Kathmandu Press

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिका चार वर्ष

एक सय आठवटा सम्पदाको पुनर्निर्माण र जीर्णोद्वार। विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १ देखि ८ सम्म पठनपाठन। कोरोनामा विशेष पहल।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिका चार वर्ष

काठमाडाैं, असाेज १६: स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले कार्यभार सम्हालेको झन्डै साढे ४ वर्ष बितेको छ। भक्तपुर नगरपालिकामा २०७४ जेठ ७ गतेदेखि मेयर सुनिल प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिले पदभार ग्रहण गरेका थिए।

आफ्नो पार्टीको घोषणापत्र बमोजिमका कतिपय कार्यक्रम पूरा गरेको र केही कार्य सञ्चालन अवस्थामै रहेको प्रमुख प्रजापतिले जानकारी दिए।

कोरोना र स्वास्थ्य

गत वर्ष भने कोरोना महामारीको असर विश्वका अन्य स्थानमा जस्तै भक्तपुरमा पनि प¥यो। नगरपालिकाको महत्त्वपूर्ण आयस्रोतका रूपमा रहेको पर्यटन शुल्कबापतको आम्दानी झन्डै शून्य अवस्थामा रह्यो। यसका बाबजुद नगरपालिकाले कोरोना महामारीले जनताको जनजीवन प्रभावित हुन थालेपछि सुरुमा ७५ शैय्याको छुट्टै आइसोलेसन केन्द्रको निर्माण गरेको थियो। साथै घरमा एकान्तबास बस्न नमिल्ने नगरवासीका लागि उचित वातावरणसहित आइसोलेसन केन्द्रको व्यवस्था, विदेशबाट फर्केका नेपालीका लागि घर वा होटलमा क्वारेन्टाइनको व्यवस्था गरी जनतालाई रोग संक्रमण हुनबाट बचाउने प्रयास गरेको प्रमुख प्रजापति बताउँछन्।

‘जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै दैनिक माइकिङ ग¥यौँ। टोल—टोलमा साबुनपानीले हात धुने व्यवस्था मिलायौँ। विशेष टोलीद्वारा फोहोर संकलनको व्यवस्था गरियो। आवश्यक स्वास्थ्य परामर्शका लागि चिकित्सकको नाम सार्वजनिक पनि गरेक थियौँ,’ मेयर प्रजापति भन्छन्, ‘कोभिडको दोस्रो लहरमा नगरपालिकाले ५० बेडको आइसोलेसन र २५ शैय्याको एचडियु (आइसियुभन्दा कम र सामान्यभन्दा माथिको सेवा) सञ्चालनको तयारी ग¥यो। २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्यायौँ। जुन अहिले नगरवासीका लागि ठूलो राहत भएको छ।’

नगरपालिका क्षेत्रभित्रका दीर्घरोग क्यान्सर, मुटु, मिर्गौला तथा मस्तिष्कघात भएका रोगीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले सहयोग गर्दै आएकोमा आर्थिक वर्ष २०७७÷७८ को जेठ पहिलो हप्तासम्म एक सय २८ जनाले कुल १२ लाख ८० हजार रुपैयाँ सहयोग रकम प्राप्त गरिसकेको नगरपालिकाको तथ्यांक छ।

१०८ सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वार

भक्तपुरलाई पुरातात्त्विक सम्पदाको धनी सहरको रूपमा लिइन्छ। २०७२ सालको भूकम्पले भक्तपुर नराम्ररी प्रभावित भएको थियो। एक सय २० भन्दा बढी सम्पदामा आंशिक तथा पूर्ण क्षति भएको थियो। त्यस्तै, ८ हजारभन्दा बढी घर आंशिक र पूर्ण क्षति भएका थिए। निर्वाचित भएका बेला जनप्रतिनिधिका लागि ती सम्पदाको पुनर्निर्माण नै मुख्य चुनौती थियो।

हालसम्म २३ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्यःछेँ, ३ वटा प्रवेशद्वार, ८ वटा पोखरी, ७ वटा इनार, ८ वटा सत्तल, ७ वटा ढुङ्गेधारा र अन्य ६ वटा सम्पदा गरी कुल एक सय आठ वटा सम्पदाको पुनर्निर्माण र जीर्णोद्वार सम्पन्न भएका छन्। अन्य डेढ दर्जनभन्दा बढी सम्पदा जीर्णोद्धारका क्रममा छन्। भूकम्पबाट क्षतिग्रस्त निजी घरमध्ये लाभग्राही सूचीमा सूचीकृत झन्डै ४० प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। बाँकी निर्माणाधीन अवस्थामा छन्।

आर्थिक वर्ष ०७७÷७८ मा कोरोना माहामारीकै बीच नगरपालिकाको आन्तरिक र बाह्य स्रोतबाट गरी ८० वटा योजना सञ्चालनमा रहेकामा १८ वटा योजना सम्पन्न भएका छन् भने ६२ वटा योजना चालू अवस्थामा रहेको प्रमुख प्रजापतिले जानकारी दिए।

उनका अनुसार, सोही आर्थिक वर्षमा विश्वप्रसिद्ध ङातापोल्हँ मन्दिर (पाँचतले मन्दिर) जीर्णोद्धार, दरबार क्षेत्रस्थित वत्सला मन्दिर पुनर्निर्माण, भार्वाचोदेखि च्याम्हासिंहसम्मको भक्तपुरको मूल सडकमा ढुंगा छपाइ कार्य, भनपा–४ स्थित चपाल भैरव द्यः छेँको पुनर्निर्माण, भक्तपुर–५ ल्योसिंख्योस्थित च्यासिंदेगः पुनर्निर्माण, भनपा–६ स्थित भोलाछेँ पुखु जीर्णोद्धार, भनपा–७ स्थित गय् भिंद्यो पुल र हनुमानघाटस्थित छिपा ताँको पुनर्निर्माण, सडक बत्तीको व्यवस्था लगायत कार्य सम्पन्न भएका छन्।

शिक्षा र खेलकुद

कोभिडको प्रभाव केही कम भएपछि नगरपालिकाको आयोजनामा अन्तर नगर खेलकुदलाई निरन्तरता दिँदै २०७७ फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको थियो। देशका २२ वटा नगरपालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए। सोही अवसरमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। जसमा ५९ वटा विद्यालयका १ हजार ८ सय १८ खेलाडीले सहभागिता जनाएका थिए।

यस्तै कोरोनाका कारण भौतिक रूपमा कक्षा सञ्चालन हुने वातावरण नभएपछि नगरपालिकाले अनलाइन कक्षाको व्यवस्था गरेको थियो। उच्च शिक्षा हासिल गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीमध्ये सो आर्थिक वर्ष एक सय नौ विद्यार्थीका लागि प्रतिविद्यार्थी पाँच लाख रुपैयाँसम्मको शैक्षिक ऋण स्वीकृत भइसकेको उनले जानकारी दिए। साथै विद्यार्थीलाई स्थानीय विषयवस्तुबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरी कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको छ।

इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएकामा गत आर्थिक वर्ष ती विषय लिई उच्च शिक्षा अध्ययनरत विद्यार्थीले कुल ५ लाख ६८ हजार रुपैयाँ बराबर छात्रवृत्ति पाएको नगरपालिकाको तथ्यांक छ।

यस्तै नगरपालिकाले हस्तकलामा आधारित औद्योगिक केन्द्रकै रूपमा विकास गर्न पहल गरेको छ।

कृषि

समयमै रासायनिक मल उपलब्ध हुन नसक्दा कृषि उत्पादनमा ह्रास आउन सक्ने विषयलाई ध्यानमा राखी कृषि मन्त्रालय, साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री कम्पनीमा प्रतिनिधि मण्डल गई मल उपलब्ध गराउनका लागि नगरपालिकाले पहल गर्दै आएको उनको भनाइ छ। साथै बढ्दो जनसंख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ।

‘उपलब्ध स्रोतको व्यवस्थित वितरण, नयाँ–नयाँ स्रोतको खोजी गर्दै नगरवासीहरूलाई खानेपानीको सहज आपूर्तिको व्यवस्था मिलाउँदै आएका छौँ,’ उनले भने, ‘काठमाडौँ उपत्यका खानेपानी बोर्ड, केयुकेएल र भक्तपुर नगरपालिकाका पदाधिकारीको संयुक्त बैठकले भक्तपुर नगरभित्र मेलम्चीको खानेपानी शीघ्र वितरण गर्ने निर्णय गरेको छ। मेलम्चीको पानी वितरण नभएसम्मका लागि बोडेको पानी भक्तपुरमा बढाएर पठाउने सहमति भएको थियो। सोहीबमोजिम केही सहज भइरहेको छ।’

 

प्रकाशित मिति: १०:०० बजे, शनिबार, असोज १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्