य कारण सुनकै गेट बनाउने दरबारको चाहना थिया। सुनकै गेट निर्माण गर्न अधिक खर्च लाग्ने भएकाले काम अगाडि बढ्न सकेन।

उनीपछि राजा बनेका भूपतिन्द्र मल्लको पालामा पनि गोल्डेन गेट अधुरै रह्यो। त्यसपछिका रणजित मल्लको समयमा भने तिब्बतसँगको सम्बन्ध राम्रो बन्यो। त्यतिबेला भक्तपुरबाट तिब्बती मुद्रा बनाएर पठाउने र त्यसबापत भक्तपुरलाई सुन पठाउने प्रचलन बढ्यो। त्यसरी नै धेरै सुन जम्मा भएपछि विसं १७५४ मा गोल्डेन गेट निर्माण सम्पन्न भयो।

तत्कालीन राजा रणजित मल्लले उक्त गेट निर्माण गर्ने घोषणा गर्दा सुनको अभाव हुन नदिन देशवासीले आफ्नो घरमा भएका सुन दिनुका साथै श्रमदानसमेत गरेको इतिहास रहेको धौभडेल बताउँछन्।

उक्त गेटको दुईतिर स्वर्ण पत्र (सुनको अक्षरले लेखिएको) पनि राखिएको छ, जसमा रणजित मल्लले आफूलाई नेपाल मण्डलेश्वर अर्थात् नेपाल मण्डलको सम्पुर्ण इलाकाको राजा भनेर सम्बोधन गरेको अंकित छ।

उक्त गेट सुनको जलप लगाएर बनाइएको हो। यसमा अत्यन्त अर्थपूर्ण कलाकारिता रहेको धौभडेल बताउँछन्। ‘यसमा तलेजु भवानी देवी कस्ती हुन्छिन् भन्ने सुनको टोरण आर्थात मुल ढोकाको माथि उल्लेख गरिएको छ,’ उनी भन्छन् ‘साथै अष्टमंगलका आकृतिदेखि भैरव, गणेश, महांकाललगायत देवदेवीका मूर्ति कुँदिएको हुँदा यसको महत्त्व अत्यधिक छ। तर, संरक्षण अभावमा ती जीर्ण बन्न थालेका छन्।’

उनका अनुसार सम्पदाहरूको आयु लामो हुँदैन। काठ, तामा, ढुंगाभन्दा पनि सुनको आयु अझ छोटो हुने धौभडेल बताउँछन्। ‘इँटा, ढुंगा, तामालगायतले बनाइएका सम्पदाहरू पुरानो हुँदै जाँदा चमक आउने र चिल्लो हुन्छन्। तर, धातु वा सुनबाट बनेका सम्पदा घाम, पानी, हावालगायतले प्वाल पर्ने, खिइने हुन्छ,’ उनी भन्छन् ‘हाम्रो समाजमा देवतालाई छोएरै ढोग्ने प्रचलनले पनि यसलाई कुरूप बनाएको हो। मूर्तिमै जल चढाउने, छुने, मुखमा लड्डु राख्ने, धुप दिने, अक्षता चढाउने शैलीले पनि थप समस्या ल्याएको हो।’

उनका अनुसार गोल्डेन गेटको सबैभन्दा तलको भागमा रहेका मूर्तिहरू मानिसले ढोग्ने र पूजा गर्ने क्रममा प्वाल परेका हन्। साथै खुला ठाउँमा मूर्ति राखिएकाले घामपानीले नै बढी असर गरेको हुन्छ। सोही कारण सुनको जलप हराउँदै जाने र भित्रको धातु देखिन थाल्ने हुन्छ।

गोल्डेन गेट बनेयता दुई–तीन पटक यसको संरक्षण र जीर्णोद्धार नभएको होइन। तर, प्राविधिक ज्ञानको अभावमा झन कुरूप बनेको उनी बताउँछन्। भन्छन्, ‘पछिल्लो १५ वर्षयता वातावरण प्रदूषणका कारणले पनि असर देखिन थालेको हो।’ यसतर्फ सर्वसाधारणका साथसाथै सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी रहेको उनी बताउँछन्।


 

प्रकाशित मिति: ०९:२२ बजे, बुधबार, असोज २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्